नववर्ष २०८३ को अवसरमा बीमा क्षेत्रलाई थप सुदृढ बनाउने प्रतिबद्धता
- BFIS News
- 2026 Apr 10 16:48
काठमाडौँ । नववर्ष २०८३ को अवसरमा नेपाल बीमा प्राधिकरण ले आज आफ्नो केन्द्रीय कार्यालय, कुपण्डोलमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी ले बीमा क्षेत्रको विकास, विस्तार तथा पहुँच अभिवृद्धिका लागि सबै सरोकारवालाहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्। उनले प्राधिकरणले कसैप्रति पनि आग्रह वा पूर्वाग्रह नराखी काम गर्दै आएको उल्लेख गर्दै बीमा सम्बन्धी ऐन, नियम तथा निर्देशनहरूको पालना गर्दै बीमा व्यवसायको गरिमा उच्च बनाउने गरी कार्य गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन्।
कार्यकारी निर्देशक सुवेदीले सुशासन कायम राख्दै नविनतम् प्रविधिको अवलम्बन, बीमाको पहुँच विस्तार तथा क्षेत्रको समग्र विकासका लागि उपयुक्त वातावरण सिर्जना गर्न प्राधिकरण सधैं प्रतिबद्ध रहेको स्पष्ट पारे।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारी ले पछिल्लो समय बीमाको पहुँच उल्लेखनीय रूपमा विस्तार भई देशको झण्डै ५० प्रतिशत जनसङ्ख्यामा पुगेको जानकारी दिए। उनले बीमा क्षेत्रका अधिकांश परिसूचकहरू सकारात्मक रहेको उल्लेख गर्दै जोखिम व्यवस्थापनसँगै ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्नुपर्नेमा जोड दिए।
निर्देशक ढुङ्गेलले बीमा क्षेत्रलाई सशक्त, विश्वसनीय, आधुनिक र समावेशी बनाउन सामूहिक प्रयास अपरिहार्य रहेको पनि बताए।
सो अवसरमा प्राधिकरणले विद्यालय तहका विद्यार्थीहरूलाई लक्षित गर्दै चित्रकथामा आधारित बीमा सम्बन्धी जानकारीमूलक पुस्तक ‘बीमाको चित्रकथाको सङ्गालो’ सार्वजनिक गरेको थियो।
कार्यक्रममा नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ र नेपाल लघु जीवन बीमक संघ का अध्यक्षहरू तथा विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
उक्त कार्यक्रममा प्राधिकरणका निर्देशकहरू, जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन प्राधिकरणका उपनिर्देशक पूर्ण बहादुर थापा ले गरेका थिए।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)














प्रतिक्रिया