Nepal Life

आइतवार बिहानसम्म वर्षा जारी रहने, अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन गृह मन्त्रालयको अनुरोध

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sat 13:59
आइतवार बिहानसम्म वर्षा जारी रहने, अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन गृह मन्त्रालयको अनुरोध
Shikhar detail

काठमाडौं । विगत दुई दिनदेखि देशका अधिकांश स्थानमा निरन्तर भइरहेको वर्षाका कारण छ जनाको मृत्यु भएको र सात जना बेपत्ता भएको अधिकारीहरूले जनाएका छन्।

NIMB

बाढी र पहिरोका कारण काभ्रे, सिन्धुपाल्चोक र ललितपुर लगायतका जिल्लामा मानवीय क्षति भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

नेपाल प्रहरीका अनुसार वर्षाका कारण शनिवार बिहानसम्म १४८ घटना भएका छन्। त्यसमा सात जना घाइते भएको नेपाल प्रहरीका सहायक प्रवक्ता विश्व अधिकारीले बताए।

“देशभरिमा २८ वटा स्थानमा मुख्य सडक र राजमार्गहरूमा अवरोध भएको छ। प्राय सबै राजमार्गहरू अवरुद्ध रहेको अवस्था छ,” उनले भने।

बाढी, पहिरो र डुबानका कारण करिब ४०० मानिसहरू विस्थापित भएको र उनीहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।

गृह मन्त्रालयका प्रवक्ता तिवारीले नदी किनारमा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा रहन र बाढी आउन सक्ने स्थानमा घरको भुईँतल्लामा नबस्न अनुरोध गरिएको बताएका छन्।

“मौसम सुधार नभएसम्म अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन हाम्रो अनुरोध छ,” गृह मन्त्रालयका प्रवक्ता तिवारीले भने।

गृह मन्त्रालयका अनुसार बागमती र कोशी प्रदेशका अधिकांश स्थानमा वर्षाका कारण जनजीवन प्रभावित भएको छ। काठमाण्डू र ललितपुरमा बागमती नदीको सतह बढेर किनारको सडक र मानव बस्तीसम्म पुगेको प्रहरीले जनाएको छ। बागमती, विष्णुमती, धोबी खोला सहितका नदी किनारमा बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा सार्न भनिएको र सुरक्षा निकायको सहयोगमा सारिएको गृह प्रवक्ता तिवारीले जानकारी दिए।

जल तथा मौसम विभागले पछिल्लो २४ घण्टामा अधिकतम ३४५ मिलिमिटरसम्म वर्षा भएको जनाएको छ। देशका अन्य स्थानको तुलनामा सुदूर पश्चिम र कर्णालीमा केही कम वर्षा भएको विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले आइतवार बिहानसम्मै वर्षाको सम्भावना रहेको जनाएको छ। गौचरस्थित महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले आइतवार दिउँसोबाट मात्रै वर्षा कम हुने देखिएको बताइन्।

“आज राति र भोलि बिहानसम्म वर्षा जारी रहने र भोलि बिहानबाट कम हुँदै जाने देखिन्छ। कतिपय स्थानहरूमा चाहिँ आज दिउँसो र रातिबाट पनि मौसममा सुधार हुँदै जाने देखिन्छ,” कँडेलले शनिवार बिहान भनिन्।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका कैयौँ स्थानसम्म अति भारी वर्षा भएको महाशाखाले जनाएको छ।

अधिकारीहरूले देशका अधिकांश राजमार्ग अवरुद्ध रहेको र केही राजमार्गहरू खुल्दै बन्द हुँदै गर्ने क्रम रहेको बताएका छन्।

नाट्यकर्मी घिमिरे युवराजले शुक्रवार रातिबाट आफूसहित कैयौँ यात्रुहरू नागढुङ्गा छेउमा पहिरोका कारणले रोकिएको सामाजिक सञ्जालमा लेखेका छन्।

“हाम्रा साथी बिरामी परेका छन्। यहाँ कति मानिस अभरमा छन्। शौचालयदेखि आपत्कालीन बिमारका समस्या छन्। अगाडि पछाडि पहिरो खस्दो छ। आँखा अगाडि एउटा गाडी पुरियो।

न स्वयंसेवक, न सहयोगी। दुर्घटना भएपछि लोकाचारका लागि करोडौँँ खर्च गर्ने सरकार २० घण्टादेखि सङ्कटमा फसेका यात्रुहरूलाई सहयोग गर्न आउँदैन,” उनले लेखेका छन्।

गृह मन्त्रालयका प्रवक्ता तिवारीले यात्राका क्रममा अलपत्र परेका मानिसहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहबाट उद्धार र अत्यावश्यक बन्दोबस्त मिलाउन भनिएको बताए।

“हामीले यात्रुहरूलाई सुरक्षित स्थानमा राख्ने र अत्यावश्यक बन्दोबस्त मिलाउनका लागि स्थानीय तहसँग पनि समन्वय गरेर काम गर्न जिल्ला विपद् व्यवस्थापन समितिलाई भनेका छौँ,” उनले लेखेका छन्।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले शनिवार बिहानसम्म देशभरका २६९ वटा स्वचालित बाढी सूचना केन्द्रहरूमध्ये १०१ केन्द्रहरूमा सतर्कता तहभन्दा बढी वर्षा भएको जनाएको छ।

विभागका अनुसार एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० र छ घण्टामा १०० तथा १२ घण्टामा १२० र २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षा भएको अवस्थामा बाढी तथा पहिरोको ‘अलर्ट’ जारी गरिन्छ।

नारायणी नदीको देवघाटस्थित बाढी मापन केन्द्रमा जल सतह यस वर्षकै उच्च विन्दुमा पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उक्त केन्द्रमा जल सतह ११ मिटर पार गरेको जल मापन केन्द्र देवघाटले जनाएको छ।

स्थानीय बासिन्दाहरूले नारायणी नदीमा यति ठूलो बाढी आफूहरूको जीवनकालमा नदेखेको बताएका छन्।

यो केन्द्रमा ९ मिटरभन्दा बढी जल सतह पुगेको अवस्थालाई खतरा मानिन्छ।

नदीको जलाधार क्षेत्रमा वर्षा भइरहेको र आगामी २४ घण्टाको पूर्वानुमान अनुसार मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकोले जल सतह थप बढ्ने हुँदा नवलपरासी र चितवनको तटीय क्षेत्रहरूमा आइतवारसम्मै सतर्कता अपनाउन विभागले भनेको छ।

त्यस्तै सप्तकोशीको चतरा जल मापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेको मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ।

उदयपुर, सुनसरी र सप्तरीका नदी कटान हुन सक्ने क्षेत्र र डुबान हुने होचा भू-भागमा शनिवार साँझसम्म उच्च सतर्कता अपनाउन भनिएको छ।

त्यस्तै तमोर नदीको मूलघाट बाढी मापन केन्द्रमा पनि जल सतहले सतर्कता तह पार गरेको र थप बढ्दो क्रममा रहेका कारण नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ।

मधेश प्रदेशको बारा जिल्ला स्थित दुधैरा खोला र गढिमाइ जल मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र साथै पसाहा खोला र महेशपुर जल सतहले खतरा तह पार गरेको विभागले जनाएको छ। ती क्षेत्रमा पनि जल सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरू सतर्कता अपनाउन भनिएको छ।

मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको बाँधमा पानीको सतह अत्यधिक भएपछि शनिवार बिहान बाँध खोलिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। जलविद्युत केन्द्रबाट विद्युत् उत्पादन गर्दा पनि बाँध नाघेर पानी बाहिरिन सुरु भएपछि बाँधको सुरक्षाका लागि दुई वटा ढोका खोलिएको उल्लेख गरिएको छ।

“जोखिमको आधारमा थप ढोकाहरू समेत खोल्नुपर्ने अवस्था देखिन सक्ने भएको हुँदा कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको हुँदा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन पुनः अनुरोध गरिन्छ,” प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ। (विविसी नेपाली सेवा)

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया