Nepal Life

नेपाली जनताको थाप्लोमा २५ खर्ब २३ अर्बको ऋण, सरकारले ३ महिनामा ८३ अर्ब तिर्दा पनि ८८ अर्बले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Sun 11:53
नेपाली जनताको थाप्लोमा २५ खर्ब २३ अर्बको ऋण, सरकारले ३ महिनामा  ८३ अर्ब तिर्दा पनि ८८ अर्बले बढ्यो
National Life

काठमाडौं । आम्दानीको तुलनामा खर्च बढ्दा सार्वजनिक ऋणको भार थप चुलिदै गएको छ । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो त्रैमास अर्थात साउनदेखि असोजसम्ममा तिर्न बाँकी ऋणको दायित्व ८८ अर्ब ९३ करोड थपिएको छ ।

NIMB

२०८१ साउन १ गतेसम्म २४ खर्ब ३४ अर्ब ९ करोड रहेको सार्वजनिक ऋणको दायित्व असोज मसान्तसम्म आइपुग्दा २५ खर्ब २३ अर्ब ३ करोड पुगेको छ । यस अवधिमा तिर्न बाँकी ऋणको दायित्व ८८ अर्ब ९३ करोड थप भएको छ । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ३ महिनामा कुल १ खर्ब ३६ अर्ब ३१ करोड सार्वजनिक ऋण बढेको छ । जसमा १ खर्ब १५ अर्ब आन्तरिक ऋण र २१ अर्ब ३१ करोड बाह्य ऋण थपिएको हो । यसअवधिमा सरकारले ६९ अर्ब ऋण तिरेको छ । पछिल्लो ३ महिनामा ५९ अर्ब ६० करोड आन्तरिक ऋण तथा ९ अर्ब ४३ करोड बाह्य ऋणको दायित्व घटाएको छ । असोज मसान्तसम्म सावाँ र ब्याज गरेर कुल ८३ अर्ब ७ करोड ८१ लाख भुक्तानी भएको छ । साथै विनिमयदरमा भएको परिवर्तनले भाद्र महिनासम्मको तुलनामा असोजमा ५ अर्ब ५८ करोडले सार्वजनिक ऋण घटेको विभागले उल्लेख गरेको छ । 

यस अवधिसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ छ । बाह्य ऋण भने १२ खर्ब ८६ अर्ब ७३ करोड रुपैयाँ छ । गत साउन १ गतेसम्म तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र वाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड थियो । 

कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४४.२३ प्रतिशत कायम भएको छ । कुल ग्राहस्थ उत्पादनको आधारमा आन्तरिक ऋण २१.६७ तथा बाह्य ऋण २२.५६ प्रतिशत कायम भएको छ । सरकारले चालु वर्षमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। त्यस्तै, २ खर्ब १७ अर्ब वैदेशिक ऋण आउने अनुमान गरेको छ। चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा असोज मसान्तसम्ममा १ खर्ब ३६ अर्ब ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको आधारमा कुल सार्वजनिक ऋण प्राप्ति २४.९२ प्रतिशत छ । जसमा आन्तरिक ऋण प्राप्ति ३४.८५ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ९.८२ प्रतिशत रहेको छ । 

चालु आर्थिक वर्ष २०८१-८२ मा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब वार्षिक बजेट रहेकोमा असोज मसान्तसम्म ८३ अर्ब ७ करोड ८१ लाख भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा २०.६२ प्रतिशत हो । कुल ग्राहस्थ उत्पादनको आधारमा कुल ऋण सेवा खर्च १.४६ प्रतिशत हो । यस वर्ष सरकारले ऋण तिर्न ४ खर्ब २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । जुन पुँजीगत खर्चभन्दा धेरै हो ।

यसै अवधिमा सरकारले ७१ अर्ब ४५ करोड आन्तरिक ऋणको भुक्तानी गरेको छ । जसमा ५९ अर्ब ६० करोड साँवा तथा ११ अर्ब ८५ करोड ब्याज भुक्तानी गरेको हो । त्यस्तै यसअवधिमा ११ अर्ब ६२ करोड बाह्य ऋण भुक्तानी गरेको छ । जसमा साँवा ९ अर्ब ४३ करोड तथा ब्याज २ अर्ब १९ करोड रहेको छ । असोजसम्म सरकारले सार्वजनिक ऋणको ६९ अर्ब ३ करोड साँवा तथा १४ अर्ब ४ करोड ब्याज भुक्तान गरेको छ। 

यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । त्यसमध्ये ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट र वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड ऋण जुटाइने बजेटमा उल्लेख छ। हरेक वर्ष बजेटको आकार बढ्दै गएकाले सार्वजनिक ऋणको आकारसमेत बढ्दै गएको छ । यसो हुँदा सार्वजनिक ऋणको साँवा भुक्तानी वार्षिक वृद्धिदर बढ्दै गएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार