आर्थिक संकटमा गभर्नरको भूमिका : बेर्नान्केको उदाहरणीय कार्यशैली र अधिकारीको विवादास्पद कार्यकाल
- BFIS News
- 2025 May Thu 13:23

काठमाडौं। आर्थिक संकटको समयमा केन्द्रीय बैंकका गभर्नरको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा विश्वभर चर्चा भइरहँदा, अमेरिकी फेडरल रिजर्भका पूर्व गभर्नर बेन सलोम बेर्नान्के र नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीबीचको तुलनाले गहिरो सन्देश दिन्छ।
बेर्नान्के : संकटको समयमा सुझबुझपूर्ण नेतृत्व
सन् २००८ मा अमेरिकाबाट सुरु भएको विश्वव्यापी आर्थिक संकटले सम्पूर्ण विश्वलाई प्रभावित बनायो। विशेषतः अमेरिका र युरोपका बैंक र वित्तीय संस्थाहरू एकपछि अर्को गर्दै धराशायी हुँदै गए। अर्थशास्त्रीहरूले सन् १९२९ को महामन्दी दोहोरिने चेतावनी दिइरहँदा पनि त्यसको पुनरावृत्ति हुन दिएनन् बेन सलोम बेर्नान्केले।
सन् २००६ देखि फेडरल रिजर्भको प्रमुख बनेका बेर्नान्केले संकटग्रस्त वित्तीय संस्थाहरूलाई डुब्न नदिने, उद्धार गर्न सकिने संस्थाहरूलाई जोगाउने र राम्रोसँग चलेका संस्थाहरूलाई संकटको प्रभावबाट जोगाउने कार्यमा नेतृत्वदायी भूमिका खेले। उनले ब्याजदरलाई प्रभावकारी रूपमा नियमन गर्दै संकटका बेला शून्यसम्म झारे, जसले बैंक तथा उद्योगहरूलाई राहत मिल्यो। २००७ को ५.२५ प्रतिशत ब्याजदर २००८ को अन्त्यसम्म ०–०.२५ प्रतिशतमा झारेका थिए।
त्यसको परिणामस्वरूप अमेरिकी अर्थतन्त्र अपेक्षाकृत छिटो उकासियो, बेरोजगारी दर घटाउन र लगानी प्रवाह बढाउन मद्दत पुग्यो। फेडको ब्यालेन्स शीट सन् २००७ मा ४.९ ट्रिलियनबाट २०१५ सम्म ४४.५ ट्रिलियन अमेरिकी डलरमा पुगेको थियो।
अधिकारी : अव्यवस्थित कार्यकाल र असफल आर्थिक व्यवस्थापन
नेपालमा भने स्थिति भिन्न देखियो। कोरोना महामारीको सुरुआतसँगै सन् २०२० (२०७६ चैत) मा नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका महाप्रसाद अधिकारीको कार्यकाल विवादास्पद रह्यो। उनको कार्यशैलीले अपेक्षित सुधार ल्याउन नसकेको भन्दै व्यापक आलोचना हुँदै आएको छ।
अधिकारीले कार्यकालमा विभिन्न विवादमा मुछिए—एमालेका अर्थमन्त्री बाहेक सबैसँग टकराव, पार्टीको आर्थिक विभागमा संलग्नता, मन्त्रीपरिषदबाट हटाइएपछि अदालतको स्टे अर्डरमार्फत पुनः कार्यभार सम्हाल्नेजस्ता घटनाले उनको निष्पक्षता र पदीय मर्यादामा प्रश्न उठाइयो।
तरलता अभावका बेला नीतिगत पहल नगर्नु, सहकारी क्षेत्रमा गम्भीर समस्या हुँदा पनि कुनै समाधानको प्रयास नगर्नु, कर्णाली विकास बैंक लगायत बैंकहरूको संकट व्यवस्थापन गर्न नसक्नु, खराब कर्जाको दर ३.६ प्रतिशत पुग्नु, आयात प्रतिस्थापन र आन्तरिक उत्पादन वृद्धिको नारा दिएर पनि व्यवहारमा कार्यान्वयन नगर्नु अधिकारीको कमजोर कार्यसम्पादनको उदाहरण बने।
कर्जाको माग र आपूर्ति दुबै रहँदा पनि बैंकहरूले लगानी गर्न नसक्नु र ऋणीले कर्जा नपाउनु राष्ट्र बैंकको असक्षम नेतृत्वकै परिणाम हो भन्ने अर्थशास्त्रीहरूको टिप्पणी छ।
निष्कर्ष
जहाँ बेर्नान्केले ऐतिहासिक आर्थिक संकटलाई प्रभावकारी नीतिगत निर्णयमार्फत नियन्त्रणमा ल्याएर उदाहरणीय नेतृत्व देखाए, त्यहाँ अधिकारीको कार्यकालमा नेपाली अर्थतन्त्र अझै बढी अस्थिर र अव्यवस्थित बन्दै गयो। मूल्यवृद्धि नियन्त्रणजस्तै देखिने उपलब्धिहरू पनि केन्द्रीय बैंकको रणनीतिक सफलताभन्दा नागरिकको क्रयशक्ति घट्नु जस्ता बाह्य कारणले भएको भन्ने विश्लेषण गरिएको छ।
यसरी हेर्दा, संकटको बेलामा केन्द्रीय बैंकको गभर्नरको भूमिका कति निर्णायक र संवेदनशील हुन्छ भन्ने कुरा बेर्नान्के र अधिकारीको कार्यकालबाट स्पष्ट हुन्छ। एकले संकट व्यवस्थापनको आदर्श स्थापित गरे, अर्काले अव्यवस्थापनको नमूना प्रस्तुत गरे।
प्रतिक्रिया