गभर्नर अधिकारी एसियन क्लियरिङ युनियन (एसीयु) को ५२ औं बोर्ड बैठकमा सहभागी

  • BFIS News
  • 2024 Jun Sun 17:06
गभर्नर अधिकारी एसियन क्लियरिङ युनियन (एसीयु) को ५२ औं बोर्ड बैठकमा सहभागी

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी २०८१ जेठ १७–१८ गते बङ्गलादेशको ढाकामा आयोजित एसियन क्लियरिङ युनियन (एसीयु) को ५२ औं बोर्ड बैठकमा सहभागी हुनुभई जेठ १९ गते स्वदेश फर्किएका छन् । 

बङ्गलादेश बैंकका गभर्नर अब्दुर रौफ तालुक्दरको अध्यक्षतामा आयोजित बैठकमा एसीयुका महासचिव फरहाद मोर्सली पावार्सीले
सन् २०२२ मा युनियनबाट भएका कामकारबाही सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । 

कार्यक्रममा गभर्नर अधिकारीले विश्व परिवेशमा देखिएको भू–राजनीतिक उतारचढाव र मुल्यवृद्धिका बाबजुद नेपालको आर्थिक तथा
वित्तीय स्थिति सन्तोषजनक रहेको जानकारी दिए । सो अवसरमा गभर्नर अधिकारीले एसीयुले सदस्य राष्ट्रहरूबीचको व्यापारलाई सहजीकरण गर्ने, मौद्रिक तथा प्राविधिक सहयोगलाई बढावा दिने र विद्यमान संयन्त्रलाई थप व्यवस्थित बनाउनेविश्वास व्यक्त गरेका थिए।

उक्त बैठकमा युनियनमा आबद्ध अन्य केन्द्रीय बैंकका पदाधिकारीले समेत आ–आफ्नो तर्फबाट मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको दोस्रो सत्रमा सहभागी मुलुकका विद्यमान भुक्तानी संयन्त्रमाथि छलफल भएको थियो ।

सो अवसरमा गभर्नर अधिकारीले नेपालको भुक्तानी प्रणालीमा भएको विकासबारे चर्चा गर्दै प्रणालीका नीतिगत र संस्थागत व्यवस्थाका बारेमा सङ्क्षिप्त जानकारी दिएका थिए ।

उनले नेपालको एनपीआई र भारतको युपीआईबीच अन्तरआबद्घताले दुई देशबीचको भुक्तानी कारोबारमा सहजता ल्याउने विश्वास
व्यक्त गरे । गभर्नर अधिकारीसँग विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक निश्चल अधिकारीसमेत बैठकमा सहभागी थिए । 

एसीयुमा बङ्गलादेश, बेलारुस, भुटान, भारत, इरान, मौरिसस, माल्दीभ्स, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी ११ मुलुकका
केन्द्रीय बैंकहरू आबद्ध छन् । सदस्य मुलुकबीच अन्तरदेशीय भुक्तानी कारोबारलाई व्यवस्थित र सहजीकरण गर्ने उद्देश्यका साथ सन् १९७४ डिसेम्बरमा युनियनको स्थापना भएको थियो । युनियनको सचिवालय इरानको तेहरानमा छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार