NIMB Header 2
Nepal Life

ओपनएआईले एलन मस्कको ९७.४ अर्ब डलरको खरिद प्रस्ताव अस्वीकृत

Muktinath Bank
  • BFIS News
  • 2025 Feb 16 12:01
ओपनएआईले एलन मस्कको ९७.४ अर्ब डलरको खरिद प्रस्ताव अस्वीकृत
Everest Bank

काठमाडौं, फेब्रुअरी १६ – कृत्रिम बुद्धिमत्ता कम्पनी ओपनएआईले एलन मस्कको ९७.४ अर्ब अमेरिकी डलरको खरिद प्रस्ताव औपचारिक रूपमा अस्वीकृत गरेको छ। शुक्रबार ओपनएआईका कानूनी सल्लाहकार विलियम साविटले मस्कका वकिललाई पठाएको पत्रमा उक्त प्रस्ताव कम्पनीको मिसनको हितमा नरहेको भन्दै अस्वीकृत गरिएको उल्लेख छ।

Shikhar
NIMB

"उक्त प्रस्ताव चर्चित भए पनि वास्तविक प्रस्ताव नै होइन," साविटले मस्कका वकिल मार्क टोबेरोफलाई लेखेका छन्। "ओपनएआई बोर्डले सर्वसम्मत रूपमा यो प्रस्ताव अस्वीकृत गर्ने निर्णय गरेको छ।"

ओपनएआईका अध्यक्ष ब्रेट टेलरले कम्पनी बिक्रीका लागि नरहेको प्रस्ट पारे। "कम्पनीको पुनर्गठनको कुनै प्रक्रिया भए पनि हाम्रो गैरनाफामूलक उद्देश्यलाई थप सशक्त बनाउनेछ," टेलरको भनाइ छ।

मस्कका वकिल टोबेरोफले सोमबार ओपनएआई खरिदका लागि ९७.४ अर्ब डलरको प्रस्ताव राखेको सार्वजनिक गरेका थिए। उनले ओपनएआईलाई पुनः खुला स्रोतमा फर्काई सुरक्षा केन्द्रित बनाउने उद्देश्य रहेको बताएका थिए।

तर, ओपनएआईका प्रमुख कार्यकारी साम अल्टम्यानले मस्कको प्रस्ताव अस्वीकार गर्दै सामाजिक सञ्जाल एक्समा व्यंग्यात्मक जवाफ दिएका थिए, "होइन, धन्यवाद। तर यदि तपाईं चाहनुहुन्छ भने हामी ९.७४ अर्ब डलरमा ट्विटर किन्छौं।" मस्क एक्स (पूर्व ट्विटर) का मालिक हुन्।

अल्टम्यानको जवाफमा मस्कले उनलाई 'स्विन्डलर' (ठग) भनेर प्रतिक्रिया दिएका थिए। अर्काे टिप्पणीमा उनले अल्टम्यानलाई 'स्क्याम अल्टम्यान' भनेका थिए।

मस्क र अल्टम्यानको विवाद सन् २०१५ देखि सुरु भएको हो। उनीहरू ओपनएआईको स्थापना गर्ने संस्थापकहरू हुन्। तर, हाल उनीहरू प्रतिस्पर्धी बनेका छन्। मस्कले xAI नामक एआई कम्पनी स्थापना गरेका छन् भने ओपनएआईले व्यावसायिक फाइदाका लागि गैरनाफामूलकबाट नाफामूलक संरचनामा जान खोजिरहेको छ।

ओपनएआईमा माइक्रोसफ्टले अर्बौं डलर लगानी गरिसकेको छ भने जापानी कम्पनी सफ्टबैंकले २६० अर्ब डलरको मूल्यांकनमा ४० अर्ब डलर लगानीको तयारी गरिरहेको छ।

यसैबीच, मस्कले ओपनएआईलाई नाफामूलक बनाउन खोजिएको भन्दै अदालतमा मुद्दा दायर गरेका छन्। उनले उक्त प्रक्रिया रोकिएमा आफ्नो खरिद प्रस्ताव फिर्ता लिने चेतावनीसमेत दिएका छन्।

कानूनी विश्लेषक जोएल फ्लेमिङका अनुसार गैरनाफामूलक कम्पनीहरूले लगानीकर्ता लाभलाई प्राथमिकता दिनु नपर्ने भएकाले ओपनएआई बोर्डको निर्णय कानूनी रूपमा सही छ।

ओपनएआईको आगामी रणनीति र मस्कको कानूनी लडाइँले एआई क्षेत्रमा थप चर्चा र विवाद सिर्जना गर्ने विश्लेषकहरू बताउँछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया