Nepal Life

राष्ट्रिय बाणिज्य बैंकले दुई वर्ष भित्रमा १४ अर्ब पूँजी पुर्याउछ, सिइओ किरण कुमार श्रेष्ठ सँगको कुराकानी

Global Ime detail Page
  • बिएफआईएस न्युज
  • 2022 Feb Fri 20:51
राष्ट्रिय बाणिज्य बैंकले दुई वर्ष भित्रमा १४ अर्ब पूँजी पुर्याउछ, सिइओ किरण कुमार श्रेष्ठ सँगको कुराकानी
National Life

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ सँगको कुराकानीः 

सर्वप्रथम राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वर्तमान वित्तीय अवस्थाका बारेमा सङ्क्षिप्तमा प्रकाश पारिदिनुहुन्छ कि ?

चालु आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक नतिजा आउन केही दिन बाँकी रहेको तर यस आ.व.को पहिलो ५ महिना (२०७८ मङ्सिर मसान्त) सम्मका वित्तीय नतिजाहरू सार्वजनिक भइसकेको आधारमा भन्नुपर्दा यस बैंकका मुख्य वित्तीय परिसूचकहरूमा निक्षेपतर्फ रु. २ खर्ब ३० अर्ब ४८ करोड, कर्जा लगानीतर्फ रु. २ खर्ब ९ अर्ब ४ करोड, खुद मुनाफा रु. १ अर्ब ८९ करोड रहेको छ । त्यसै गरी बैंकको कस्ट अफ फन्ड ४.०२ प्रतिशत, बेस रेट ६.१२ प्रतिशत, पुँजी कोष पर्याप्तता अनुपात १३.८१ प्रतिशत रहेको छ । बैंकको शाखा विस्तारअन्तर्गत हाल २५७ वटा शाखा सञ्जाल रहेका छन् भने २४५ वटा एटिएम टर्मिनल रहेका छन् । बैंकले हाल करिब ३७ लाख ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

NIMB

राष्ट्रिय वाणिज्य बैंकको सञ्चित मुनाफा बढ्दै गएको देखिन्छ । एक दुई वर्षदेखि सेयरधनीलाई लाभांश बाड्न बैंक सफल भएको छ । के अब बैंकका सबै वित्तीय परिसूचकहरू सकारात्मक भइसकेका हुन् ?

यस बैंकका वर्तमान वित्तीय परिसूचकहरूका बारेमा मैले अघिल्लो प्रश्नको जवाफमा नै प्रस्ट पारिसकेको छु कि यस बैंकले विगत वर्षहरूमा उल्लेख्य मुनाफा आर्जन गर्न सफल भएको छ । आ.व. २०७७/७८ को खाताबन्दीसम्म आइपुग्दा बैंकको सञ्चित कोष रु. १५ अर्बभन्दा बढी पुगेको छ । आ.व. २०७५/०७६ को मुनाफाबाट नै बैंकले सेयरधनीहरूलाई लाभांश वितरण गर्न थालेको छ । यस पछिका वर्षहरूमा पनि हामी निरन्तर रूपमा सेयरधनीहरूलाई लाभांश बाड्न सफल भएका छौ । नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही गत आ.व. २०७७।७८ को मुनाफाबाट यस वर्ष सेयरधनीहरूलाई ३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव बैंकको १६ औँ वार्षिक साधारण सभाबाट पारित भइसकेको छ । यसबाट नै स्पष्ट हुन्छ कि बैंकका सबै वित्तीय परिसूचकहरू अब सकारात्मक भइसकेका छन् ।

सार्वजनिक संस्थानहरूको सेवा प्रवाहप्रति आम नागरिकले गुनासो गर्ने गरेको देखिन्छ । यस बैंकको सेवा प्रवाहप्रति पनि ग्राहकहरूका गुनासा आउने गरेका छन् कि छैनन् ?

सार्वजनिक संस्थानहरूको प्रमुख कर्तव्य ग्राहक सेवा हो भने यस्ता संस्थाहरूले ग्राहकमैत्री व्यवहार गर्नै पर्दछ । हामीसँग प्रत्यक्ष रूपमा कारोबार गर्ने करिब ३५ लाख ग्राहकहरू छन्, त्यसबाहेक अप्रत्यक्ष रूपमा पनि धेरै ग्राहकहरूले हामीबाट सेवा लिइरहेका हुन्छन् । हामीले देशभर २५७ शाखा कार्यालयहरूमार्फत सेवा प्रवाह गरिरहेका छौँ । ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तर वृद्धिका लागि ७ वटा प्रदेश कार्यालय र केन्द्रीय कार्यालयका विभिन्न विभागहरू पनि प्रयासरत रहेका छन् । यति हुँदाहुँदै पनि कहिलेकाहीँ हाम्रो सेवाप्रति ग्राहकहरूका गुनासा नआएका भने होइनन् । हामी त्यसलाई समयमा नै सम्बोधन गर्ने विषयमा गम्भीर छौँ । ग्राहकहरूबाट प्राप्त गुनासालाई हामीले एकदमै सकारात्मक रूपमा लिएका छौँ र त्यसबाट हाम्रा सेवाहरू सुधार गरेर लैजान नीति निर्माणमा ध्यान दिइरहेका छौँ ।

विगत केही वर्ष अघिसम्म बैंकिङ प्रणालीभित्र समय–समयमा तरलतामा चाप पर्दा राष्ट्रिय वाणिज्य बैंकलाई भने खासै असर पर्दैनथ्यो । तर यसपालि भने बैंकले नयाँ कर्जा लगानी बन्द गर्नुपर्ने स्थिति देखा पर्यो । के राष्ट्रिय वाणिज्य बैंकलाई पनि तरलता चापको असर परेको हो ?

पक्कै पनि विगतका दिनसम्म बैंकिङ प्रणालीमा तरलता चाप पर्दा राष्ट्रिय वाणिज्य बैंकलाई त्यसको प्रभाव न्यून पर्ने गर्दथ्यो । तर हालको अवस्था फरक रहेको छ । स्रोतको अधिकतम परिचालन गर्ने बैंकको नीतिअनुसार यस बैंकको कर्जा निक्षेप अनुपात अन्य बैंकहरूको जस्तै उच्च रहेको अवस्थामा बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको प्रभाव यस बैंकलाई पनि पर्ने नै भयो । त्यसै गरी निक्षेप सङ्कलन कार्य वर्तमान अवस्थामा एकदमै प्रतिस्पर्धी बन्दै गएको छ । यसर्थ, नेपाल राष्ट्र बैंकको निर्देशनको पालना गर्दै व्यवसाय विस्तार गर्ने क्रममा राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा उत्पादनशील क्षेत्रहरूमा स्रोत परिचालन गर्ने नीतिअनुरूप कर्जा लगानी गरिरहेको स्थितिमा वर्तमान तरलता सङ्कटका कारण हामीले कर्जा लगानीमा केही कसिलो रणनीति अपनाएको भए तापनि हामीले पूर्णतया कर्जा रोकेको अवस्था भने छैन ।

अहिले बैंकिङ प्रणालीमा तरलता सङ्कटसँगै लगानीयोग्य रकमको अभाव देखिएको छ । यहाँको विचारमा यस्तो समस्या किन देखा पर्यो र यसको समाधान कसरी गर्न सकिन्छ ?

समय–समयमा अर्थतन्त्र विभिन्न समस्याबाट गुज्रिएर पुनः लयमा फर्कने क्रममा यस्तो तरलता चाप र लगानीयोग्य रकमको अभाव जस्ता समस्या आइनै रहन्छन् । तसर्थ यो नयाँ समस्या हो जस्तो लाग्दैन । हिजो अर्थतन्त्र कोभिड–१९ का कारण समस्यामा पर्दा सम्पूर्ण अर्थतन्त्र ठप्पप्रायःको अवस्थामा रहँदा तरलता उच्च रहेको थियो भने आज अर्थतन्त्र पुनः लयमा फर्कने क्रममा थप तरलताको माग हुनु नौलो कुरा होइन । हिजो तरलता अधिक हुँदा उक्त रकम गैरउत्पादनमूलक क्षेत्रमा जानुचाहिँ प्रमुख कारण हो आजको तरलता समस्याको, जसका कारण अर्थतन्त्रले मागेबमोजिमको कर्जा प्रवाह गर्न हामी असमर्थ हामीले नेपाल सरकारबाट रु. १ अर्ब प्राप्त गरिसकेका छौँ भने थप रु. २ अर्बका लागि पनि कार्य अघि बढिसकेको अवस्था रहेको छ । प्रस्तावित ३० प्रतिशत बोनस सेयर रु. २ अर्ब ७५ करोडसमेत थपिँदा आगामी आषाढ मसान्तसम्म हाम्रो पुँजी रु. १४ अर्ब ९४ करोड पुग्ने छ ।

  • यसका अतिरिक्त तरलता समस्यामा निम्न कारणहरूले पनि प्रभाव पारेको देखिन्छ ।
  • कोभिड–१९ पछिको स्थितिमा कर्जाको अत्यधिक माग बढ्नु,
  • विविध कारणले गर्दा पुँजीगत खर्च न्यून हुनु,
  • विप्रेषणमा कमी आउनु,
  • हिजो कोभिडका कारण बन्दप्रायः अवस्थामा रहेका उद्योगधन्दा, कलकारखाना पुनः सुचारु हुँदा कर्जाको माग पनि एक्कासी बढ्नु,
  • अर्थतन्त्रले तत्काल खपत गरेको कर्जा पुनः बजारमा आउन समय लाग्नु,

हालको तरलता अभाव नयाँ नभई कोभिडपश्चात्को रिकभरिका लागि अत्यधिक कर्जा खपतको स्थितिले गर्दा सिर्जना भएको हो । समस्या समस्याकै रूपमा रह्यो भने त्यो अझ जटिल समस्याका रूपमा देखा पर्दछ । तसर्थ तरलताको समस्या समाधानका लागि मुख्यतः बैंकहरूको बैंकका रूपमा कार्य गर्ने नेपाल राष्ट्र बैंकले तरलता प्रवाह गर्नका लागि विभिन्न उपायहरू अपनाउँदै आएको छ । त्यस्तै गरी बैंक तथा वित्तीय संस्थाहरूले पनि कर्जा लगानी गर्दा उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिनुपर्दछ । नेपाल जस्तो मुलुकमा औपचारिक क्षेत्रबाट लिइएको कर्जा रकम अनौपचारिक क्षेत्रमा रोकिँदा समेत तरलता अभाव देखिने हुँदा सम्पूर्ण वित्तीय कारोबारलाई औपचारिक क्षेत्रमा ल्याउने प्रयासहरू हुनु पर्दछ । त्यस्तै गरी सरकारी खर्चहरूले गति पाउँदा पनि तरलता समस्याको हल हुन सक्दछ । बैंक तथा वित्तीय संस्थाहरूको विस्तार गरी वित्तीय पहुँच बढाउन सक्दा पनि निष्क्रिय पुँजीको परिचालन हुन सक्दछ ।

कोभिड–१९ को समयमा बैंकहरूले डिजिटाइजेसनमा राम्रै उपलब्धि हासिल गरेका छन्, नयाँ नयाँ बैंकिङ प्रोडक्टको विकास गरेका छन् । यसतर्फ राष्ट्रिय वाणिज्य बैंकले गरेका प्रयास र प्राप्त उपलब्धि के के हुन् ?

पक्कै पनि कोभिड–१९ अभिशाप मात्र नभई अवसरका रूपमा पनि रहेको छ । उक्त प्रकोपका कारण कष्टप्रद समय भोगेको अर्थतन्त्र तथा बैंकिङ क्षेत्रले केही नयाँ सिकाइका रूपमा डिजिटाइजेसनको मार्ग औँल्याउन सफल रहेको छ । यस प्रकोपको समयमा नेपाली बैंकहरू र नेपाली जनता प्रविधिमैत्री बनेको यो एक सम्झनयोग्य समय बनेको छ । यस बिचमा भुक्तानी तथा बैंकिङ सेवामा Digital माध्यमको प्रयोगमा उल्लेख्य बढोत्तरी भएको छ । व्यावसायिक निरन्तरताका लागि वैकल्पिक मार्गका रूपमा डिजिटल प्रविधि अवलम्बन गर्नुपर्ने दरिलो पाठसँगै बैंकिङ क्षेत्रले पनि विभिन्न प्रकारका डिजिटल सेवाहरूको थालनी गरेको पाइन्छ । राष्ट्रिय वाणिज्य बैंकले पनि यस क्रममा ग्राहकहरूलाई निरन्तर सेवा दिनका लागि Work From Home, Virtual Training/meeting को मार्ग औँल्याई सेवा प्रवाहमा नयाँ आयाम थपेको छ । त्यस्तै Online Account Opening, ATM, Mobile Banking, QR Code, POS Machine, Credit Card जस्ता बैंकिङ सेवाहरूको सुरुवात गरी आफुलाई डिजिटल माध्यमका क्षेत्रमा पनि सबल बैंकका रूपमा स्थापित गरेको छ ।

बैंकहरूले विद्युतीय कारोबार बढाउँदै लगिरहेका छन् । सँगसँगै यसमा जोखिम पनि उत्तिकै बढिरहेकै छ तर सूचना प्रविधिको सुरक्षामा आवश्यकताअनुसार बैंकहरूले ध्यान नदिएको भन्ने आरोप पनि छ । यसमा राष्ट्रिय वाणिज्य बैंकले मजबुत सूचना प्रणालीको विकासमा के–कसरी काम गरिरहेको छ ?

हाल सूचना प्रविधिको अभावमा बैंकिङ प्रणाली कल्पना बाहिरको विषय बनिसकेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंकले पनि आपूmलाई समयानुकूल सूचना प्रविधिसंगै परिवर्तन गर्दै लग्नुपर्ने आवश्यकता छ र गर्दै पनि आइरहेको छ । सूचना प्रविधिको प्रयोगसँगै आउने जोखिम न्यूनीकरण्का लागि पनि बैंकले उत्तिकै सजग भई कार्य गरिरहेको छ । बैंकले आफ्नो Core Banking System लाई स्तरोन्नति गरिसकेको छ भने IT Enhancement Roadmap सञ्चालक समितिबाट स्वीकृत भई कार्यान्वयन अगाडि बढेको छ । बजारमा उपलब्ध प्रतिस्पर्धी बैंकिङ प्रणाली Core Banking System भित्र्याइने छ ।  

बैंकमा केही वर्षदेखि नयाँ कर्मचारी भर्ना प्रक्रिया अवरुद्ध भयो । यसबिचमा बैंकले न्यूनतम कर्मचारीबाटै ग्राहकलाई बैंकिङ सेवा दिइरहेको छ । अहिले ठुलो सङख्यामा कर्मचारी माग गरी विज्ञापन गर्नुभएको छ । भर्ना प्रक्रिया कहिलेसम्म टुङ्गिएर बैंकमा नयाँ कर्मचारी आइपुग्छन् ?

विगत ३ वर्षदेखि नयाँ कर्मचारी भर्ना प्रकृया प्रभावित हुँदा बैंक स्वयम्, रोजगारीका लागि अपेक्षित पिँढीहरू र ग्राहकवर्गले समेत केही समस्या भोग्नुपरेको थियो । तर हाल उक्त समस्याको हल भइसकेको अवस्थामा नयाँ कर्मचारी भर्ना प्रकृयाअन्तर्गत विभिन्न तहमा कुल ८३६ जना नयाँ कर्मचारीका लागि दरखास्त आह्वान गरिएको छ । नयाँ कर्मचारी भर्नाको सम्पूर्ण प्रकृया पूरा हुनका लागि करिब ४ देखि ५ महिना लाग्छ । सो अवधिमा नयाँ कर्मचारीहरू आइपुग्ने र आशा छ, बैंकका कार्यहरू पनि सहज रूपमा सुचारु हुने छन् ।

नेपाल सरकारको अधिकांश सेयर स्वामित्व भएको नेपालको एक मात्र वाणिज्य बैंक हो राष्ट्रिय वाणिज्य बैंक । अन्य प्रतिस्पर्धी बैंकहरूले पुँजी वृद्धि गर्दै लगिरहेको सन्दर्भमा यस बैंकको सेयर पुँजी वृद्धिका लागि केही योजना रहेको छ ?

आजका दिनमा आइपुग्दा हाम्रो भावी व्यवसाय विस्तारलाई हेर्दा बैंकसँग रहेको पुँजी अपर्याप्त हुने देखेर पुँजी वृद्धि योजनामा समेत लागेका छौँ । यस वर्षको अन्त्यसम्ममा रु. ३ अर्ब पुँजी नेपाल सरकारबाट थप्ने योजनाका साथ गत वर्षको अन्तमा नै हामीले नेपाल सरकारबाट रु. १ अर्ब प्राप्त गरिसकेका छौँ भने थप रु. २ अर्बका लागि पनि कार्य अघि बढिसकेको अवस्था रहेको छ । प्रस्तावित ३० प्रतिशत बोनस सेयर रु. २ अर्ब ७५ करोडसमेत थपिँदा आगामी आषाढ मसान्तसम्म हाम्रो पुँजी रु. १४ अर्ब ९४ करोड पुग्ने छ ।

बैंकलाई आम नेपालीको बैंकका रूपमा विकास गर्न आगामी दिनमा के के गर्ने कार्ययोजना बनाउनुभएको छ ?

राष्ट्रिय वाणिज्य बैंक हिजो पनि आम नेपालीको आवश्यकता र चाहनाअनुरूप सञ्चालनमा रहेको थियो भने आज पनि आफ्नो सेवा प्रवाहमा ग्राहकलाई पहिलो प्राथमिकतामा राख्दै आएको बैंक हो । त्यस्तै गरी आगामी दिनहरूमा पनि बैंकले ग्राहक सेवालाई सर्वोपरी मान्दै सेवा पु¥याउने छ भन्नेमा म फेरि पनि जोड दिन चाहन्छु । आजका दिनमा बैंकहरूको परिवर्तित आकार, विस्तारित कारोबार, भौगोलिक उपस्थिति आदिका कारण यस बैंकले पनि आगामी दिनमा अझ धेरै चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ । यस्तो परिस्थितिमा यस बैंकले आफूलाई अझ सक्षम र सबल साबित गर्न उत्कृष्ट तथा परिष्कृत रणनीतिका साथ अघि बढ्नुपर्ने देखिएकाले आगामी दिनहरूमा हाम्रा योजनाहरू थप परिष्कृत रूपमा ग्राहक सेवामा पहुँच, सहजता र गुणस्तरीयताका साथै व्यवसाय विस्तारमा केन्द्रित रहने छन् । जसअन्तर्गत सङ्क्षेपमा कुरा गर्दा निम्न योजनाहरू रहने छन् ।  

  • बैंकको विद्यमान कार्यपद्घतिहरूलाई छिटोछरितो, सरल, सहज र ग्राहकमुखी बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने उद्देश्यले बैंकका आधारभूत कार्यहरूमा Business Process Reengineering गर्ने,
  • बैंकमा भएका सम्पत्तिहरूको संरक्षणका साथै समुचित उपयोग गर्नका लागि Asset Utilization Plan बमोजिम कार्यहरू अघि बढाउने,
  • बैंकको समग्र व्यवसायलाई विस्तार गर्दै ग्राहक सेवालाई थप चुस्त र ग्राहकमुखी बनाउने,
  • निष्क्रिय कर्जाको प्रभावकारी व्यवस्थापनको कार्य NPA Management प्राथमिकताका साथ अघि बढाउने,
  • बैंकमा विद्यमान विविध प्रकारका जोखिमलाई न्यूनीकरण गर्न जोखिम व्यवस्थापन कार्यलाई थप परिष्कृत तथा प्रभावकारी बनाउँदै लैजानुका साथै AML/CFT को परिपालनको क्षेत्रमा समेत बैंकलाई अब्बल बनाउँदै लैजाने,
  • बैंकमा भएका सीमित स्रोत र साधनहरूको उच्चतम र मितव्ययी उपयोगमा ध्यान दिने,
  • सरकारले घोषणा गरेका सहुलियतपूर्ण कर्जा, पुनर्कर्जा जस्ता विशेष कार्यक्रमहरूलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने,
  • बैंकका कर्जा लगानीहरू उत्पादनमूलक तथा रोजगारीमूलक क्षेत्रमा केन्द्रित गर्दै अघि बढ्नुपर्ने,
  • निक्षेपकर्ता र ऋणीहरूको थप विश्वास आर्जन गर्ने र बैंकप्रतिको विश्वासलाई अझ उचाइमा पुर्याउने,
  • लामो समयसम्म जनशक्ति अभावको समस्या झेलेको यस बैंकको जनशक्ति व्यवस्थापनमा जोड दिँदै उच्च मनोबलयुक्त जनशक्तिको विकास गर्दै लैजाने, कर्मचारीको कार्यसम्पादनमा निखारता, उत्पादकत्वमा वृद्धि र वस्तुगत रूपमा कार्यसम्पादन मूल्याङ्कन गर्नका लागि Reboust Performance Management System लागू गर्ने, कर्मचारीको उत्पादकत्व वृद्धि गर्नका लागि आवश्यकताअनुसारका विभिन्न तालिम कार्यक्रमको आयोजना गरी कर्मचारीको सीप र दक्षताको विकास गर्ने,
  • बैंकिङ दायरामा नसमेटिएका विभिन्न ठाउँमा छरिएर रहनुभएका ग्राहकहरू समक्ष वित्तीय सेवा विस्तार गरी सर्वसाधारणमा वित्तीय पहुँच अभिवृद्धि गर्ने,
  • पुँजी वृद्घि योजनाबमोजिम बैंकको पुँजी वृद्घि गर्दै लैजाने,
  • संस्थागत सुशासन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउन आवश्यक कार्यहरू सञ्चालन गर्ने, 
  • संस्थाका सम्पूर्ण क्रियाकलापलाई स्वचालित र एकीकृत गरी Enterprise Resource Program (ERP) को विकास तथा कार्यान्वयन गर्ने ।

बजारमा २७ वटा वाणिज्य बैंकहरू छन् । यस्तो प्रतिस्पर्धी बजारमा ग्राहकले राष्ट्रिय वाणिज्य बैंकबाटै बैंकिङ सेवा किन लिने ? बैंकमा सेवाग्राही आकर्षित हुने पक्षहरू बताइदिनुहोस् ।

राष्ट्रिय वाणिज्य बैंक एक यस्तो नाम हो, जसले बैंकिङ क्षेत्रमा विभिन्न कालहरू पार गरेर हालका दिनसम्म पुगेको छ । सुरुवाती समयमा देशमा बैंकिङ पहुँच बढाउँदै आर्थिक विकासका लागि पुँजी निर्माणमा योगदान गरेको यस बैंकले अर्थतन्त्र तथा ग्राहक वर्गमा धेरै प्रकारका योगदान तथा कार्यहरू गर्दै आम जनमानसमा गहिरो छाप तथा विश्वास दिलाउँदै आएको छ । हाम्रा ग्राहकहरूलाई राष्ट्रिय वाणिज्य बैंककै सेवा लिनुपर्ने धेरै कारणहरू रहेका छन् तर पनि सङ्क्षेपमा निम्न कुराहरूका कारण वित्तीय ग्राहकहरू यस बैंकको सेवा लिन आउनुपर्ने देख्छु

  • राष्ट्रिय वाणिज्य बैंकले बित्तीय पहुँचबाट वञ्चित ग्रामीण तथा दूरदराजका जनसमुदायसम्म पुगी बैंकिङ सेवा प्रवाह गरिरहेको,
  • यस बैंकले महिला तथा पिछडिएका वर्गको उत्थानका लागि नेपाल सरकारका कार्यक्रमहरूलाई निर्वाध रूपमा कार्यान्वयन गर्दै आइरहेको,
  • ग्राहकहरूलाई अझ छरितो सेवा दिनका लागि बैंकका कार्य प्रणालीलाई आधुनिक बनाई प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको,
  • समयानुकूल आफ्ना सेवाहरूलाई परिमार्जन गर्दै ग्राहकको सेवासम्बन्धी आवश्यकता पूरा गर्दै नाममा मात्र हैन काममा समेत तपाईंको आफ्नै बैंक बन्न सफल रहेको ।

बैंक सफलताका लागि विभिन्न सरोकारवालाहरूको भूमिका महत्वपूर्ण हुने गर्दछ । यसमध्ये ट्रेड युनियन पनि एउटा महत्वपूर्ण पक्ष भएकाले बैंकभित्र क्रियाशील कर्मचारी ट्रेड युनियन र व्यवस्थापनबिच कस्तो सम्बन्ध रहेको छ ?

बैंकको विकास र उन्नतिका लागि कर्मचारी सङगठनहरू बाधक नभई सहयात्री हुन् । बैंक व्यवस्थापन र कर्मचारी सङ्गठनहरूबिचको सम्बन्ध सुमधुर र एकआपसमा सहयोगी हुनुपर्दछ भन्ने मेरो मान्यता रहिआएको छ । यस अर्थमा हाल यस बैंकमा क्रियाशील कर्मचारी सङ्गठनहरूको भूमिका सकारात्मक नै पाएको छु । बैंकको आन्तरिक स्थिति र व्यवस्थापनको पहलकदमीको मूल्याङ्कन गर्दै कर्मचारी सङ्गठनहरूबाट प्राप्त सृजनात्मक सुझाव र सल्लाहले बैंकलाई अझ प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने आशा लिएको छु र सो आशाबमोजिम रचनात्मक सुझावहरू प्राप्त भइरहेकै पनि छन् । बैंकमा रहनुभएका कर्मचारीहरूको उत्पादकत्व वृद्घिका साथै कर्मचारीको हित संरक्षण गर्दै बैंकको सुनौलो भविष्य निर्माण गर्ने जस्तो गम्भीर विषयमा कर्मचारी युनियन र व्यवस्थापनबिचको सम्बन्ध थप परिष्कृत रूपमा अघि बढ्ने नै छ । कर्मचारी सङ्गठनहरूको उपयुक्त र व्यावहारिक सल्लाह तथा सुझावले मलाई बैंक व्यवस्थापनमा ठुलो सहयोग पुगेकोमा उहाँहरूलाई धन्यवाद दिन चाहन्छु ।

(यो अन्तर्वार्ता राष्ट्रिय बाणिज्य बैंकको ५७ औ वार्षिकोत्सवको अवसरमा प्रकासित उपहारबाट लिइएको हो)

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया