United Ajod

जेनजी आन्दोलनमा क्षति पुगेका संरचनाको पुनर्निर्माण श्रमदान र आर्थिक सहयोगबाट गर्नुपर्छ!

Everest Bank
  • अरुण सापकोटा
  • 2025 Sep Thu 06:33
जेनजी आन्दोलनमा क्षति पुगेका संरचनाको पुनर्निर्माण श्रमदान र आर्थिक सहयोगबाट गर्नुपर्छ!

काठमाडौं — सेप्टेम्बर ८, नेपाली इतिहासमा एउटा कालो दिनको रूपमा दर्ज भएको छ। जेनजी (Gen Z) पुस्ताले नेपोकिड, भ्रष्टाचार, र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा सुरु गरेको अभियान शान्त र सिर्जनात्मक शैलीमा अगाडि बढिरहेको थियो। तर यो अभियानमा अप्रत्याशित रूपमा अराजकता मिसिँदा, सरकारले अस्वाभाविक दमन गर्‍यो। त्यसको परिणामस्वरूप, बानेश्वर क्षेत्रमा रगत बग्यो र देशमा अराजकता फैलियो।

क्रोधित जनसमूहले संसद भवन, व्यापारी र नेताहरूका घरहरू, सरकारी संरचनाहरूमा आगजनी गरे। संसद भवन पूर्ण रूपमा नष्ट भयो। सर्वोच्च अदालत खरानीमा परिणत भयो। सिंहदरबार जलेर खाक भयो। अधिकांश प्रहरी चौकी र नगरपालिका तथा वडा कार्यालयहरू ध्वस्त भए। विनोदचौधरीदेखि लिएर ठुला ठुला व्यवसायीका घर र व्यवसायिक प्रष्ठानमा आगो लगाइएका छन्। भाटभटेनीका १३ वटा शाखा भवन जले। हिल्टन होटल समेत पूर्ण रूपमा नष्ट भयो। केपी ओलीको झापाको टावर पनि जलाइएको छ। राजनीतिक दलका पार्टी कार्यालय पुर्ण रुपमा निष्ट भएका छन्। नेता तथा तिनका पार्टी कार्यालयसम्म जल्दा जनतालाई खासै दुखमनाउ थिएन जव सरकारी सार्वजनिक सम्पत्तीको जुनकिसिमले नष्ट गरियो त्यसले हामी सबैलाई ठुलो असर गरेको छ।

यस आन्दोलनबाट मुलुकले खर्बौं रुपैयाँ बराबरको क्षति व्यहोर्नु परेको छ। यी संरचनाहरूको पुनर्निर्माणका लागि अपार स्रोत आवश्यक पर्छ। राजनीतिक नेतृत्व अझै अन्योलमा देखिन्छ, तर जेनजीले रुचाएका नेतृत्वकर्ताले नै अन्तरिक सरकार बनाउने सम्भावना प्रबल छ। ढिलो भएमा अर्को राजनीतिक दुर्घटना नघट्ला भन्न सकिँदैन। त्यसैले, युवापुस्ताले छिटो निर्णय गरी अस्थिरताको अन्त्य गर्न आवश्यक छ।

सबै नेता र व्यवसायी भ्रष्ट होइनन्

युवाहरूले बुझ्नुपर्ने अर्को महत्त्वपूर्ण कुरा के हो भने — देशका सबै नेता, कार्यकर्ता, व्यापारी र व्यवसायी भ्रष्ट छैनन्। अबको यात्रा भ्रष्टाचारको पहिचान गर्दै अगाडि बढ्ने हुनुपर्छ। यदि फेरि पनि भ्रष्ट र अनैतिक व्यक्तिहरूले शासन चलाउने हो भने, आजको पुस्ताले चाहेका परिवर्तनहरू कहिल्यै साकार हुँदैनन्।

देशमा दीर्घकालीन योगदान दिने व्यापारी, व्यवसायी, उद्योगीहरूलाई साथ दिनुपर्छ। इमान्दारिताका साथ मुलुकको सेवा गर्नेहरूमाथि विश्वास जगाउन आवश्यक छ। भ्रष्ट समूहमाथि कडा कारबाही गरी, देशलाई त्यस्तो चंगुलबाट छुटाउन सक्नुपर्छ।

क्षतिको भरपाई: श्रमदान र आर्थिक सहयोग

हालको आन्दोलनमा भौतिक संरचनाको ठूलो क्षति भएको छ। यसको पुनर्निर्माण पनि यही पुस्ताले नै गर्नुपर्छ। राज्यकोषमा थप भार नपरोस् भन्नाका लागि श्रमदान र आर्थिक सहयोगद्वारा पुनर्निर्माण अभियान चलाउनु अत्यावश्यक छ।

जनताबाट उठेको करको सदुपयोग गरेर, विकासमा लगानी गर्न सकिन्छ। विकास असम्भव होइन — नेपालीसँग पर्याप्त क्षमता, सम्पत्ति, र स्रोत छन्। कमी छ त केवल विश्वास र आत्मबलको। त्यसैले, युवाहरूले अब "गुनासो होइन, समाधान" को बाटो रोज्नुपर्छ।

उद्यमशीलताको सम्मान, राजनीति सीमित अवधिको सेवा

व्यवसायी, वैदेशिक रोजगारीमा गएका नेपाली, विदेशमा अध्ययनरत युवा — यिनीहरू सबैलाई मुलुकमा लगानी गर्न प्रोत्साहित गर्नुपर्छ। उद्यमशीलता बढ्दा करको दायरा फराकिलो हुन्छ, जसले राज्यलाई आर्थिकरूपमा सबल बनाउँछ।

राज्यले व्यवसायीको सम्पत्तिको संरक्षण गर्नुपर्छ, र उद्यमशीलता गर्ने व्यक्तिलाई हेय दृष्टिले हेर्ने परम्परा अन्त्य गर्नुपर्छ। भ्रष्ट्राचार गरेर अकूत सम्पत्ति कमाउने होइन, इमान्दारीपूर्वक सिर्जना गर्नेहरूको सम्मान गर्न सक्ने संस्कार विकास हुनुपर्छ।

राजनीतिलाई आजीवन पेशा होइन, सीमित अवधिको सेवा भाव बनाउनु पर्छ। एउटै व्यक्ति वा समूहलाई दशकौँसम्म राजनीतिको नाममा देशको नियन्त्रणमा राख्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक छ।

संघीयता पुनर्विचार, सूचना प्रविधिमा आधारित विकास

चालु अवस्थामा सरकारले ठुलो आर्थिक दवाव खेपिरहेको छ। यसको समाधानका लागि संघीय संरचनाभित्रका प्रदेशहरूलाई खारेज गरेर स्थानीय सरकारलाई बलियो बनाउनु जरुरी देखिन्छ। राजस्व चुहावट रोक्न सके देशले विकास खर्चका लागि पनि पर्याप्त रकम संकलन गर्न सक्छ।

सरकारले उद्यमी र व्यवसायीलाई सुरक्षाको अनुभूति दिनुपर्छ, र सूचना प्रविधिमार्फत विकासका प्रत्येक तहमा प्रभावकारी कदम चाल्नुपर्छ। अबको युग प्रविधि केन्द्रित हो — र प्रविधिमार्फत पारदर्शी शासन, तीव्र सेवा र प्रभावकारी विकास सम्भव छ।

अबको एक दशक: निर्माणको मौका

केहीले भनेका छन् 'जेनजी आन्दोलनले मुलुकलाई अर्को एक दशक पछाडि धकेल्यो।' तर यो नै मौका हो, पछिल्ला ५० वर्षमा नभएका कामहरू अबको १० वर्षमा गरेर देखाउने। त्यसका लागि दृढ इच्छाशक्ति र इमान्दार समूहको खाँचो छ। अब मुलुकले राजनीतिक दाउपेच होइन, युवाशक्तिमा आधारित काम खोजिरहेको छ।

यो पुस्तासँग असफल हुने छुट छैन। अलिकति चुक भए पनि परिणाम भयावह हुन सक्छ। पुराना राजनीतिज्ञहरूको मनस्थिति फेरिन सक्दैन। त्यसैले अहिलेको समयलाई नै देश रूपान्तरणको आधार बनाइनु पर्छ, नत्र फेरि पुरानै "झोले राजनीति" ले देशलाई पछाडि धकेल्नेछ।

देशमा भएका संरचनागत क्षतिहरूको पुनर्निर्माण आजकै पुस्ताले श्रमदान र आर्थिक सहयोगबाट गर्नुपर्छ। भ्रष्टाचारको अन्त्य, इमान्दार नेतृत्वको स्थापना, र उद्यमशीलताको सम्मानमार्फत मात्रै नयाँ नेपाल सम्भव छ। अहिलेको समयलाई गुमायौं भने भविष्यमा अवसरहरू पनि गुम्नेछ। त्यसैले अबको युग सिर्जनात्मक निर्माणको युग हो।

यो पुस्ताले यस्तो काम गरोस् कोहि पनि नेपाल छाडेर अर्को मुलुकमा श्रम विक्री गर्न नपरोस्। यो पुस्ताले जस्तो आफ्ना आमाबुबाले खाडीमा गएर आफुलाई हुर्काएको देख्न नपरोस। यो आक्रामक शैलीको एउटा कारण वाध्यता र विवसताले आमा बुबाबाट टढिनु परेको अवस्थाले पनि हो। यि सबै परिदृश्यलाई हेरेर उचित निर्णय लिदै काम गर्ने नेतृत्व मुलुकका लागि आवश्यक परेको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया