Nepal Life

अल्पकालिन लगानीकर्ता हाबी हुँदा बजारमा चाहिने भन्दा धेरै करेक्सन, ‘आक्रामक इन्भेष्टर घट्दो क्रमको तल्लो विन्दु कुर्दै’

Global Ime detail Page
  • अरुण सापकोटा
  • 2024 Aug Sat 11:51
अल्पकालिन लगानीकर्ता हाबी हुँदा बजारमा चाहिने भन्दा धेरै करेक्सन, ‘आक्रामक इन्भेष्टर घट्दो क्रमको तल्लो विन्दु कुर्दै’
Sanima Reliance

काठमाडौं । नेपालको शेयर बजारले तीन दशक पार गरिसकेको छ । यस अवधिमा लगानीकर्ताहरुका धेरै भोगाइहरुको संगालो बनिसकेको छ । हरेक लगानीकर्ताका आ-आफ्नै अनुभव छन् । तर बजारका जस्ता सुकै मै हु भन्नेहरु पनि कहिले काँही मात खान्छन् ।

पछिल्लो ५ महिनामा शेयर बजारमा झण्डै एक हजार अंकको सुधार भयो । तीन वर्षसम्म १८ सयदेखि २२ सयको विचमा घुमिरहेको शेयर बजारले २२ सयको अवरोध विन्दुलाई तोडेर ३ हजार अंकसम्मको यात्रा तय गर्यो । सूचक मात्रै बढेन कारोबार रकमले पनि ऐतिहासिक रेकर्ड तोड्यो ।

केहि सेक्टरका लगानीकर्ताले गएकै वर्षमा राम्रो पैसा कमाइसकेका थिए । जतिवेलादेखि बजारमा एक किसिमका अल्पकालिन लगानीकर्ता हाबी हुन सुरु भइसकेको थियो । शेयर बजारमा एकदमै धेरै कारोबार गर्ने तथा ठुला भनिएका लगानीकर्ताले आ-आफ्नै ब्रोकर सञ्चालन गरे । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स जारी गर्दा यसमा बैंक वित्तीय संस्था र केहि संस्थागत लगानीकर्ता बाहेक सबै ब्रोकर ठुला लगानीकर्ताको हातमा छन् ।

हिजोका दिनमै कुल कारोबारको ४० प्रतिशत हिस्सा ब्रोकरकै हुन्छ भनिन्थ्यो । अहिले त्यो हिस्सा बढेको छ । नयाँ आएका ब्रोकर मध्ये ज-जसको कारोबार राम्रो छ उनिहरु हिजोका दिनका सबैभन्दा ठुला र पेशेवर लगानीकर्ता थिए । जसले न्युनतम चुक्ता पूँजी २० करोड जुटाएर ब्रोकर सञ्चालन गरेका छन् । यो रकम पनि अहिले शेयर बजारमै छ । ९२ वटा ब्रोकर, दुई वटा स्टक डिलर, बीमा कम्पनी र संस्थागत लगानीकर्ताहरुले अर्बौ रुपैयाँ अहिले शेयर बजारमा ल्याएका छन् ।

यसले गर्दा पनि दोस्रो बजारमा झण्डै तीन अर्ब रुपैयाँको कारोबार हुने अवस्था आएको बजार विश्लेषक छोटेलाल रौनियार बताउछन् । यसैको जगमा अल्पकालिन लगानीकर्ता हाबी हुँदा बजारमा ठुलो उतारचढाव आइरहेको उनको भनाइ छ । उनले भने ‘ब्रोकर आफै ट्रेडर हुन् । बजारमा ट्रेडर मात्रै हाबी हुँदा दीर्घकालिन र मध्यमकालिन लगानीकर्ता ओझेलमा परिरहेका छन् ।’

ब्रोकरले खरिद र बिक्री दुबैमा फाइदा पाउने भएकाले उनिहरु यसैमा इन्जोय गरिरहेको उनको विश्लेषण छ । उनले थपे ‘अनलाइनबाट कारोबार हुने भए पनि नयाँ नयाँ लगानीकर्ताहरु ब्रोकर कार्यालयमै जान्छन् । तर त्याहीबाट टिएमएस ह्याण्डल गरिरहेका हुन्छन् । ब्रोकरलाई जति धेरै कारोबार रकम बढ्यो त्यति धेरै फाइदा । यहि कारणले गर्दा मैले ब्रोकर कमिशनमा ‘वन वे ट्राफिकिङ’ गर्नु पर्छ भनेको हो ।’

शेयर बजार एकोहोरो बढिरहदा झन् डरलाग्दो स्थिति आउन सक्ने भएकाले बजारमा करेक्नस आवश्यक रहेको स्टक ब्रोकर एसोसिसएन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाको तर्क छ । उनि भन्छन् ‘बजार बढ्न नरोकिएको भए झन् डरलाग्दो स्थिति हुनसक्थ्यो । साना साना करेक्सन हुँदै अगाडी बढ्यो भने बजार परिपक्व हुन्छ ।’

उनका अनुसार बजारमा नियमित रुपमा सुधार हुँदै गर्दा समय समयमा करेक्सन आवश्यक हुन्छ । तर यस पटक बजार जसरी उकालो लाग्यो त्यसरी नै तल झर्दा लगानीकर्ताहरु आत्तीएका छन् । उनि भन्छन् ‘करेक्सन नआइरहेको अवस्थामा करेक्सन आउनु स्वभाविक थियो । तर करेक्सन हुँदै गर्दा हुनु पर्ने भन्दा अलि बढि नै भइरहेको हो कि भन्ने देखिएको छ ।’

अध्यक्ष सापकोटाको विश्लेषण पनि बजार विश्लेषक रौनियारकै जस्तो छ । उनि भन्छन् ‘यसको कारण बजारमा ट्रेडर हाबी भएर हो । यदि हाम्रो बजारमा ट्रेडर र इन्भेष्टरको सन्तुलन हुन्थ्यो भने यस्तो करेक्सन अलि अगाडीनै आउथ्यो अथवा प्यानिक तरिकाको करेक्सन आउदैन थियो ।’  

नेपालको शेयर बजारमा यस्ता ट्रेडर छन् जसले आफ्नो क्षमता भन्दा धेरै ऋण लिएर कारोबार गर्छन् । कमाइ हुन्छ भन्दै ठुलो संख्यामा शेयर खरिद गर्छन् । जव बजार तल झर्न थाल्छ त्यस पछि घटाएर शेयर बिक्री गर्न हतारिन्छन् । सापकोटा भन्छन् ‘क्षमता राम्रो भएकाहरु आत्तीदैनन् तर क्षमता भन्दा धेरै कारोबार गर्नेहरु आत्तीने ठाउँमा आत्तीन्छन् र मात्तीने ठाउमा मात्तीन्छन् । बढेको बेलामा मात्तीएर माथि माथि पुगेरै खरिद गरिदिन्छन् । यसले गर्दा बजारलाई अनावश्यक रुपमा बढाउछन् । अलिकति करेक्सन आउने वित्तीकै चाहिने भन्दा धेरै आत्तीन्छन् ।’

त्यसैले बजारमा धर्यता चाहिने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउछन् । बढ्दा आत्तीएर पाइदैन कि जसरी खरिद गर्न खोज्ने अनि घट्दा अव बजार नै रहदैन कि जसरी बिक्री गर्ने मनोविज्ञानले बजारमा अस्थिरता ल्याउने उनको तर्क छ । यसले गर्दा बजारमा लगानीकर्ताको परिपक्वता आवश्यक रहेको उनको विश्लेषण छ ।

लगानीकर्ताहरुले भनेजस्तो जस्तोसुकै परिपक्वता अपनाउछु भन्दै गर्दा पनि बजारमा सबै जना पैसा कमाउने भनेरै आउने हुँदा कसैले पनि गुमाउन चाहदैनन् । जसले गर्दा लगानीकर्तामा एक किसिमको आक्रमकता देखिएको छ । यहि कारणले पनि बजारमा धेरै सुधार सँगै धेरै करेक्सन भएको हो । तर यो भनेको लगानीकर्ताका लागि अवसर पनि हो । जसले नाफा बुक गर्न जान्दछ उसले यस्तो बजारमा राम्रो पैसा कमाउन पनि सक्छ ।

के होला बजार

करेक्सन हुँदै गर्दा आत्तीनु पर्ने अवस्था नआएको ब्रोकर एसोसिएसनका अध्यक्ष सापकोटा बताउछन् । बजार बढ्दो ट्रेण्डमा रहेको हुँदा पहिलाकै अवस्थामा आउने गरि नघट्ने उनको विश्लेषण छ । ट्रेडर हाबी भएको बजारमा करेक्सन आउदा आत्तीन नहुने रौनियार बताउछन् । तर सुझबुझका साथ लगानी गर्नु पर्ने फोरमका अध्यक्ष ढकालको सुझाव छ ।

विगतको दुई वटा बुलमा अहिलेकै राजनीतिक समिकरण थियो । विगत चार वटा बुललाई नजिकबाट नियालेका रौनियारले अहिलेको जस्तो स्ट्रङ अवस्था कहिल्यै पनि देखेका थिएनन् । अहिले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नर एउटै धारका छन् । बजारका लागि चाहिने भनेको सकारात्मक वातावरण हो । जुन वातावरण अहिले छ । यहि कारणले पनि बजार बढेको हुँदा यहि संरचनाकै बखतमा ३२ सयको बुललाई तोडेर बजार अगाडी बढ्ने रौनियारको विश्लेषण छ ।

अर्को पाटो कोभिड १९ पछि थिलिएको अर्थतन्त्रका सूचकहरु क्रमिक रुपमा सुधार भइरहेको छ । बैंक सँग लगानी गर्ने फण्ड प्रयाप्त मात्रामा छ । बैंकमा तरलता बढेर कहाँ लगानी गर्ने भन्ने अवस्था छ । अर्थतन्त्रका अन्य क्षेत्र खासै चलायमान नभएको स्थितिमा शेयर बजारमै बढि आकर्षण हुने सापकोटाको विश्लेषण छ ।

यसको पृष्ठभुमीमा स्थिर सरकार छ । अवको दुई वर्ष यहि सरकार रहने र बाँकी एक वर्ष नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार बन्ने अहिलेको राजनीतिक समिकरणको सहमति छ । विगतका दुई वर्षमा छिटो अर्थमन्त्री फेरिने वातावरणबाट लगानीकर्ताले रुचाएका अर्थमन्त्री विष्णु प्रसाद पौडेल छन् । पौडेल विभिन्न कार्यक्रममा शेयर बजार सम्बन्धी सकारात्मक कुराहरु गर्दै हिडिरहेका छन् ।

विगत तीन वर्षदेखि निष्कृय अवस्थामा रहेका लगानीकर्ता मध्ये ६०/७० प्रतिशत लगानीकर्ता बजारमा फर्किसकेको एसोसिएसनका अध्यक्ष सापकोटाले जानकारी दिए । विद्यमान संस्थागत लगानीकर्ताले लगानी बढाइरहेका छन् भने दर्दा गरेर नयाँ नयाँ संस्थागत लगानीकर्ता आउने क्रम पनि बढिरहेको छ । तै पनि बैंकहरुले अझै शेयर खरिद बिक्री बढाउन सकेका छैनन् । यदि बैंकहरुले पनि लगानी बढाउन थाल्ने हो भने बजारले झन् नयाँ उचाइ बनाउने निश्चित छ । टिएमएस सञ्चालन गर्नेको संख्या बढ्नुले पनि बजार चलायमान रहेको र बजारले अझै गति लिने संकेत गरेको विश्लेषकहरु बताउछन् ।

विदेशबाट कारोबार गर्नेको संख्या बढिरहेको भनिरहदा कारोबारको ठुलो हिस्सा भने नेपाल भित्रै रहेको ब्रोकरहरु बताउछन् । बजार चलायमान हुँदा एउटै लगानीकर्ताले धेरै पटक खरिद बिक्री गरिरहेका हुन्छन् यसले गर्दा पनि कारोबार रकम बढ्न जान्छ ।

साना साना राजनीतिक घटनाक्रमले पनि बजारलाई ठुलो प्रभाव पार्ने गरेको देखिन्छ । केपि ओलीले गएको शुक्रवार होटल एभरेष्टमा लगानीकर्तालाई संबोधन गर्छु भनेका थिए तर गरेनन् । उनि आफैले म महिला प्रधानमन्त्री हेर्न चाहन्छु भनिदा आम मानिसहरुले अर्को अर्थ लगाइदिए । यहि क्रममा आरजु राणा भारत भ्रमण गएर आएको कारण अव सरकार परिवर्तन हुन थाल्यो कि क्या हो भन्ने संसयको अवस्था सिर्जना भएको छ । जवकी यि कुराहरुमा कुनै पनि घटनाक्रम विकास भएका छैनन् । केवल संकै संकामा अल्पकालिन लगानीकर्ताले नाफा बुक गर्ने तथा स्टप लस गर्ने प्रवृत्तीले पनि बजार माथि जाने नदिएको बजार विश्लेषक रौनियारको तर्क छ । उनले थपे ‘यस्ता अन्योलतालाई लगानीकर्ताले रुचाउदैन । नयाँ नयाँ लगानीकर्ता डराउछन् ।’

जव यि सबै कुराहरु मिथ्या हुन् भन्ने कुरालाई बजारले बुझ्न थाल्छ त्यस पछि फेरि बजारले गति लिन सुरु गर्ने लगानीकर्ताहरु बताउछन् । यहि हल्लालाई आधार मानेर करेक्नस भइरहेको बजारमा शेयर बिक्री गरेर बसेका तिनै अल्पकालिन लगानीकर्ता शेयर उठाउन थाल्छन् । जसले बजारलाई थप माथि पुर्याउन मद्दत गर्छ । अहिले सबै लगानीकर्ता अहिलेको घटाइको तल्लो विन्दु कुरेर बसेका छन् । जव अव बजार घट्ने आधार यत्ती हो भन्ने हुन्छ त्यस पछि बजारले फेर गति लिन सुरु गर्ने विश्लेषकहरु बताउछन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया