Nepal Life

नेपालमा तीन दशकको बुलिस र वियरिस ट्रेण्ड: पाचौ बुलको प्रारम्भिक चरणमा रहेको नेप्सेको यात्रा कतिसम्म?

Global Ime detail Page
  • अरुण सापकोटा
  • 2024 Aug Mon 14:12
नेपालमा तीन दशकको बुलिस र वियरिस ट्रेण्ड: पाचौ बुलको प्रारम्भिक चरणमा रहेको नेप्सेको यात्रा कतिसम्म?
Sanima Reliance

काठमाडौं । नेपालको शेयर बजारले तीन दशक पार गर्दा पाँचौ बुलको सामना गरिरहेको छ । अहिलेसम्मको अनुभवमा हरेक बुलिस ट्रेण्ड चरम आर्थिक मन्दी तथा समस्यालाई पार गर्दै माथि उड्ने क्रममा सुरु हुने गरेको छ । यस पटकको बुल पनि आर्थिक मन्दीबाट थिलिएको अर्थतन्त्रलाई कन्फिडेन्स दिने चरणमा छ ।

NIMB

करिव ४० महिनासम्मको वियरिस सक्काएर गएको ५ महिनादेखि शेयर बजारमा लगातार सुधार भइरहेको छ । यस अवधिमा शेयर बजार १८२६ अंकबाट ३ हजार पुगिसकेको छ । बिहीबार ३४ अंकको करेक्सनमा पनि २८ अर्ब ८३ करोडको कारोबार भयो । गएको बुलको सर्वाधिक कारोबारलाई तोडिसकेको छ । गएको बुलमा २१ अर्बसम्म कारोबार भएकोमा यस पटक २९ अर्ब रुपैयाँ अहिले नै भइसकेको छ । जवकी शेयर बजारले अघिल्लो बुलको अधिकतम विन्दुलाई छुन बाँकी छ ।

बजार विश्लेषकहरुले जवसम्म शेयर बजारले ३२ सय अंक पार गर्दैन तवसम्म बजार बुलिस ट्रेण्डमा गएको भन्न नसकिने तर्क गरिरहेका छन् । अर्को तर्फ केहि विश्लेषकहरु बजार सर्वाधिक तल्लो विन्दुबाट ११ सय ५० अंक भन्दा माथि गइसकेको हुँदा ट्रेण्डमा रहेको बुझ्नु पर्ने बताउछन् ।  

पहिलो बुल (July 1997 to Nov 2000)

नेपालको शेयर बजारमा पहिलो बुल १९९७ देखि २००० को अवधिलाई मानिन्छ । जतिवेला नेप्से सूचक १०० बाट ५४५ अंकसम्म पुग्यो । करिव ४० महिनाको अवधिमा नेप्से सूचक ३४५ अंकले बढेको थियो । जतिवेला नेपालको अर्थतन्त्रमा गार्मेन्ट उद्योगको सबैभन्दा ठुलो योगदान थियो । नेपालले ठुलो परिणाममा गार्मेन्ट उत्पादन निर्यात गर्थ्यो । जतिवेला उद्योगी व्यवसायीदेखि लिएर कामदारको हात हातमा पैसा हुँदा पहिलो बुल आएको बजार विश्लेषक निरञ्जन टिवरेवालाको अनुभव छ । यतिवेला शेयर बजारका कतिपय संरचनात्मक परिवर्तन पनि भए ।

पहिलो वियर (Nov 2000 to Apr 2004)

पहिलो बुल बुलको अवधि जति थियो बियरको अवधि पनि बराबर नै रह्यो । माओवादी द्वन्द पछि मुलुक गृह युद्धमा फस्यो । माओवादीले गार्मेन्ट उद्योगमा आक्रमण गर्न थाले । जसले गर्दा क्रमश उद्योग बन्द हुँदै गयो । यतिमात्रै होइन विदेशीहरुले पनि नेपालको उत्पादन खरिद गर्न छाडिदिए । यति नै बेला नेपालको बजार बंगलादेशले लियो । मुलुकको आर्थिक बृद्धिदर ऋणात्मक भयो । देशमा संकटकाल घोषणा भयो । ठुला ठुला युद्ध तथा आन्दोलन भयो । फलस्वरुप बजार ५४५ अंकबाट १९५ अंकसम्म झर्यो ।

दोस्रो बुल (Apr 2004 to Aug 2008)

दोस्रो बुलको सुरुवात माओवादी द्वन्द समाप्त भएर मुलुक शान्ति प्रकृयाँमा अगाडी बढेपछि सुरु भएको पाइन्छ । यो बुल करिव ५२ महिनासम्म चल्यो । यस अवधिमा नेप्से सूचक १९५ बाट ११७५ अंकसम्म पुग्यो । यसरी दोस्रो बुलमा नेप्से सूचक ५०२ प्रतिशतसम्मले बृद्धि भयो । बजारमा बुलको आउनुको प्रमुख कारण थियो मुलुक शान्ति प्रकृयाँबाट बाहिर आउदै गर्दा तत्कालिन द्वन्दरत माओवादीले युद्धमा लुटेको पैसा बाहिर आयो । साथ साथै मानिसहरु गाउँबाट सहर छिर्ने क्रम बढ्यो । यसले घरजग्गाको मूल्यमा आगो बल्यो । द्वन्दका कारण विदेशिएका नेपालीहरुले पनि रेमिट्यान्स पठाउन थाले । यसले गर्दा बजारमा प्रयाप्त तरलता आयो र शेयर बजारमा एकाएक चकम बढ्यो ।

दोस्रो वियर (Aug 2008 to Apr 2012)

दोस्रो बुललाई हेरेर तत्कालिन अर्थमन्त्री डा. बाबुराम भट्टराईले शेयर बजारलाई जुवाघरको संज्ञा दिए । यस पछि शेयर बजारमा पहिरो गयो । उनको यहि अभिव्यक्तिले शेयर बजार ११७५ अंकबाट ३०० अंकसम्म तल झर्यो । करिव ४२ महिना लामो वियरिस ट्रेण्डमा लगानीकर्ताले आत्महत्या गर्नेसम्मका घटना भए । डा. बाबुराम भट्टराईको अभिव्यक्तिले बजार घटे पनि वास्तवमा तत्कालिन समयमा आर्थिक मन्दीको प्रभाव थियो । बैंकिङ तरलता कमजोर हुँदै जादा बैंक व्याजदर पनि बढ्न थाल्यो । अस्थिर राजनीति लगायतका कारणले बजारमा ठुलै पहिरो गयो ।

तेस्रो बुल (Apr 2012 to July 2016)

तेस्रो बुलको सुरुवात भने २०६८ सालदेखि सुरु भयो । बाबुरामको ह्याङ ओभर सकिए सँगै बजारमा केहि सुधार हुन थालेको थियो । यो बुल करिव ५० महिनासम्म रह्यो । बजारमा करेक्सन तथा सुधारको संयोजनले काम गर्यो । यो बुलमा राजनीतिक परिवर्तन पहिलो कारण थियो । दोस्रो कारण नेपाल राष्ट्र बैंक तथा बीमा समितिको पूँजी बृद्धि योजना थियो भने अर्को कारण भुकम्प पछिको पुनरनिर्माणका लागि भित्रिएको ठुलो कोष अर्को कारण थियो । भुकम्प पछि बैंकहरुमा तरलता थुप्रियो यसले गर्दा शेयर बजारमा ठुलो पैसा आयो । यो बुल ३०० अंकबाट १८८२ अंकसम्म पुग्यो । यो बुलका पछाडी अर्को प्रमुख कारण थियो, सिडिएससीले कम्पनीको शेयरलाई अभौतिकीकरण गर्दै गर्दा बजारमा सप्लाइ रोकियो । यहि क्रममा कम्पनीहरुको हकप्रद तथा बोनसशेयरको बहारले बजार नसोचिएको हिसावले अगाडी बढ्यो ।

तेस्रो वियर (July 2016 to Mar 2019)

जुन जुन कारणले बजार बढेको थियो ति ति कारण सकिए सँगै बजार घट्न थाल्यो । भुकम्प पछिको पुनरनिर्माणका कारण बैंकिङ तरलता घट्न थाल्यो । व्याजदर बढ्न थाल्यो । यस वियरिसको ठुलो दोष भने तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले बेहोर्नु पर्यो । उनले शेयर बजारलाई अनुत्पादनमुलक क्षेत्रको रुपमा चित्रण गर्दै यस्ता क्षेत्रमा प्रवाह हुने कर्जालाई उत्पादनमुलक क्षेत्रमा जानु पर्ने बताए । उनको यहि भनाइलाई आधार मान्दै लगानीकर्ताले चर्को विरोध जनाए । उनले यसो भन्दै गर्दा बैंकिङ तरलता एकदमै टाइट हुँदै थियो । व्याजर बढ्दो क्रममा थियो । जुन विषय अर्थमन्त्री खतिवडाको बस भन्दा पनि बाहिर थियो । बजार ४२ महिनाको अवधिमा १८८२ अंकबाट ११०० अंकसम्म तल झर्यो ।

चौथो बुल (2019 to Aug 2021)

चौथो बुलको प्रमुख कारण थियो कोभिड १९ । सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि प्रतिवन्ध तथा लकडाउन गर्यो । आर्थिक गतिविधि ठप्प भयो । तर बजार भने बढ्न थाल्यो । कोभिड १९ को समयमा लगानीकर्ताले टिएमएस मार्फत घर घरमै बसेर लगानी गर्न थाले । जसले गर्दा बजार ११०० को विन्दुबाट बढेर ३२ सय अंकसम्म पुग्यो । यस अवधिमा नेप्से सूचक १९३ अंकले बढ्यो । आर्थिक गतिविधि ठप्प हुँदा व्याजदर घट्न थाल्यो । यसले गर्दा बजारमा अझ धेरै पैसा आयो । यो बुलमा सबैभन्दा धेरै जलविद्युत क्षेत्रका लगानीकर्ताले पैसा कमाए । यतिमात्रै होइन जलविद्युत कम्पनीका संस्थापकले शेयर बिक्री गरेर आफ्नो लगानीमात्रै फिर्ता लगेनन् अरु आयोजना बनाउनेसम्मको क्षमता निर्माण गरे ।

चौथो वियर (Aug 2021 to Apr 2024)

चौथो वियरको कारण थियो आर्थिक मन्दी  । कोभिड १९ पछि नेपालमा मात्रै होइन विश्वस्तरमै आर्थिक मन्दीले व्यापक असर गर्यो । अर्थतन्त्रको चक्र तोडियो । बैंकहरुले कर्जा उठाउन सकेनन् । घरजग्गा कारोबारमा पनि सुस्तता आयो । यसले गर्दा शेयर बजार ३२ सय अंकबाट १८२६ अंकसम्म तल झर्यो । यस अवधिमा ४२ प्रतिशतले बजार तल झर्यो । यो डाउन यस भन्दा अगाडीको वियरिस ट्रेण्डमा पनि यति नै थियो ।

पाचौ बुल (Apr 2024 to…......)

शेयर बजारमा पाचौ बुल चलिरहेको छ । विगत ५ महिनादेखि बजारमा लगातार सुधार आइरहेको छ । यो बुलको सुरुवात भने राजनीतिक परिवर्तनका कारण छिटै आएको विश्लेषण गरिन्छ । शेयर बजारले रुचाइएका अर्थमन्त्री विष्णु प्रसाद पौडेलको आगमन सँगै बजारमा रौनकता छाए हो । यो बुलमा पनि सदाझै बैंकिङ तरलता प्राप्त छ । व्याजदर घट्दो क्रममा छ । यो बुल ३० महिनाको लगातार गिरावट पछि सुरुवात भएको हो ।

विश्लेषण

अहिलेसम्ममा शेयर बजार ६४ प्रतिशतले सुधार भइसकेको छ । यस भन्दा अगाडिको बुलमा तल्लो विन्दुबाट १९३ प्रतिशतले बढेको थियो । यहि बृद्धिदर रहदा पनि नेप्से सूचक ५३५० अंकसम्म पुग्नेछ । तर अहिले नै यो सूचकमा पुग्न सक्ने देखिदैन । अघिल्ला बुलहरुको जति नै समय रहेता पनि अझै एक दुई वर्ष रहनेछ । यसका लागि बजारमा करेक्सन आवश्यक छ । जति धेरै करेक्सन हुन्छ बुलिस ट्रेण्डको अवधि पनि लम्बिने छ । अर्को चुनाव नभएसम्म वा राजनीतिक घटनाक्रममा परिवर्तन नभएसम्म लगानीकर्ताको कन्फिडेन्स उच्च रहने देखिन्छ । अर्को तर्फ बुलिस ट्रेण्ड जति लामो समय रहन्छ बजार त्यति नै माथि पुग्ने सम्भावना रहन्छ ।

अहिले बैंकको व्याजदर निकै तल छ साथै बैंकिङ तरलता पनि अधिक छ । जव बजारमा कर्जाको माग बढ्दै जानेछ तव मात्रै शेयर बजारको ओरालो यात्रा सुरु हुनेछ । घरजग्गामा लगभग मन्दिकै अवस्था छ । घरजग्गामा रौनक आउन अझै दुई वर्ष कुर्नु पर्ने विश्लेषकहरु बताउछन् । यसले गर्दा अवको दुई वर्षसम्म शेयर बजारमा लगानी गर्न डराउनु पर्ने अवस्था नहुने विश्लेषकहरु बताउछन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया