महालक्ष्मी विकास बैंकद्वारा सामाजिक कार्यमा सहयोग

  • BFIS News
  • 2024 May Mon 16:58
महालक्ष्मी विकास बैंकद्वारा सामाजिक कार्यमा सहयोग

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिका र आश्रमलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न गरेका छन्।  

बैंकको महिलवार (लुम्बिनी) शाखाद्वारा २५६८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८१ को अवसरमा लुम्बिनीमा निःशुल्क पानी तथा मिठाई वितरण कार्यक्रम सम्पन्न गरेको छ। बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा दर्शन गर्न आएका करिब २५ सय श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी तथा मिठाई वितरण गरिएको थियो।  

बैंकले विगत १३ –१४ वर्षदेखि नै बुद्ध जयन्तीको दिन श्रद्धालु भक्तजन तथा सर्वसाधारणहरुलाई पिउने पानीको समस्या नहोस् भन्ने उद्देश्यले यो कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।

त्यसैगरि, बैंकको धनगढी शाखाद्वारा धनगढी उपमहानगरपालिकाको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’लाई १ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।

ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाले आर्थिक अभावका कारण बिचैमा पढाई छोड्न नपरोस् भनेर स्थापना गरिएको नगरप्रमुख शैक्षिक सुधार कोष मार्फत विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न गर्न मद्दत पुर्‍याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो।

बैंकको सुदुरपश्चिम प्रदेश प्रमुख सुनिलकुमार नेपालले धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए।

उल्लेखित कार्यक्रम सँगसँगै बैंकको नारायणगढ शाखाद्वारा देवघाटधाम, तनहुँमा अवस्थित गलेश्वर आश्रमलाई ३ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।

आश्रमले नेपालीपन झल्कने प्यागोडा शैलीमा सिद्धेश्वर शिवमन्दिर निर्माण गरिसकेको तर आर्थिक अभावका कारण मन्दिर प्राङ्गणमा नेपाली ढुङ्गा बिच्छाउने  कार्य बाँकी रहेकाले सो कार्य सम्पन्न गर्नका लागि बैंकले उक्त सहयोग गरेको जनाएको छ।

बैंकको बाग्मती प्रदेश ‘ख’प्रमुख शम्भु प्रसाद पराजुलीले गलेश्वर आश्रमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया