NIMB Header 2
Nepal Life

आज पितृपक्षको अन्तिम दिन, भोलिदेखि बडादसैँ सुरु हुने

Muktinath Bank
  • BFIS News
  • 2024 Oct 02 09:07
आज पितृपक्षको अन्तिम दिन, भोलिदेखि बडादसैँ सुरु हुने
National Life

काठमाडौं। आज असोज कृष्ण औँसी अर्थात्  पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ ।

पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ ।

Shikhar
NIMB

कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश रोकिए आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ । मिथिलाक्षेत्रमा पितृपक्षका बेला जलाशयमा गएर तर्पण दिने चलन छ । यसअनुसार आज  महोत्तरी जिल्लाका धार्मिक महत्वका नदी, सरोवर र कुण्डहरुमा एकाबिहानै तर्पण दिनेहरु भरिभराउ छन् ।

दसैँ, तिहार र छठजस्ता महान चाडवाडअघि पितृहरुलाई तृप्त गर्न एउटापक्ष भरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा छ । वर्षका अन्यबेला गरिने गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि अघि नान्दीमुखी श्राद्ध गरेर कार्य निर्विघ्न सम्पन्न होस् भन्ने गरिने कामनाजस्तै दसैँ, तिहार र छठपर्वको मुखमा पितृहरुलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको हुन्छ। चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने चलन छ ।

पितृपक्षका बेलामा पितृलोकबाट दिवङ्गत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भन्ने हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख छ । सोह्रश्राद्धमा श्राद्ध गर्नाले पितृऋणबाट मुक्ति भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, देह त्याग गरेको तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्ध, औँसी तिथिमा मृत्यु भएका पुरुषको सम्झनामा गरिने पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्धहरु प्रचलित छन् । पितृपक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने मान्यता पनि छ ।

पितृपक्षको समाप्तिसँगै भोलि (बिहीबार) देखि दुर्गापक्ष अर्थात् बडा दसैँ सुरु हुँदैछ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया