आगामी दिनमा कर्जा असुली सहज हुँदै जाने गभर्नर अधिकारीको दाबी

  • BFIS News
  • 2024 Apr Fri 16:57
आगामी दिनमा कर्जा असुली सहज हुँदै जाने गभर्नर अधिकारीको दाबी

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले आगामी दिनमा कर्जा असुली सहज हुँदै जाने दाबी गरेका छन् । उनले बैंकिङ प्रणालीमा तरलता सहज भएको र कर्जाका व्याजदर समेत क्रमश घट्दै गएको भन्दै आगामी दिनमा कर्जा असुली सहज हुँदै जाने अपेक्षा गरेका छन् ।

 

नेपाल राष्ट्र बैंकको ६९ औ वार्षिकोत्सवको अवसरमा आफ्नो मन्तव्य राख्ने क्रममा आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा असुली केही प्रभावित भई निष्क्रिय कर्जा अनुपात बढ्दै गएको बताएका हुन् ।

वित्तीय स्थायित्वका लागि विभिन्न नियमनकारी व्यवस्था गरिएको उनले बताए । वित्तीय क्षेत्रसहित समिष्टगत आर्थिक स्थायित्वलाई नेपाल राष्ट्र बैंकले सदैव प्राथमिकतामा राख्दै आएको उनले जानकारी दिए ।

चालु खाता र शोधनान्तर बचतमा रहेकाले तरलता स्थितिमा उल्लेख्य सुधार आएको उनले बताए । उनले भने ‘निक्षेप तथा कर्जाका ब्याजदर घट्दो क्रममा रहेका छन् । शोधनान्तर बचत र मूल्यमा परेको चाप कम हुँदै गएकाले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै लगिएको छ । यसबाट आर्थिक गतिविधिमा क्रमिक सुधार हुने अपेक्षा रहेको छ ।’

गभर्नर अधिकारीले २०८० साललाई समिक्षा गर्दै वर्ष २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको उल्लेख गरेका छन् । उने भने 'समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहे तापनि यो वर्ष बाह्य क्षेत्रमा सुधार भई विदेशी विनिमय सञ्चिति सहज राख्न, मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न, भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न बैंक सफल रह्यो । बैंकको कार्यसम्पादनलाई चुस्त, व्यवस्थित, नियमसङ्गत र अद्यावधिक बनाउन विभिन्न विनियमावली र कार्यविधि तर्जुमा एवम् परिमार्जनका काम पनि निरन्तर रूपमा गरिए । बैंकको वार्षिकोत्सवको अवसरमा देशको वर्तमान समष्टिगत आर्थिक तथा वित्तीय स्थिति र चालु आर्थिक वर्षको फागुन महिनासम्ममा यस बैंकले अवलम्बन गरेका महत्वपूर्ण नीतिगत व्यवस्था र सम्पादन गरेका कार्यहरू प्रस्तुत गर्न चाहन्छु ।' 
 

 

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया