ट्रम्प प्रशासनको नयाँ निर्णय : केही इलेक्ट्रोनिक्स सामग्रीमा ट्यारिफ छुट, एप्पललाई अझै अमेरिका सार्ने सम्भावना न्यून
- BFIS News
- 2025 Apr Mon 05:48

काठमाडौं, बैशाख १ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ मा घोषणा गरेको “प्रतिशोधात्मक” ट्यारिफ नीतिमा पछिल्लो संशोधन भएको छ। ट्रम्प प्रशासनले केही इलेक्ट्रोनिक्स सामग्रीमा ट्यारिफ छुट दिने निर्णय गरेको छ।
शुक्रबार राति अमेरिकी भन्सार तथा सीमा सुरक्षा (CBP) ले सार्वजनिक गरेको सूचनामा स्मार्टफोन, ल्यापटप, हार्ड ड्राइभ, फ्ल्याट प्यानल मोनिटर, सेमिकन्डक्टर तथा चिप्स बनाउने मेसिनहरूलाई ट्यारिफबाट छुट दिइने उल्लेख गरिएको छ। यो छुट आगामी अप्रिल ५ देखि लागू हुनेछ। यस निर्णयले चीनमा निर्माण भएका आइफोनसहितका सामग्रीहरूमा ट्रम्पले लगाएको उच्च “प्रतिशोधात्मक” महसुल नलाग्ने भएको छ।
तर राष्ट्रपति ट्रम्पका नीति उपप्रमुख स्टेफन मिलरले यी सामग्रीहरू अझै पनि अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक अधिकार ऐन (IEEPA) अन्तर्गत २० प्रतिशत महसुलको दायरामा पर्ने जानकारी गराएका छन्।
यदि यी ट्यारिफहरू पूर्ण रूपमा लागू भएको खण्डमा, इलेक्ट्रोनिक्स सामानको मूल्यमा ठूलो वृद्धि हुने र एप्पल, माइक्रोसफ्ट, एनभिडिया, सामसुङ जस्ता प्रविधि कम्पनीहरू प्रभावित हुने सम्भावना रहेको विज्ञहरूको चेतावनी छ। केही विश्लेषकको अनुमानमा आइफोनको मूल्य हजारौं डलरले महँगिने सम्भावना थियो, विशेषतः उत्पादन अमेरिका सारिएमा।
राष्ट्रपति ट्रम्पले प्रविधि कम्पनीहरूलाई आफ्ना उद्योग तथा उत्पादन इकाइ अमेरिका ल्याउन प्रोत्साहित गरिरहेका छन्। उनले एप्पलले आगामी चार वर्षभित्र ५०० अर्ब डलर लगानी गर्ने घोषणा गरेको पनि स्मरण गराएका छन्।
तर एप्पलले अहिलेसम्म आइफोन उत्पादन अमेरिका ल्याउने कुनै औपचारिक योजना सार्वजनिक गरेको छैन। विश्लेषक ड्यान आइभ्सका अनुसार एप्पलको जटिल आपूर्ति श्रृंखला चीन र भारतमा भएकाले उत्पादन सार्न वर्षौँ लाग्ने र अरबौँ डलर खर्च लाग्ने बताइएको छ। उनले उत्पादन सर्न सके २०२८ भन्दा अगाडि सम्भव नहुने बताएका छन्।
ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै केही ‘स्पष्ट कारण’ का लागि छुट दिने निर्णय गरिएको बताए पनि ती कारण भने खुलाएका छैनन्। उनले भनेका छन्, “१० प्रतिशत भनेको न्यूनतम हो।”
२०२४ को अमेरिकी जनगणना ब्युरो अनुसार चीन अमेरिका आपूर्ति गर्ने दोस्रो ठूलो देश हो। चीनबाट आइपुग्ने ब्रडकास्टिङ उपकरण तथा कम्प्युटरहरूको ठूलो हिस्सा अमेरिकामा खपत हुने गर्दछ। यही कारण ट्रम्पको ट्यारिफ निर्णयले बजारमा व्यापक असर पारेको छ।
ट्रम्पले अप्रिल ९ मा अधिकांश “प्रतिशोधात्मक” महसुल ९० दिनका लागि स्थगन गर्ने निर्णय गरे पनि चीनमाथि भने उच्च ट्यारिफ कायम राखिएको छ। हाल चीनमाथि १२५ प्रतिशत प्रतिशोधात्मक महसुल र २० प्रतिशत IEEPA महसुलसहित १४५ प्रतिशत भन्सार शुल्क कायम छ। यसको प्रत्युत्तरमा चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशत महसुल लगाइसकेको छ।
एप्पलले भने यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन। यद्यपि, आगामी मे १ मा कम्पनीका सीईओ टिम कुकले त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै विश्लेषकहरूको प्रश्नको जवाफ दिने कार्यक्रम तय भएकाले यो विषय उठ्ने अनुमान गरिएको छ।
ट्रम्प प्रशासनको ट्यारिफ निर्णयपछि एप्पलको शेयर मूल्य १५ प्रतिशतले घटेको र कम्पनीको बजार मूल्य ५०० अर्ब डलरले खुम्चिएको छ। विश्लेषक दीपन्जन चटर्जीका अनुसार, एप्पलले सेवा क्षेत्र (एप स्टोर, म्यूजिक, क्लाउड आदि) बाट ९६ अर्ब डलर आम्दानी गरिरहेकोले तत्काल प्रभाव कम देखिए पनि दीर्घकालीन असर पर्ने सम्भावना छ।
सन् २०१७ मा चीन सम्मेलनमा टिम कुकले अमेरिकी श्रम बजारमा दक्ष प्राविधिक जनशक्ति अभाव रहेको भन्दै उत्पादन अमेरिका सार्न गाह्रो पर्ने बताएका थिए। ट्रम्प प्रशासनको निरन्तर दबाबपछि एप्पलले भारत र भियतनाममा पनि केही उत्पादन सुरु गरिसकेको छ। तर हालको परिस्थितिमा आइफोन अमेरिका ल्याउने सम्भावना अझै टाढा देखिएको विश्लेषकहरूको भनाइ छ ।
प्रतिक्रिया