दुई दशकमा शिखर इन्स्योरेन्सका शेयरधनीले पाए ३०० प्रतिशत लाभांश, १० करोडबाट नेटवर्थ ५ अर्ब ३६ करोडको नेटवर्थ बनाउन सफल
- BFIS News
- 2025 Feb Wed 13:50

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले स्थापनाकालदेखि २० वर्षको अवधिमा ३०० प्रतिशत भन्दा बढि लाभांश वितरण गरेको कम्पनीका सञ्चालक समितिका अध्यक्ष गौरव अग्रवालले बताए । कम्पनीको २० औं वार्षिक साधारणसभाको अवसरमा उनले भने 'कम्पनीले स्थापनाकालदेखि २० वर्षको अवधिमा ३०० प्रतिशत भन्दा बढीको लाभांश वितरण गरिसकेको छ । जुन यस अवधिमा अन्य निर्जीवन बीमा कम्पनीहरुले प्रदान गरेको लाभांश प्रतिशत भन्दा अधिक रहेको सहर्ष जानकारी गराउन चाहन्छौ ।'
कम्पनीले २० वर्षको अवधिमा १२ पटक लाभांश दिएको छ । यस अवधिमा अधिकतम ६३.१५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ । कम्पनीले पहलो पटक २०६३/६४ मा ७.५ प्रतिशत लाभांश दिएकोमा दोस्रो पटक २०६५/६६ मा १३.५ प्रतिशत, २०६६/६७ मा १२.६ प्रतिशत, २०६८/६९ मा ४२.१ प्रतिशत, २०६९/७० र २०७०/७१ मा २१.०५ प्रतिशत, २०७१/७२ मा २५.२६ प्रतिशत, २०७२/७३ मा ७३.१५ प्रतिशत, २०७३/७४ मा ३०.५३ प्रतिशत, २०७६/७७ मा ३८ प्रतिशत, २०७८/७९ मा १६.८४ प्रतिशत र २०८०/८१ मा १०.५३ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।
नेपालको आर्थिक क्षेत्रमा आएको सुस्तता सँगै बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा प्राप्त हुने व्याजदरमा आएको कमीका कारण बीमा कम्पनीहरुको लगानी आम्दानी प्रभावित हुने अध्यक्ष अग्रवालको विश्लेषण छ ।
बैंक व्याजदरमा हुने उतारचढावलाई मध्यनजर गर्दै कम्पनीले विगतदेखि नै दीर्घकालिन महत्वका परियोजनाहरुमा तथा दीर्घकालिन प्रतिफलको उद्देश्य सहित विभिन्न कम्पनीहरुमा लगानी गर्दै आइरहेको अध्यक्ष अग्रवालले जानकारी दिए ।
उनले थपे 'सोही अनुरुप कम्पनीको कुल लगानीकव करिव १५ प्रतिशत लगानी दीर्घकालिन उद्देश्य सहित विभिन्न पुर्वाधार परियोजनाहरु तथा कम्पनीका शेयरमा लगानी गरिएको छ । कम्पनीले गरेको लगानी विविधिकरणले कम्पनीको लगानी आम्दानीमा सन्तुलन कायम गर्ने तथा दीर्घकालिन रुपमा आकर्षक प्रतिफल प्रदान गर्नेमा हामी विश्वस्त छौ ।'
नेपालको १५ औं निर्जीवन बीमा कम्पनीका रुपमा २०६१ सालमा स्थापित यस कम्पनीले विगत एक दशकभन्दा अधिक समयदेखि नेपालको निर्जीवन बीमा क्षेत्रमा सबैभन्दा अधिक बजार हिस्सा ओगट्न सफल रहदै आएको छ । अन्य बीमा कम्पनीहरु एक आपसमा गाभिएर संयुक्त कारोबार गरिसकेको अवस्थामा समेत कम्पनीले आप्नो बजार हिस्सालाई कायमै राख्न सफल भएको छ । आर्थिक वर्ष २०८०/८१ मा समेत कम्पनीले निर्जीवन बीमा क्षेत्रमा सबैभन्दा अधिक १३ प्रतिशतको बजार हिस्सा कायम राख्न सफल रहेको छ ।
कम्पनीले स्थापनाको छोटो अवधिमै नेपालको बीमा क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप विभिन्न सम्मानहरुबाट सम्मानित भइसकेको छ । कृषि बीमा तथा कृषि बीमा दाबी भुक्तानीमा कम्पनीको योगदानका लागि नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीको रुपमा सम्मान प्राप्त गरेको छ ।
त्यस्तै निर्जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा अधिक राजश्व दाखिला गरेबापत आन्तरिक राजश्व विभागबाट सम्मान प्राप्त गरेको थियो । सबैभन्दा अधिक नाफामुलक व्यवसाय प्रदान गरेबापत नेपाल पुनर्बीमा कम्पनीबाट सम्मान प्राप्त गरेको थियो ।
नेपालको बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी तथा बेष्ट इन्स्योरेन्स कम्पनीको रुपमा सम्मान प्राप्त गरेको थियो भने मौसम परिवर्तन जोखिमको व्यवस्थापनमा उत्कृष्ट कार्य गरेबापत UKAid Sakchhyam Access to Finance बाट ५० हजार पाउण्ड सहितको पुरस्कार प्राप्त गरेको थियो ।
कम्पनीले नेपालको दुर्गम क्षेत्रमा तथा विपन्न वर्गका जनतामा समेत बीमाको पहुँच अभिबृद्धि गर्ने उद्देश्यले नेपालमा दुर्गम क्षेत्रहरुमा समेत शाखाहरु विस्तार गर्दै आएको छ । फलस्वरुप कम्पनीले कर्णाली प्रदेशमा मात्र ५० प्रतिशतभन्दा बढी बजार हिस्सा कायम गर्न सफल रहेको छ भने कृषि तथा पशुपंक्षी बीमामा कम्पनीको बजार हिस्सा करिव २० प्रतिशत रहेको छ । कम्पनीले नेपालमा सर्वाधिक ७५ वटा बीमालेख जारी गर्दै आएको छ । जसमध्ये ८ वटा बीमालेख कम्पनी आफैले विकास गरेको हो । गत आर्थिक वर्षमा समेत कम्पनीले २ वटा नयाँ बीमालेखको थालनी गरेको थियो ।
२०६१ सालमा १० करोड रुपैयाँ चुक्ता पूँजीबाट स्थापित शेयरले २० औं वर्षमाल यात्रा गरिरहदा आफ्नो नेटवर्थ ५ अर्ब ३६ करोड पुर्याउन सफल भएको छ । अन्य कम्पनीसँग मर्जर विनानै नियमनकारी निकायबाट जारी निर्देशन बमोजिमको २ अर्ब ५० करोड न्युनतम चुक्ता पूँजी पुर्याउन सफल पहिलो कम्पनीका रुपमा रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको Risk Based Capital तथा Own Risk and Solvency Assessment Directive बमोजिम कम्पनीको Economic Capital समेत पर्याप्त मात्रामा रहेको कम्पनीका अध्यक्ष अग्रवालले बताए । यसका साथै कम्पनीले दीर्घकालिन उद्देश्यका साथ पूर्वाधार क्षेत्रमा गरेका लगानीहरुलाई Fair Value मा लेखाकंन गर्दा कम्पनीको नेटवर्थ ६ अर्ब ५० करोड भन्दा अधिक रहेको अध्यक्ष अग्रवालको दाबी छ ।
प्रतिक्रिया