Nepal Life

राष्ट्र बैंकको वार्षिक प्रतिवेदन प्रस्तुत: खुद आय ८० अर्ब ४८ करोड, सरकारलाई ४२ अर्ब प्रदान

NMB Bank
  • BFIS News
  • 2025 Nov 17 06:14
राष्ट्र बैंकको वार्षिक प्रतिवेदन प्रस्तुत: खुद आय ८० अर्ब ४८ करोड, सरकारलाई ४२ अर्ब प्रदान
National Life

काठमाडौँ, — नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन आज अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष पेस गरेका छन्। प्रतिवेदन हस्तान्तरण कार्यक्रम अर्थ मन्त्रालयमा आयोजित संक्षिप्त समारोहका बीच सम्पन्न भएको हो।

Shikhar
NIMB

तीन खण्डमा विभाजित उक्त प्रतिवेदनको पहिलो खण्डमा आर्थिक वर्ष २०८१/८२ को समष्टिगत आर्थिक तथा वित्तीय अवस्थाको विश्लेषण समेटिएको छ। दोस्रो खण्डमा राष्ट्र बैंकका कामकारबाहीका विवरणहरू समावेश छन् भने तेस्रो खण्डमा गत आर्थिक वर्षको वित्तीय विवरण प्रस्तुत गरिएको छ। वित्तीय विवरणमा अन्तिम लेखापरीक्षणका नतिजाहरू पनि समेटिएका छन्।

प्रतिवेदनअनुसार विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्यांकन लाभ–हानि समायोजन गर्नु अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि भई रु. ८० अर्ब ४८ करोड २६ लाख ५० हजार पुगेको छ।

राष्ट्र बैंक सञ्चालक समितिको २०८२ कात्तिक २८ गतेको बैठकले बैंकका विभिन्न कोषहरूका लागि आवश्यक रकम विनियोजन गरी बाँकी रु. ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्यस्तै, २०८२ असार मसान्तसम्मको वित्तीय विवरणअनुसार राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व २०८१ असार मसान्तको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भई रु. २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ४० हजार पुगेको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९१ अनुसार बैंकले आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र वासलात, आय–व्यय र सम्बन्धित विवरण सहितको वार्षिक प्रतिवेदन सरकारसमक्ष पेस गर्नुपर्छ। त्यस्तै, दफा ९३(१) मा बैंकको लेखापरीक्षण, कामकारबाही तथा आर्थिक–वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन समेत सरकारलाई बुझाउनुपर्ने व्यवस्था छ। अर्थमन्त्री खनालले प्रतिवेदनले देशको वित्तीय अनुशासन तथा पारदर्शिता मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया