औषधी कम्पनी मध्ये पहिलो आइपिओ निष्काशन गरेको ओम मेगाश्रीले दोस्रो बजारमा कति पाउला शेयर मूल्य ?
- BFIS News
- 2025 Mar Mon 11:55

काठमाडौं । औषधी कम्पनी मध्ये पहिलो पटक आइपिओ निष्काशन गरेको ओम मेगाश्री कम्पनीको दोस्रो बजारमा हुने कारोबारलाई लिएर लगानीकर्ताले चासो व्यक्त गरिरहेका छन् । कम्पनीले यहि चैत ३ गतेसम्म सर्वसाधारणका १४ लाख ७६ हजार ००० कित्ता आइपिओ निष्काशन गर्यो । कम्पनीले सर्वसाधारणका लागि २०८१ साल फागुन २७ गतेदेखि खुला गरेको थियो।
कम्पनीको जारी पूँजी रु. ६० करोड रहेको छ, जसको ३०% अर्थात् रु. १८ करोड बराबरका १८,००,००० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । यस सार्वजनिक निष्कासनअन्तर्गत, १०% अर्थात् १,८०,००० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याएको थियो ।
कुल १८,००,००० कित्ता मध्ये ९०,००० (५%) इकाई म्युचुअल फण्डका लागि र ५४,००० (३%) कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । बाँकी १४,७६,००० कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।
सीडीएससीका अनुसार, १९ लाख ८८ हजार ८३६ जना आवेदकहरूले जम्मा २,३६,९१,५१० कित्ता सेयरका लागि आवेदन दिएका छन्, जसको रकम रु. २.३६ अर्ब बराबर पुगेको छ । यसरी, आईपीओ १६.०५ गुणा ओभरसब्सक्राइब भएको छ।
केयर रेटिङ्स नेपाल लिमिटेडले ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडलाई ‘CARE-NP BB- (Is)’ रेटिङ प्रसाद गरेको छ । जसले कम्पनीको वित्तीय दायित्वहरू समयमा पूरा गर्न मध्यम जोखिम रहेको देखाउँछ।
ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड २०१६ जुन १२ मा स्थापना भएको हो । कम्पनीमा संस्थागत र व्यक्तिगत लगानीकर्ताहरूको लगानी रहेको छ । कम्पनीले चितवनस्थित प्लान्टमा औषधिजन्य उत्पादन निर्माण गर्दै आएको छ र २०२४ फेब्रुअरी १९ बाट आंशिक रूपमा सञ्चालनमा आएको हो।
कम्पनीको वित्तीय विवरण हेर्दा पछिल्लो लेखापरीक्षण प्रतिवेदन अनुसार जगेडा कोष ४ करोड १३ लाख रुपैयाँले ऋणात्मक रहेको छ । यद्यपी कम्पनी भने मुनाफामा देखिन थालिसकेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४१ लाख २९ हजार रुपैयाँ मात्रै मुनाफा आर्जन गरेको देखिन्छ । यस अवधिमा कम्पनीले १३ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको देखिन्छ । यस वर्षमा कम्पनीले ३० करोड आम्दानी हुने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षमा पनि ५१ करोड १८ लाख रुपैयाँ रहेको देखिन्छ ।
पूँजीको अनुपातमा कम्पनीको आम्दानी तथा मुनाफा निकै कमजोर रहेकाले कम्पनीले आगामी वर्षहरुमा आकर्षक लाभांश दिन सक्ने सम्भावना निकै कम छ । प्रक्षेपणमै अधिकतम १४ रुपैयाँ प्रतिशेयर आम्दानी हुने उल्लेख छ । यसले गर्दा कम्पनीको शेयर मूल्यमा लगानीकर्ताको आकर्षण एकदमै कम हुन सक्ने देखिन्छ । त्यसमा पनि चुक्ता पूँजी ६० करोडको ३० प्रतिशत अर्थात १८ करोड रुपैयाँ मार्केटमा फ्लट हुनेछ । तीन वर्ष पछि कम्पनीको संस्थापक र सर्वसाधारण दुबै शेयर समान मूल्यमा खरिद बिक्री हुनेछ । यसले गर्दा आगामी ३ वर्षमा कम्पनीको शेयर मूल्य माइक्रो फाइनान्सकै हाराहारी हुने सम्भावना छ । यस्तो अवस्थामा कम्पनीको शेयर मूल्य एक हजार भन्दा माथि नै बस्न सक्छ ।
यद्यपी यो फरक क्षेत्रको कम्पनी भएको हुँदा खेलाडीहरुको रोजाइमा पर्न सक्छ । अहिलेको अवस्थामा शेयर मूल्य कतिसम्म पुग्ला भन्ने कुरा ठुला लगानीकर्ताको स्क्रिप्ट बन्छ कि बन्दैन भन्ने कुराले पनि तय गर्छ । त्यसमा पनि संस्थापकहरु आफै दोस्रो बजारमा खेल्न थाले र बढेको बेलामा बिक्री गर्न थाले भने कम्पनीको शेयर मूल्य निश्चित समय पछि आफै घट्दै जान्छ । तर संस्थापकहरुको धेरै शेयर होल्ड गरेर केहि शेयर मात्रै बजारमा सप्लाइ गरे भने बजारमा राम्रो मूल्य बन्न सक्छ ।
यस कम्पनीलाई अहिलेको सन्दर्भमा उत्पादन तथा प्रशोधनमुलक कम्पनीको रुपमा सूचीकृत अन्य कम्पनी सँग तुलना गर्ने हो भने मुक्तिनाथ कृषि कम्पनी सँग तुलना गरेर हेर्न सकिन्छ । मुक्तिनाथको चुक्ता पूँजी ७० करोड छ । यस मध्ये २० प्रतिशत मात्रै आइपिओ मार्फत दोस्रो बजारमा फ्लट छ । अहिले मुक्तिनाको १४ करोड रुपैयाँ फ्लट छ । वित्तीय अवस्था हेर्ने हो भने मुक्तिनाथको पनि खासै राम्रो छैन । यद्यपी दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रारम्भिक चरणमा अधिकतम १९२६ रुपैयाँसम्म पुग्यो । अहिले पनि १६२६ रुपैयाँ छ ।
दोस्रो बजारमा पहिलो कारोबार कतिमा होला ?
कम्पनीको पछिल्लो पटक सार्वजनिक भएको लेखापरीक्षण प्रतिवेदन अनुसार नेटवर्थ ९०.१७ रुपैयाँ रहेको छ । यस हिसावले कम्पनीको पहिलो कारोबार २७०.५१ रुपैयाँमा हुनेछ ।
प्रतिक्रिया