Nepal Life

निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले विकास र रोजगारीमा नकारात्मक असर : अध्यक्ष ढकाल

NMB Bank
  • BFIS News
  • 2025 Mar 22 14:24
निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले विकास र रोजगारीमा नकारात्मक असर : अध्यक्ष ढकाल
United Ajod

काठमाडौं, चैत्र ८ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई निरुत्साहित गर्ने गतिविधिले देशको विकास र रोजगारीमा नकारात्मक असर पार्ने बताएका छन्।

Shikhar
Nepal Life
NIMB

नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले नीतिगत स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्य रोक्नुपर्ने धारणा व्यक्त गरे।

"निजी क्षेत्रले ठूलो जोखिम मोलेर लगानी गर्छ, रोजगारी सिर्जना गर्छ, राज्यलाई कर तिर्छ। तर, पछिल्लो समय कतिपय गतिविधिले आम जनतामा निजी क्षेत्रप्रति नकारात्मक धारणा फैलाइरहेका छन्। यसमा परिवर्तन आवश्यक छ," उनले भने।

सरकारले हालै गरेका नीतिगत सुधारहरूबाट निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बन्ने विश्वास रहेको बताउँदै उनले ती सुधारहरूको प्रभावकारी कार्यान्वयनका लागि छिट्टै नियमावली र कार्यविधि ल्याउन सरकारलाई आग्रह गरे।

उनले नेपालमा ठूला परियोजनाहरू सञ्चालन गर्न प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै निजी क्षेत्रको पहलमा नेपाल डेभलपमेन्ट पब्लिक इन्भेस्टमेन्ट कम्पनी स्थापना गरी काम अघि बढाइएको जानकारी दिए।

स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउँदै उनले महासंघले व्यवसायिक वातावरण सुधार र लगानी प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरे। यसका लागि सरकार तथा सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गरिरहेको उनले स्पष्ट पारे।

आर्थिक विकासका लागि सकारात्मक वातावरण निर्माण गर्न तथा लगानी वृद्धि गर्न उनले सरकारलाई आग्रह गरे। साथै, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा केन्द्रित उद्योगहरूलाई आगामी बजेटमा प्राथमिकता दिन सुझाव दिए।

पछिल्लो समय सिमेन्ट र फलामको मूल्यवृद्धि तथा लोडसेडिङ जस्ता समस्याले औद्योगिक तथा व्यवसायिक क्षेत्र प्रभावित भएको उल्लेख गर्दै उनले सरकारलाई यस्ता समस्याको शीघ्र समाधान खोज्न आग्रह गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया