रिलायबल नेपालको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, महंगो प्रिमियमका कारण १.३६ गुणा बढि आवेदन
- BFIS News
- 2023 Aug Fri 05:50
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आइपिओमा माग भन्दा बढि आवेदन परे सँगै आजदेखि बिक्री बन्द हुने भएको छ । सिडिएससीका अनुसार कम्पनीको प्राथमिक शेयरमा १० लाख ८२ हजारले एक करोड ३० लाख कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले सर्वसाधारणका लागि ९६ लाख कित्ता शेयर निष्काशन गरेको थियो । हालसम्म तीन अर्ब ३५ करोड रुपैयाँको आवेदन परेको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गरेको हो । इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर वैदेशिक रोजगारमा गएका नेपालीका लागि बाँडफाँट गरिसकेको छ।
त्यसैगरी, कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि (प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले) छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ। इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक वित्तीय संस्थाका साथै मेरो शेयरको अनलाइन एप्लिकेसनबाट पनि आवेदन दिन सक्ने छन् । यस भन्दा अगाडी १२ लाख भन्दा भन्दा धेरैको आवेदन पर्दै आएकोले कम्पनीको शेयरमा १० कित्ता भन्दा बढिको आवेदन दिए पुग्छ ।
प्रतिक्रिया