NIMB Header 2
Nepal Life

माछापुच्छ्रे बैंकको नाफा ५०.४३ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी पनि उकालो

NMB Bank
  • BFIS News
  • 2026 Apr 28 07:22
माछापुच्छ्रे बैंकको नाफा ५०.४३ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी पनि उकालो
United Ajod

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा तथा प्रतिशेयर आम्दानी दुवै सूचक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेका छन्।

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्षको पहिलो नौ महिनासम्ममा बैंकले १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको १ अर्ब १० करोड २६ लाख रुपैयाँको तुलनामा ५०.४३ प्रतिशतले बढी हो।

बैंकको खुद ब्याज आम्दानी सामान्य रूपमा वृद्धि भए पनि इम्पेरमेन्ट चार्जमा कमी आउँदा नाफामा उल्लेख्य सुधार देखिएको हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३.४७ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २८.२३ प्रतिशतले वृद्धि भएको छ। कुल सञ्चालन आम्दानी ९.९३ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा १६.६४ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ।

इम्पेरमेन्ट चार्ज घटेर ६७ करोड ३७ लाख रुपैयाँमा सीमित भएपछि सञ्चालन मुनाफामा सकारात्मक प्रभाव परेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७६ करोड २२ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८१ पैसा कायम भएको छ।

नाफा वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि बढेर १८ रुपैयाँ ३० पैसा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६ रुपैयाँ १४ पैसाले बढी हो। चैत मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.७७ गुणा रहेको छ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरी चुक्ता पूँजी १५ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ। जगेडा कोषमा ८ अर्ब २२ करोड रुपैयाँ सञ्चित रहेको बैंकले जनाएको छ। त्यसैगरी, चैत मसान्तसम्म बैंकले २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया