विश्वकै खराव अर्थतन्त्रले जलवायु संरक्षणका मुद्दा ओझेलमा पर्न सक्ने चिन्ता
- BFIS News
- 2025 Apr Mon 06:04

काठमाडौं । बुधबार अमेरिकामा “मुक्ति दिवस” को रूपमा मनाइयो, जब राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको रोज गार्डेनबाट अमेरिकाका साझेदार तथा प्रतिस्पर्धी सबैमाथि भन्सार (ट्यारिफ) घोषणा गरे। त्यसपछि लगत्तै, संसारभरका बजारमा व्यापारीहरूले स्टक बेच्न थाले र अर्थशास्त्रीहरूले केही महिना अघि भन्दा महँगी अझै बढ्ने चेतावनी दिए। आर्थिक मन्दीको सम्भावना बढेको छ।
जलवायु चिन्तित व्यक्तिले यो अवस्था जलवायु अभियानमा थप अवरोध हुने डर गर्नु स्वाभाविक हो। बजारमा आएको यस अफ्ठ्यारो घडीले कम्पनीहरूलाई आर्थिक घाटा रोक्न मात्रै केन्द्रित हुन बाध्य पार्न सक्छ। तर यसको अर्थ यो भने होइन कि कम्पनीहरूले आफ्ना जलवायु कार्यक्रमहरूलाई दोस्रो दर्जामा राख्ने वा रद्द नै गरिदिने छन्।
केही वर्षयता, धेरै कम्पनीहरूले वातावरण सम्बन्धी प्रतिबद्धताहरूलाई दीर्घकालीन योजना वा प्रचारमुखी प्रयासका रूपमा मात्र नराखी छोटो अवधिमै आर्थिक फाइदा दिलाउने उपायका रूपमा रूपान्तरण गरेका छन्। अब आउने आर्थिक अन्योलले यो कुराको परीक्षा लिन्छ — के कम्पनीहरूले जलवायु पहललाई फाइदाजनक अवसरका रूपमा हेरेर अघि बढ्ने कि खर्चिलो भनेर छोडिदिने ?
आर्थिक अन्योलको बेला प्रायः कम्पनीहरूले खर्च घटाउन र भविष्यको लागि नगद जगेडा गर्न पहल गर्छन्। कुनै समय यस्तो मानिन्थ्यो कि खर्च कटौतीका क्रममा जलवायु कार्यक्रम सजिलै हटाइने क्षेत्र हो। तर आजको दिनमा अवस्था त्यस्तो छैन। कोरोना महामारीपछिका वर्षहरूमा कम्पनीहरूले वातावरण संरक्षणमा दोब्बर लगानी गरे र लगानीकर्ताहरूले ईएसजी (पर्यावरण, सामाजिक र शासन) फन्डहरूमा ठूलो रकम खन्याए। शून्य ब्याजदरको समयमा जोखिमपूर्ण र कहिलेकाहीं अव्यावहारिक लगानी जस्तै, यी ईएसजी फन्डका खरबौं डलरले कम्पनीहरूलाई धेरैजसो आर्थिक यथार्थभन्दा अलग वातावरणीय प्रतिबद्धता गर्न प्रेरित गर्यो।
तर पछिल्ला वर्षहरूले कम्पनीहरूलाई गम्भीर हुन बाध्य पारेका छन्। कतिपयले आफ्नो क्षमता अनुसार लक्ष्य नपुग्ने देखेर पछि हटे भने, अरूले वातावरणीय कार्यक्रमलाई आर्थिक लाभसँग जोड्दै अझ दृढ भएका छन्। हरेक कम्पनी र क्षेत्र फरक हुन्छ, तर आर्थिक अनिश्चितताको अवस्थामा वातावरणीय पहलको सबैभन्दा ठूलो लाभ भनेको दक्षता (efficiency) हो। दक्षताले लागत मात्र घटाउँदैन, उत्सर्जन पनि घटाउँछ।
अर्को आर्थिक मन्दीको बेलामा दिइने सल्लाह भनेको — राम्रो स्थितिमा रहेका कम्पनीहरूले दीर्घकालीन रणनीतिक लगानीको अवसर खोज्ने हो। धेरै अध्ययनहरूले देखाएका छन् कि आर्थिक संकटको बेलामा गरिएका रणनीतिक लगानीहरूले प्रतिस्पर्धीहरूभन्दा कम्पनीलाई पछि आर्थिक सुधार हुँदा उत्कृष्ट नतिजा दिन्छ। अग्रीम सोच भएका कम्पनीहरूका लागि जलवायु र दिगोपन (sustainability) यस्तो लगानीको उपयुक्त क्षेत्र बन्न सक्दछ। किनकि जलवायु परिवर्तनका कारण आउने आपत्, आपूर्ति श्रृंखलामा अवरोध र अन्य असरहरू कम्पनीहरूले झेल्नैपर्छ। अनि अमेरिकामा नियमन फितलो भए पनि विश्वका अन्य प्रमुख बजारहरूमा जलवायु नियमहरू अझ कडा हुँदै गइरहेका छन्।
यदि यो सबै धेरै आशावादी लाग्छ भने, विगतका दुई आर्थिक मन्दी हेर्न सकिन्छ। २०११ मा, ग्रेट रेसिसनपछि पुन: उभिदै गर्दा हार्भर्ड बिजनेस स्कुलका अनुसन्धानकर्ताहरूले गरेका अध्ययनले उच्च दिगोपन अपनाउने कम्पनीहरूले अघिल्ला २० वर्ष र पछिल्लो मन्दीमा समेत वित्तीय रूपमा राम्रो नतिजा दिएको देखाएको थियो। अनि २०२० मा, कोभिडले ल्याएको मन्दीपछिको सुधारमा, खरबौं डलर ईएसजी फन्डमा गएका थिए।
तर यस पटक फरक कुरा के छ भने — अहिलेको आर्थिक अनिश्चितता अमेरिकी नीतिको परिणाम हो। ट्रम्पको ट्यारिफ नीति कत्तिको असर पार्छ भन्ने ठ्याक्कै आँकलन गर्न समय लाग्छ। तर यो स्पष्ट छ कि विश्वको सफा प्रविधि आपूर्ति श्रृंखला फेरबदल अवश्य हुन्छ।
यी सबै बीच, जसले जलवायु अभियानलाई आर्थिक फाइदासँग जोड्न सक्छन्, तिनीहरू यो आर्थिक झंझट पार गरेर दीर्घकालीन सफलताका लागि अझ मजबुत भएर अघि बढ्न सक्छन्। किनकि जलवायु संकट र समाधानले बजारलाई निरन्तर पुनःसंरचना गरिरहने छ।
प्रतिक्रिया