Nepal Life

शेयर बजारमा नचाहिँदा हल्ला फैलाएर चलखेल गर्ने काम भइरहेको छ, नबराज दाहालको विश्लेषण

Global Ime detail Page
  • नबराज दाहाल
  • 2024 Apr Sat 13:56
शेयर बजारमा नचाहिँदा हल्ला फैलाएर चलखेल गर्ने काम भइरहेको छ, नबराज दाहालको विश्लेषण
Sanima Reliance

काठमाडौं । शेयर बजार एकदमै संवेदनशील क्षेत्र हो । तर सबैले यसलाई समान्य रुपमा हेरिदिँदा भद्रगोल भएको हो । शेयर बजारमा नचाहिने र नभएका कुराहरु फैलाउने काम भइरहेको छ । कतिपय सामान्य नीतिगत व्यवस्थामा भएका परिवर्तनलाई लिएर बजारका विज्ञ विश्लेषक तथा शेयर बजारको वकालत गर्नेहरुले नै जानेर नजानेर नचाहिने कुराहरु बोलिदिँदा अहिलेको अवस्था आएको हो ।

NIMB

बैशाख महिना शेयर बजारका लागि एकदमै राम्रो सिजन हो । तर यसपटक ठीक उल्टो भइदियो । सिजनमै बजार घट्यो । आम लगानीकर्ताहरु ‘बाफियाले संस्थापक शेयरमा एक प्रतिशतको सिलिङ लगाउँदैछ रे’ भन्ने हल्लाको पछाडि लागिरहेका छन् । आजका दिनसम्म शेयर धितो कर्जामा ४/१२ करोडको सिमाको नीतिले प्रभावित भइरहेको छ । भोलिका दिनमा यो भन्दा पनि कडा नीति बाफियामार्फत ल्याइँदैछ भनेर आतङ्क फैलाउने काम भइरहेको छ ।

यहि अवस्थालाई देखाउँदै लगानीकर्ताहरु माझ बाफिया सम्बोधन हुनेवित्तिकै सबै संस्थापकले शेयर बिक्री गर्छन् भन्ने हल्ला चलाइएको छ । संस्थापकले एक प्रतिशत भन्दा धेरे शेयर होल्ड गर्न पाउँदैनन् र भोलिका दिनमा शेयर बजार डामाडोल हुन्छ भन्नेसम्मका हल्ला चलाइएका छन् ।  

बाफिया संशोधन भएर आउनेवित्तिकै बजारमा सप्लाइ बढ्ने हल्ला छ । तर बाफियाका कतिपय पूराना व्यवस्थालाई संशोधन गर्न खोजिएको थियो । यसैलाई आधार मानेर केहि लगानीकर्ताहरु नमज्जाले लागिपरेका छन् । कोहीले सामाजिक सञ्जालमा पोष्ट नै गरेका छन् भने कतिपयले फोनमार्फत नै ठूलो हल्ला चलाएर आतंकित बनाउने काम भएको छ । हिजो ४/१२ को नीति आउँदा त बजारको यस्तो हालत भयो यदि संस्थापक शेयरमा एक प्रतिशतको सिलिङ हालिदियो भने बजार धेरै तल जान्छ भनेर आतङ्क पैदा गरिएको छ ।

अर्कोतर्फ अब शेयर बजारमा प्रहरी पस्यो, अब भोलिदेखि नै पक्रिन सुरु गर्छ भनेर हल्ला चलाइएको छ । अब शेयर बजारमा कसरी प्रहरी छिर्ने हो मैले आफैंले बुझ्न सकेको छैन । नियामकहरुले सर्कुलर लेखेर हालिदिएका छन् । तर लगानीकर्ता आफैंले नपढी अरुले भनेको कुरा सुनेर हल्ला गरिरहेका छन् ।

यसरी हेर्ने हो भने राष्ट्र बैंकमा पनि प्रहरी छिरेको छ । कस्तो अवस्थामा प्रहरीको प्रवेश हुन्छ भनेर हेर्नु पर्‍यो नि, तर त्यस्तो छैन । चेक बाउन्सका केसलाई प्रहरीले हेरिरहेकै छ । यसरी नचाहिने हल्ला चलाइदिएर रिटेललाई अत्याउँदै ठूला लगानीकर्ताले कित्ता बढाइरहेका छन् ।

यस्तो अवस्थामा पनि होलसेलरहरुले क्रमिक रुपमा खरिद गरिरहेका छन् । अहिले ज-जसले शेयर बिक्री गरिरहेका छन् भोलिका दिनमा गएर दोब्बरमा यिनै लगानीकर्ताले खरिद गर्न थाल्छन् । बिक्री गरेर घटाउने पनि यिनै लगानीकर्ता हुन्छन् अनि खरिद गरेर बढाउने पनि यिनै लगानीकर्ता हुन्छन् ।

व्याजदर घटेको घट्यै छ । पैसा थुप्रिएको थुप्रियै छ । आजका दिनमा बैंकहरुले पैसा लैजानुहोस् लगानी गर्नुहोस् भन्दा पनि कोही पनि ऋण लिन सक्ने अवस्थामा छैनन् । त्यसैले यो केवल सरकारलाई गाली गरेको जस्तो गरेर केहि सीमित लगानीकर्ताको सस्तोमा शेयर थुपार्ने योजना हो ।

यसमा हामीले भन्ने गरेका ठूला लगानीकर्ता, पुराना लगानीकर्ता साथै अहिलेका केही नयाँ लगानीकर्ता पनि छन् । नयाँ ब्रोकरहरु पनि यसमा संलग्न छन् । नयाँ ब्रोकरले सस्तोमा शेयर खरिद गर्न नपाएको हुँदा उनीहरु पनि यस्तो अवस्था सिर्जना गराउन थोर बहुत भूमिका खेलिरहेकै छन् ।

भित्रभित्रै लगानीकर्तामाझ मर्जर प्राप्ति गर्दा आर्जन भएको पूँजीगत लाभमा भूतप्रभावी कर लगाउने नीति आउँदैछ भन्नेसम्मका हल्ला चलाइएका छन् । जबकी सरकारले गएको मंसिर महिनाभित्रै गएका वर्षमा मर्जर र प्राप्तिको पूँजीगत लाभ, हकप्रद बोकलबोल मार्फतको पूँजीगत लाभ, एफपिओ आदिमा आर्जन भएको पूँजीगत लाभबाट अर्बौ रुपैयाँ पूँजीगत लाभ उठाइसकेको छ, जुनकुरा अवका दिनमा निश्चित छ भने हल्ला चलाइनुको तत्पर्यता के ? यी सबै कुराहरु गरेर शेयर बजार ध्वस्त हुँदैछ भनेर हल्ला मच्चाउने बाहेक अरु केहि पनि होइन । यस्तो भित्री योजनालाई चिर्न न त नियामक निकायले केहि भूमिका खेलिरहेको छ न त बजारमा स्वतन्त्र रुपमा कसैले विश्लेषण गरिदिएका छन् ।

(दाहाल शेयर बजार विश्लेषक हुन् । उनी शेयर बजारलाई नजिकबाटै विश्लेषण गर्दै आइरहेका छन्।)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया