अल्पकालिन लगानीकर्ता हाबी हुँदा शेयर बजारको सुधार टिक्न सकेन, कारोबार रकम ११ अर्ब ८७ करोड, बढ्ने संकेत कायमै
- BFIS News
- 2025 Feb Mon 15:17

काठमाडौं । शेयर बजारमा अल्पकालिन लगानीकर्ता हाबी हुँदा केहि दिनको सुधारमै नाफा बुक हुँदा सोमबार सुधारले निरन्तरता भने पाउन सकेन । आज बजारमा तिब्र उतारचढाव देखिएको छ । सुरुवाती कारोबारमा आक्रामक रुपमा बढेको नेप्से पछिल्लो २ घण्टामा भने चरम गिरावट देखियो । लगानीकर्ताले नाफा बुक गर्न हतारिदा बजारमा सुधार नदेखिएको हो ।
आइतबार नेप्से सूचक ६९.८० अंकले सुधार भएकोमा आज २.४१ अंकमै सिमित भएको छ । आज विशेष गरी विकास बैंकका लगानीकर्ताले राम्रो नाफा बुक गरेका छन् । फाइनान्स र विकास बैंकमा लगानीकर्ताले नाफा बुक गरेका छन् भने गएका दिनमा तिव्र गतिमा सुधार भएका कम्पनीमा राम्रो गिरावट आएको छ ।
९७ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा १३७ वटाको शेयर मूल्य घटेको छ । आइतबार १२ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ११ अर्ब ८७ करोडको कारोबार भएको छ । यस अवधिमा अल्पकालिन लगानीकर्ताले नाफा बुक गरेका छन् भने बजारमा अवसर देखेर लगानी गर्ने बढेका छन् ।
अवको केहि महिना शेयर बजारमा सुधार हुने आकलन सँगै लगानीकर्ता शेयर किन्न हौसिएका छन् । राजनीतिक गतिरोध केहिहदसम्म सङ्लिए पनि दीर्घकालिन लगानीकर्ता अझै पनि डाराइरहेका छन् । अल्पकालिन लगानीकर्ताले कम्पनीको शेयर मूल्यमा राम्रै खेल्ने भएकाले लगानीकर्ताहरु संयमित छन् । यहि संयमताले पनि आज बजारमा खासै ठुलो सुधार देखिएन ।
नेप्से सूचक २७३० अंकमा बन्द भएको छ । बाणिज्य बैंक, बीमा कम्पनी, लघुवित्त वित्तीय संस्था, उत्पादन तथा प्रशोधनमुलक कम्पनीको शेयर मूल्यमा सुधार आएको छ । लगानीकर्ताहरु विकास बैंक र फाइनान्सबाट सिफ्ट भइरहेका छन् ।
बैंकिङ प्रणालीमा अहिले तरलता प्रयाप्त छ । बैंकहरु शेयरधितो कर्जामा सहज देखिएका छन् । यसले गर्दा कारोबार रकममा क्रमिक सुधार भइरहेको छ । यहि गतिमा शेयर बजार अगाडी बढ्ने हो भने अवको सुधारको पिक लेभलमा पुग्दा यस अगाडी ३० अर्बको कारोबारलाई पनि तोड्ने पक्का छ ।
प्रतिक्रिया