सानिमा रिलायन्स लाइफको नाफा ५.४४ प्रतिशतले बढ्यो, ईपीएस भने घट्यो
- BFIS News
- 2025 Feb Mon 10:30

काठमाडौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा ५.४४ प्रतिशतले बढेर २३ करोड १६ लाख ८९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २१ करोड ९७ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १८.७३ प्रतिशत बढेको छ भने कुल आम्दानी २०.९७ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २४.९२ प्रतिशत र कुल खर्च २१.९९ प्रतिशत बढेको छ।
नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको ईपीएस १ रुपैयाँ १४ पैसा घटेर ९ रुपैयाँ ३६ पैसामा सीमित भएको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा इन्स्योरेन्सको ईपीएस घट्न पुगेको हो। दोस्रो त्रैमासको अन्त्यसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४४.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ३८ पैसा रहेको छ।
४ अर्ब ९५ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १३ करोड ४३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५० करोड ८४ लाख रुपैयाँ र अन्य इक्विटीमा ६ करोड ९३ लाख रुपैयाँ रहेको छ।
प्रतिक्रिया