दोस्रो बजारमा जस्तै प्राथमिक बजारमा कम्पनी छान्नु पर्ने दिन आयो, आइपिओ सम्बन्धी शिक्षा आवस्यक
- नबराज दाहाल
- 2023 Aug Thu 13:06
काठमाडौं । धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० मा कुनै पनि कम्पनीले स्थापनाको पहिलो वर्षमै प्राथमिक शेयर निष्काशन गर्न पाउने व्यवस्थाले शेयर बजारमा सहजता र असहजता दुबै सिर्जना गर्छ ।
मानौ कसैले एउटा राम्रो अवधारणा सहित कम्पनी खोल्यो । उसलाई ८० करोड रुपैयाँ आवस्यक पर्छ । मानौ उ सँग ६० करोड मात्रै छ र बाँकी २० करोड रुपैयाँ पुगेन र धेरै तिर माग्दा पनि नपाइए पछि कम्पनीलाई अगाडी बढाउन नसक्ने अवस्था आयो । यस्तो अवस्थामा प्राथमिक शेयर निष्काशन गरेर जुटाउछु भन्दै गर्दा व्यवसायीका लागि यसले जहजिकरणको काम गर्ने भयो । यदि उसले बजारबाट २० करोड जुटाउन पायो भने राम्रो काम गरेर अर्को वर्ष एक अर्बको बनाउन सक्छ ।
कम्पनीको प्रगति विवरण हेर्दा काम गर्न सक्ने सम्भावना बोकेको छ भने यो व्यवस्था उसका लागि राम्रो सहयोग गर्ने भयो । अर्को तर्फ अलि अलि आफैले पूँजी जुटाउने अनि केहि पूँजी बजारबाट उठाएर अन्तै लगानी गर्ने अवस्था बन्यो भने शेयर बजारका लागि घातक हुन्छ । प्राथमिक शेयर निष्काशन गरेको अर्को वर्षदेखि लगातार घाटामा गएको देखाएर डुब्ने अवस्था पनि आउन सक्छ । यसरी सर्वसाधारणको पूँजी बटुलेर जोखिममा पार्ने सम्भावना पनि उत्तीकै हुन्छ ।
यसमा सकारात्मक नकारात्मक दुबै पक्ष देखिन्छ । धितोपत्र बोर्डले नियमावली संबोधन गरेर ल्याउनु गलत होइन । तर धितोपत्र बोर्डले सर्वसाधारण लगानीकर्तालाई आइपिओ सम्बन्धी शेयर शिक्षा भने प्रयाप्त दिनु पर्छ । आइपिओ भनेपछि भरिहाल्ने अहिलेको वातावरणलाई परिवर्तन गर्नु पर्छ ।
प्रिमियममा आइपिओ खरिद गर्दै गर्दा त्यसले भोलिका दिनमा के कति प्रतिफल दिन्छ सबै हेर्नु पर्छ । आजसम्म दोस्रो बजारमा शेयर खरिद गर्ने हरेक कुरालाई सोचेर खरिद गर्नु पर्थ्यो भने अवदेखि प्राथमिक बजारमा आइपिओ खरिद गर्दा पनि धेरै कुराहरुलाई सोचेर खरिद गर्नु पर्छ ।
धितोपत्र बोर्डको यस्तो व्यवस्थाले सबैभन्दा धेरै जोखिमको भार लगानीकर्तालाई हुन्छ । धितोपत्र बोर्डले नियम संशोधन गर्दै गर्दा नियममै बसेर प्राथमिक शेयर निष्काशनको अनुमति देला तर लगानीकर्ताले त्यो कम्पनी कस्तो छ, कुन रुपमा आएको छ, भोलिका दिनमा त्यसको व्यवसायको प्रकृति के कस्तो छ, उसको दीगोपना के कस्तो, त्यसमा लगानी गर्ने संस्थापक लगानीकर्ता को छन् यि यस्तै यावत कुराहरु हेरेर मात्रै लगानी गर्नु पर्ने अवस्था आएको छ ।
आइपिओ भनेपछि स्वाट्टै भरिहाल्ने अवस्था अव हुँदैन । यस्तोमा शेयर प्रत्याभुतकर्ताले अलि बढि चलाखी गरिदिन सक्छन् । धितोपत्र बोर्डले प्राथमिक शेयर निष्काशनको अनुमति दिने बेलामा सबैभन्दा धेरै अण्डराइटरको प्रतिवेदनलाई हेरेको हुन्छ । उनिहरुले भोलिका दिनमा शेयर बिक्री भएन भने भोलिका दिनमा म जिम्मेवारी लिन्छु भनेका हुन्छन् । त्यसैले उनिहरुले कम्पनीको रेटिङ, हेरेर, स्थलगत निरिक्षण गरेर, कसैबाट प्रभावित नभइ निर्णय गर्नु पर्छ ।
यदि धितोपत्र बोर्डले अण्डराइटिङलाई कडाइ नगरी प्राथमिक शेयर निष्काशनको अनुमति दिदै गयो भने भोलिका दिनमा आम सर्वसाधारण लगानीकर्ता फस्ने अवस्था आउछ ।
यस्तो चुनौतीहरुका बाबुजद पनि शेयर बजारमा राम्रा राम्रा कम्पनीहरु आउने वातावरण बन्छ । यस्ता कम्पनी आउदै गर्दा दोस्रो बजार पनि थप चलायमान हुन्छ । यसले दोस्रो बजारलाई पनि राम्रो सुधार गर्ने भएकाले भोलिका दिनमा राम्रा कम्पनीको प्राथमिक शेयर सहजै बिक्री हुने अवस्था पनि आउछ । तर जस्ता सुकै कम्पनीहरुलाई प्राथमिक शेयर निष्काशन गर्न दिने र भोलिका दिनमा ति कम्पनी डुबे पछि अरु राम्रा कम्पनीहरुको प्राथमिक शेयरमा आवेदन नै नपर्ने अवस्था आउन दिनु हुँदैन ।
त्यसैले अहिले दोस्रो बजारमा कम्पनीहरु जसरी छानिन्छन् त्यसरी नै प्राथमिक बजारमा कम्पनीहरु छानिनु पर्छ । अव प्रथामिक बजारका लगानीकर्ताले कम्पनी छानेर भर्नु पर्छ । प्रिमियममा शेयर जारी गर्ने प्रकृयाँमा जटिलता रहेकाले जस्ता सुकै कम्पनीले प्रिमियममा शेयर जारी गर्न सक्ने अवस्था छैन ।
सँग सँगै बजारमा नाम चलेका रिनाउन्स कम्पनीहरुले प्रिमियममा शेयर जारी गर्न सक्ने अवस्था छैन । उनिहरुको नेटवर्थ ४/५ सय रुपैयाँ छ । यति धेरै नेटवर्थ भएका कम्पनीले आधार मूल्यमा शेयर बिक्री गर्न चाहदैनन् । अहिले सबैभन्दा कमजोर कम्पनीले पनि एक सय रुपैयाँमै शेयर बिक्री गरिरहेको छ भने राम्रो नेटवर्थ भएका कम्पनीहरुले पनि एक सय रुपैयाँमै शेयर बिक्री गर्नु पर्ने अवस्था आए पछि उनिहरुले प्राथमिक शेयर निष्काशन गर्नै चाहेका छैनन् ।
सर्वोत्तमको लफडा पछि निजी क्षेत्रका राम्रा बलिया कम्पनी शेयर बजारमा आउनै चाहेका छैनन् । यदि केहि राम्रा राम्रा कम्पनीहरुले प्रिमियममा शेयर जारी गरेर धेरै प्रतिफल दिएको देखियो भने अरु कम्पनीहरुलाई पनि प्राथमिक बजारमा प्रोत्साहित गर्नेछ ।
जति धेरै कम्पनीहरुको दोस्रो बजारमा सूचिकृत हुन्छ त्यति नै शेयर बजारमा रौनकता छाउछ । त्यसैले नीजि क्षेत्र आआइकन अहिलेका जलविद्युत कम्पनीको मात्रै आगमनले शेयर बजार राम्रो हुनेवाला छैन । यसका लागि दोस्रो बजारमा राम्रा राम्रा कम्पनीहरुलाई भित्र्याउनु पर्छ । राम्रा कम्पनीको शेयर पर्चेज गर्ने वातावरण बनाउनका लागि जसरी ब्रोकरहरु बढाइयो त्यसै गरी संस्थागत अभिकर्ताको संख्या बढाउदै लैजानु पर्छ । साना लगानीकर्ताले एक दुई हजार कित्ता शेयर खरिद गरेर बजार चल्नेवाला छैन ।
प्रतिक्रिया