नेपालमा पनि ‘एभरेस्ट’ र ‘एमडीएच’ का मसलामा प्रतिबन्ध
- BFIS News
- 2024 May Fri 10:31
काठमाडौं । नेपालमा पनि भारतको दुई प्रसिद्ध मसला ब्राण्डको आयातमा प्रतिबन्ध लगाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एमडिएच र एभरेष्ट ब्राण्डको मसलाको आयात, बिक्री-बितरण तथा उपभोगमा प्रतिवन्ध लगाएको हो।
विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार भारतको एमडिएच ब्राण्डको ३ र एभरेष्ट ब्राण्डको १ गरी चार प्रकारको मसलाको आयात अनुमति तत्कालको लागि स्थगित गरिएको छ ।
विभागले एमडिएच ब्राण्डको मद्रास करि पाउडर (स्पाइस ब्लेण्ड फर मद्रास करी), साम्भर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर मिक्स्ड मसला पाउडर र एभरेष्ट ब्राण्डको फिस करी मसलाको आयातमा प्रतिवन्ध लगाएको हो।
हङकङ र सिंगापुरले दुवै ब्राण्डको मसलामा अनुमतियोग्य स्तरभन्दा बढी कार्सिनोजेनिक कीटनाशक इथाइलिन अक्साइड रहेको पत्ता लगाएपछि बिक्रीमा प्रतिबन्ध लगाएका थिए ।
विभागले अहिले मसलाको नमूना लिएर परीक्षण गरिरहेको जनाएको छ। परीक्षणको प्रतिवेदन आउन समय लाग्ने भएकाले उक्त समयसम्मका लागि मसलाहरुको आयात र बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो।
प्रतिक्रिया