Nepal Life

एमसिसी परियोजना : ४०० केभीको न्यु बुटवल सबस्टेशन निर्माणसम्बन्धी सम्झौता, ३९ महिनाभित्र सम्पन्न हुने

Global Ime detail Page
  • BFIS News
  • 2024 May Thu 16:37
एमसिसी परियोजना : ४०० केभीको न्यु बुटवल सबस्टेशन निर्माणसम्बन्धी सम्झौता, ३९ महिनाभित्र सम्पन्न हुने
Sanima Reliance

काठमाडौं । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का सम्झौता गरेको छ। लिङ्कसन इण्डिया प्रालिसँग उक्त सम्झौता गरिएको एमसिए नेपालले जनाएको छ।

NIMB

उक्त सबस्टेशनको निर्माण सम्झौता अवधिको ३९ महिनाभित्र सम्पन्न गरिनेछ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा आज आयोजित हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसन, स्थानीय अधिकारीहरू तथा निर्वाचित जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राजदूत थम्पसनले भने, “नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको सुनिश्चित गर्नेसन्दर्भमा अमेरिकी सरकार नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छ। घरेलु उपभोग, विस्तारित व्यापारिक एवं औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दो एवं धान्न सकिने विद्युत् उपलब्ध गराइरहेको नेपालको विद्युत् प्रसारण क्षमतामा यस ४०० केभी नयाँ बुटवल सबस्टेशनले सुधार ल्याउनेछ।”

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक श्री कुलमान घिसिङले सीमापार ऊर्जा व्यापार गर्न विद्यमान सबस्टेशनले सहयोग गर्ने बताए। उनले भने, “यो ४०० केभी सबस्टेशन नेपाल विद्युत् प्राधिकरणको प्राथमिकतामा रहेको संरचना हो र यसले यस क्षेत्रमा सीमापार ऊर्जा व्यापार उल्लेख्य रूपमा उकास्नका लागि विद्यमान २२० केभी सबस्टेशनलाई सघाउनेछ।”

कार्यक्रमका क्रममा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा भइरहेका समष्टिगत प्रगतिमाथि प्रकाश पार्दै भने, “एमसिए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत प्रसारण लाइन र सबस्टेशनहरूको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइरहेको छ। बाँकी दुई वटा सबस्टेशनको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नका लागि हामी खरिद प्रक्रियाको अन्तिम चरणमा छौँ।”

एमसिए–नेपालले नेपाल सरकारको लगानी तथा अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशनबाट आर्थिक अनुदान प्राप्त विद्युत् प्रसारण आयोजना अन्तर्गत यस सबस्टेशनका अतिरिक्त नुवाकोट जिल्लाको रातमाटेमा र तनहुँ जिल्लाको दमौलीमा पनि एक-एक वटा सबस्टेशन निर्माण गर्दैछ। ती सबस्टेशनका लागि निर्माण कम्पनीको छनोट हुँदैछ।

अर्थ मन्त्रालयका सचिव अध्यक्ष रहेका एमसिए–नेपालको सञ्चालक समितिको २०८० साल फागुनमा बसेको बैठकले भारतसँगको सम्झौतामा उल्लेख गरिए अनुरूप सीमापार ऊर्जा व्यापारलाई समयमै अगाडि बढाउनका लागि सहजीकरण गर्न नयाँ बुटवल –गोरखापुर विद्युत् प्रसारण लाइनको नेपाली क्षेत्रमा पर्ने १८ किमि अंशको निर्माणलाई अगाडि बढाउने निर्णय गरेको थियो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया