एलआइसी नेपालको मुनाफा ३५.४५ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा एक खर्ब २४ अर्ब नाघ्यो
- BFIS News
- 2024 Nov Sat 12:26
काठमाडौं । एलआईसी नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ३५.४५ प्रतिशतले मुनाफामा बृद्धि गरेको छ । कम्पनीले असोज मसान्तसम्ममा ७ करोड ८८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ५ करोड ८१ लाख रुपैयाँ थियो ।
कम्पनीको कुल बीमा शुल्क आर्जनमा पनि सामान्य बृद्धि भएको छ । गत आवको सोही अवधिमा चार अर्ब ५१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले यस आवमा १.४० प्रतिशतले बृद्धि गरेर चार अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा एलआइसी नेपालको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७७ पैसाबाट बढेर ११ रुपैयाँ ८८ पैसा पुगेको छ ।
कम्पनीको जीवन बीमा कोष ३.१९ प्रतिशतले बढेर एक खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको यहि अवधिमा कम्पनीको जीवन बीमा कोष एक खर्ब २० अर्बको थियो ।
हकप्रद निष्काशनको मिति तय गरिसकेको एलआइसी नेपालको हालको चुक्ता पूँजी दुई अर्ब ६५ करोड रुपैयाा रहेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया