Nepal Life

कृषि कर्जा अनुदान दुरुपयोग नभएको गभर्नरको दाबी, सवा लाख बढीले लिए कर्जा

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Sun 05:06
कृषि कर्जा अनुदान दुरुपयोग नभएको गभर्नरको दाबी, सवा लाख बढीले लिए कर्जा
Sanima Reliance

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यावसायिक कृषि कर्जामा उपलब्ध गराइने कृषि कर्जा ब्याज अनुदानको रकम दुरुपयोग नभएको दाबी गरेका छन्।

NIMB

शनिबार आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३औं वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले कृषि कर्जाको ब्याजदरमा दिइएको अनुदान हालसम्म दुरुपयोग भएको नदेखिएको बताएका हुन्।

केही व्यक्तिबाट दुरुपयोग भएको देखिएकामा असुली प्रक्रिया थालिएको उनको भनाइ छ। ‘कृषि कर्जाको अनुदान दुरुपयोग भएको भन्ने सतही कुरा हुन्। यो सफल कार्यक्रम देखिएको छ र अनुदानको प्रभावकारिता राम्रो छ’, गभर्नर अधिकारीले भने, ‘हाम्रो अध्ययनका क्रममा निकै सानो संख्यामा मात्रै यस्तो कर्जा दुरुपयोग भएको देखिएको छ। यसलाई असुल गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ।’

सरकारको योजनाअनुसार अर्थ मन्त्रालयले युवालाई व्यावसायिक कृषि कर्जामा प्रदान गर्ने ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार पारेर कार्यविधिअनुसार नै अनुदान उपलब्ध गराइएको गभर्नर अधिकारीले दाबी गरे।

हालसम्म १ लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएको जनाउँदै त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा साना किसान रहेको उनले बताए। यो कार्यक्रम विवादमा परेपछि २०७९ असोजयता अनुदान नदिइएको उनले स्पष्ट पारे।

उद्यमशीलता विकास एवं रोजगारी सिर्जना र वित्तीय पहुँच तथा साक्षारता विस्तारका लागि साना किसान विकास लघुवित्त र साना किसान सहकारीले महत्वपूर्ण भूमिका खेलेको पनि गभर्नर अधिकारीले बताए।

पछिल्लो समय सहकारी क्षेत्रमा समस्या देखिन थाले पनि साना किसान सहकारी संस्थामा यस्तो समस्या नआएको उनको भनाइ छ। विगतमा कृषि कर्मलाई हेला गर्ने समाजले अहिले सम्मान गर्ने अवस्था आएको पनि गभर्नर अधिकारीले उल्लेख गरे।

राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कृषि कर्जामा दिइएको अनुदान दुरुपयोग भएको धारणा व्यक्त गरे।नीतिगत स्थायित्व अभावमा निजी क्षेत्रको मनोबल खस्किँदै गएकाले उनीहरुले लगानी गर्न नचाहेको उनले बताए।

साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिवरामप्रसाद कोइरालाले सरल कर्जा प्रवाहमार्फत युवा उद्यमशीलता विकास, समावेशी वित्तीय पहुँच विस्तारमा संस्थाले महत्वपूर्ण भूमिका खेलेको जनाए।

साना किसान लघुवित्तबाट कर्जा पाएकामध्ये ७९ प्रतिशतभन्दा बढी महिला रहेको बताउँदै कार्यकारी अधिकृत कोइरालाले देशभरका पाँच सय ५० स्थानीय तहमा साना किसान लघुवित्तको सेवा पुगिसकेको जानकारी दिए।

हाल साना किसानले ११ लाखभन्दा बढी परिवारका ४५ लाख जनसंख्यालाई सेवा दिइरहेको उनले बताए।  कृषि प्रविधि सिक्ने युवालाई इजरायल पठाइएको र उनीहरु स्वदेश फर्किएर कृषि कर्ममा लागेको उनको भनाइ छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया