NIMB Header 2
Nepal Life

विद्युत आपूर्तिका सम्वन्धमा उद्योग संगठन मोरङको ध्यानाकर्षण

Muktinath Bank
  • BFIS News
  • 2025 Mar 18 21:01
विद्युत आपूर्तिका सम्वन्धमा उद्योग संगठन मोरङको ध्यानाकर्षण
National Life

विराटनगर । भारतबाट आयात हुँदै आएको विद्युत बेलुका ६ बजे देखि बिहान ६ बजेसम्म पूर्ण रूपमा कटौती गर्ने (सोलार विद्युत मात्र उपलब्ध गराउने) र औद्योगिक प्रतिष्ठानहरूमा दैनिक १२ घण्टा भन्दा बढी लोडसेडिङ हुन सक्ने भनी विभिन्न सञ्चार माध्यममा आएको खबर प्रति उद्योग संगठन मोरङको गम्भीर ध्यानाकर्षण भएको छ।

NIMB

गत पुष महिनादेखि नै अघोषित रूपमा दैनिक ४–६ घण्टा विद्युत आपूर्तिको समस्या झेलिरहेका औद्योगिक प्रतिष्ठानहरूलाई थप कष्टकर बनाउने भएकोले तत्काल यस समस्याको समाधान खोज्न उद्योग संगठन मोरङले नेपाल सरकार तथा सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

विगत पाँच–सात वर्षदेखि नै हरेक सुख्खा याममा विद्युत आपूर्ति अवरुद्ध हुँदा संगठनले शक्तिशाली आवाज उठाउँदै आएको छ। सम्बन्धित पक्षबाट ट्रान्समिशन लाइन निर्माण भइसकेको र चाँडै यस्तो समस्या नआउने आश्वासन दिइएको थियो। तर हाल भारतबाट आयात कटौती भई विद्युत आपूर्ति अवरुद्ध हुने खबरले उद्योगी व्यवसायीहरूलाई आश्चर्यचकित तुल्याएको छ। विद्युत आपूर्तिको दीर्घकालीन व्यवस्थापनमा ठोस पहल र प्रयास नभएकोमा संगठनले गहिरो चिन्ता व्यक्त गरेको छ। यस अवस्थाले उद्योगहरूमा ६–१२ घण्टासम्म विद्युत आपूर्ति पूर्ण रूपमा बन्द हुने विषयले थप अन्योलता सिर्जना गरेको छ।

निजी क्षेत्रले अनुमानयोग्य औद्योगिक वातावरण हुनु पर्ने माग गर्दै आएको विदितै छ। तर, बजारमा कहिले तरलता अभाव, कहिले ब्याज वृद्धि, आर्थिक संकुचन तथा कहिले झ्याप्प कसिलो त कहिले खुकुलो हुने नीतिगत अस्थिरताले नेपालको औद्योगिक क्षेत्र प्रभावित हुँदै आएको छ। पर्याप्त विद्युत रहेको भनिए पनि आयातमा निर्भर रहनुपर्ने अवस्थाले थप अन्योलता बढाएको छ। जलस्रोतको धनी देश नेपालमै दीर्घकालीन सोच र आत्मनिर्भरताको ठोस कार्य नगर्दा औद्योगिक क्षेत्र प्रताडित भएको संगठनको ठहर छ।

ऊर्जा, उद्योगको आधारभूत कच्चा पदार्थ हो। माग अनुसारको विद्युत नियमित आपूर्ति हुने सुनिश्चिततासँगै लगानीकर्ताले उद्योग सञ्चालन गर्छन्। तर, विद्युत आपूर्तिमा देखिएको अनिश्चितताका कारण भएको लगानी जोखिममा पर्ने मात्र नभई नयाँ लगानीसमेत प्रभावित हुने निश्चित छ। हरेक वर्ष सुख्खायाममा दोहोरिने यो समस्या समाधानका लागि नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरणसँग उद्योग संगठन मोरङले तत्काल ठोस योजना सार्वजनिक गर्न आग्रह गरेको छ। विद्युत आपूर्तिको समस्या वर्षेनि दोहोरिरहँदा पनि समाधानका लागि ठोस योजना ल्याउनुभन्दा सम्बन्धित निकायहरूबीच आपसी द्वन्द्व रहनु दुःखद रहेको संगठनको भनाइ छ।

उद्योगहरूमा निरन्तर र गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्थाका लागि तत्काल ठोस कदम चाल्न नेपाल सरकारसँग उद्योग संगठन मोरङले जोडदार माग गरेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया