Nepal Life

सामाजिक सुरक्षा कोषले योगदान रकम जम्मा प्रक्रियालाई थप सहज बनाउने तयारी

National Life
  • BFIS News
  • 2025 Feb Wed 06:57
सामाजिक सुरक्षा कोषले योगदान रकम जम्मा प्रक्रियालाई थप सहज बनाउने तयारी
RBB

काठमाडौँ, माघ २२ गते । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि कोषमा योगदान रकम जम्मा गर्न थप सहज बनाउने तयारी गरेको छ । कोषका अनुसार विदेशमा रहेका योगदानकर्ताले सूचना प्रणाली प्रयोग गरेर कोषमा सहज रूपमा नियमित योगदान गर्न सक्ने गरी व्यवस्था गर्न लागेको हो । 

NIMB

वैदेशिक रोजगारीमा जानेले सबैले एक पटक योगदान गरे पनि नियमित गर्ने सङ्ख्या असाध्यै कम भएपछि कोषले सूचना प्रणाली प्रयोगलाई प्राथमिकता दिन थालेको जनाएको छ । कोषका सूचना अधिकारी उत्तमराज नेपालले भने पछिल्ला दिनमा वैदेशिक रोजगारीमा गएकाले पनि कोषमा नियमित योगदान गर्ने रहेको बताए । 

यसका लागि नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त बैङ्क, रेमिट, पिएसओ तथा पिएसपी सेवाप्रदायकसँग प्रस्ताव मागेको सूचना अधिकारी नेपालको भनाइ छ । 

वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म १४ लाख १४ हजार ३५५ श्रमिक कोषको योजनामा आबद्ध भएका छन् । कोषले वैदेशिक रोजगारी जाने र गएका श्रमिकलाई २०७९ चैत ८ देखि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजना अनुरूप यही माघ १८ सम्म सो सङ्ख्याका श्रमिकले एक पटक योगदान गरेको जनाएको छ ।

कोषका अनुसार कोषको योजनामा एक पटक योगदान गर्नेको सङ्ख्या १४ लाखभन्दा बढी भए पनि नियमित आबद्ध हुने श्रमिक भने करिब ७० हजार मात्रै छन् । यसरी आबद्ध भएका वैदेशिक रोजगारीमा गएका र विदेशमै स्वरोजगार रहेको श्रमिकबाट हालसम्म करिब चार अर्ब बराबरको रकम कोषको योजनामा जम्मा भएको कोषले जनाएको छ । कोषका अनुसार योजनामा समावेश हुने श्रमिकले मासिक दुई हजार तीन सय रुपियाँ बुझाउनु पर्ने छ । वर्षभरिको एकमुस्ट रकम बुझाए जम्मा गरेको रकममा १० प्रतिशत छुट पाइने व्यवस्था कोषले गरेको छ । 

कोषले वैदेशिक रोजगारीमा रहेका २२ लाख श्रमिकलाई कोषमा समेट्ने तयारीसहित योजना सुरु गरेको बताए पनि सबैले नियमित योगदान रकम दिएका छैनन् । वैदेशिक रोजगारीमा रहेका श्रमिकले योगदान गरेको रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत छुट्याइने प्रावधान रहेको छ । 

कोषका अनुसार औपचारिकतर्फ योगदान गर्नेको सङ्ख्या पाँच लाख ५८ हजार ५३०, वैदेशिक रोजगारीतर्फका योगदानकर्ताको सङ्ख्या १४ लाख १४ हजार ३५५ रहेको छ भने अनौपचारिक र स्वरोजगारतर्फ क्रमशः ३३६ जना र २८२ जना गरी हालसम्म १९ लाख ७३ हजार ५०३ जनाले कोषमा योगदान गरेका छन् । कोषमा योगदानकर्ताबाट हालसम्म ७३ अर्ब ४५ करोड रुपियाँ योगदान रकम सङ्कलन भएको कोषले जनाएको छ ।    

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया