बैंकबाट घर कर्जा लिन खोज्दै हुनुहुन्छ, कुन बैंकको व्याजदर कति (सूचिसहित)

  • BFIS News
  • 2023 Aug Fri 09:29
बैंकबाट घर कर्जा लिन खोज्दै हुनुहुन्छ, कुन बैंकको व्याजदर कति (सूचिसहित)

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिए सँगै बैंकहरुले ग्राहकहरुलाई आकर्षित गर्न घर कर्जादेखि लिएर विभिन्न स्किमहरु ल्याउन थालेका छन् । राष्ट्र बैंकले पहिलो पटक घर जग्गा खरिदकर्तालाई प्रोत्साहन गर्न २ करोड रुपैयाँसम्मको सिलिङ बढाइदिएको छ । यसले गर्दा पनि बैंकहरुले घर कर्जामा आफुलाई केन्द्रित गरेका हुन् ।

बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार घरकर्जाको ब्याज बैंक अनुसार १० देखि १६ प्रतिशतसम्म रहेको छ । बैंकको आधारदरमा आउने फेरबदल अनुसार कर्जाको ब्याज परिवर्तन् हुन्छ । यद्यपि, स्थिर ब्याजदर कर्जा योजना समेत संस्थाहरूले ल्याएका छन् । बैंकहरूले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर घरकर्जाको ब्याजदर तय गरेका छन् । कुनै बैंकले निश्चित अवधिका लागि स्थिर ब्याजदर तोकेका छन् भने कुनैले आधारदरमा आएको फेरबदल अनुसार ब्याजदर फरक पर्ने गरी तोकेका छन् । यसरी आधारदरमा तोकिएसम्म प्रिमियम थप गरेर ग्रहाक र बैंक बीच ऋण सम्झौता हुन्छ । उक्त सम्झौता पछि बैंकले कर्जामा प्रिमियम बढाउन पाउँदैनन् भने आधार दरमा आएको फेरबदल अनुसार ब्याजदर फरक पर्छ ।

निश्चित अवधि पाँच, दश वर्षका लागि हुने स्थिर कर्जा स्किममा भने सोही ब्याजदर रहन्छ । चालु आर्थिक वर्षमा वित्तीय प्रणालीमा तरलता थुप्रिए पनि माग नहुँदा बैंकहरूले व्यवसाय बढाउन सकेका छैनन् । सोही कारण कर्जा लगानीका लागि विभिन्न मागका क्षेत्रहरू खोजिरहेका छन् ।

राष्ट्र बैंकका अनुसार गत वर्षको असार मसान्तसम्म रियलस्टेट र व्यक्तिगत आवासीय गरेर बैंकहरूले ५ खर्ब रुपैयाँ बढी ऋण लगानी गरेका छन् ।

कुन बैंकबाट पाइन्छ सस्तोमा ऋण ?

सबैभन्दा धेरै नेपाल एसबीआई बैंकले १५.९९ प्रतिशतसम्म घरकर्जाको ब्याजदर तोकेको छ । बैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर सो ब्याजदर निर्धारण गरेको हो । हिमालयन बैंकले १५.९२ प्रतिशत ब्याजदर तय गरेको छ ।

कुमारी बैंकले १५.४ प्रतिशतसम्म अधिकतम ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर सो ब्याज तोकेको हो । सबैभन्दा कम ब्याजदर सिद्धार्थ बैंकको रहेको छ । यस बैंकले निश्चित अवधिका लागि स्थिर ब्याजदर १०.९९ प्रतिशत तोकेको छ ।

यसैगरी, सिटिजन्स र ग्लोबल आइएमई बैंकले पनि स्थिर ब्याजदर ११ प्रतिशत तोकेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आधारदर ८.०२ मा ३.२५ प्रतिशतसम्म प्रिमियम थपेर घरकर्जाको दिने जनाएको छ ।

नेपाल बैंक १३.०५, माछापुच्छ्रे १२, प्रभु बैंक १२.९९ प्रतिशत, प्राइम बैंक १३, नबिल १४.५२, एनआइसी एसीया बैंकले १४.९९ प्रतिशत घरकर्जाको ब्याजदर निर्धारण गरेका छन् ।

यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेष्ट, कृषि विकास र स्ट्यान्डार्ड चार्टर्ड बैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण प्रवाह गर्ने जनाएका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया