Nepal Life

अस्थायी, करार कर्मचारीलाई सामाजिक सुरक्षामा समेट्दै सरकार

RBB
  • BFIS News
  • 2025 Apr Tue 11:18
अस्थायी, करार कर्मचारीलाई सामाजिक सुरक्षामा समेट्दै सरकार
Shikhar detail

 

काठमाडौं । सरकारी सेवामा कार्यरत अस्थायी र करार कर्मचारीका लागि सुखद खबर आएको छ । अब उनीहरू पनि सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष २०८२ को पहिलो दिनै राजपत्रमा सूचना प्रकाशित गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।

NIMB

सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण तथा प्रतिष्ठानमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा समावेश गर्ने निर्णय गत चैत १५ गते नै भएको थियो । तर, नयाँ वर्षसँगै सूचना प्रकाशित भएसँगै अब औपचारिक रूपमा कार्यान्वयनमा आएको छ ।

सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रूपमा सूचीकृत गरिने यी कर्मचारीहरूलाई खाइपाई आएको तलबको न्यूनतम ६० प्रतिशतलाई आधारभूत तलब मानी योजना लागू गरिने छ । उक्त योजनाअन्तर्गत २० प्रतिशत रोजगारदाताबाट र ११ प्रतिशत कर्मचारीबाट योगदान गरिनेछ ।

सामाजिक सुरक्षा ऐन, २०७४ र सामाजिक सुरक्षा नियमावली, २०७५ बमोजिम गरिएको यो निर्णयबाट अस्थायी र ज्यालादारी कर्मचारीहरूमा राहत मिल्ने विश्वास गरिएको छ । लामो समयदेखि सामाजिक सुरक्षाको पहुँचबाहिर रहेका यी कर्मचारीलाई अब दुर्घटना, मातृत्व, रोगोपचार तथा पेन्सनलगायतका सुविधा प्राप्त हुने मार्ग खुला भएको छ ।

सरकारको यो कदमलाई कर्मचारीले स्वागत गर्दै स्थायी कर्मचारीसरह सुरक्षाको अनुभूति गराउने अपेक्षा लिएका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया