‘बोनस’ मात्र होइन, ‘सुरक्षा’ नै बीमाको मर्म हो, निर्देशक शाम्भराज लामिछानेको विश्लेषण
- शाम्भराज लामिछाने
- 2025 May Thu 22:36

काठमाडौं। नियमन महाशाखा अन्तर्गत रहेका जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा गरी चार प्रकारका छन् । यीनलाई नियमनको काम यो महाशाखाले गर्छ ।
कम्पनीहरूले गर्ने प्रत्येक व्यवसायका प्रत्येक एकाई क्रियाकलापहरूमा नजर पर्छ । त्यसैगरी अभिकर्ता, सर्भेयर तथा बीमाको दायराभित्र रहेका क्षेत्रहरूलाई नियमन गर्ने हो । त्यसका लागि आवश्यकता अनुसार नियमनकारी काम कतिपय कानूनद्वारा निर्देशित हुन्छन् ।
कतिपय निर्देशिकाद्वारा निर्देशित हुन्छन् । व्यवसाय गर्दा कहिलेकाहीँ कस्तो जटिलता आउँछ भने कानूनमा त्यो कुरा छैन । अन्तर्राष्ट्रिय अभ्यास पनि त्यो छैन र निर्देशनमा पनि त्यो कुनै अभ्यास छैन भने पनि तत्काल निर्णय लिनुपर्ने हुन्छ । त्यसका लागि हाम्रो नियमनकारी भूमिका त्यतिबेला महत्वपूर्ण हुन्छ । केको आधारमा उचित निर्णय लिने हो ।
कम्पनीहरू आफैँमा कानूनले बाँधिएका हुन्छन् । कानूनको दायरा बाहिर गएर काम गर्न पाउँदैनन् । यस्तै व्यवसायको सन्दर्भमा पनि प्रत्यक्ष हेरिरहेका हुन्छौँ । कतिपय अवस्थामा कम्पनीहरूमा अफ्ठ्याराहरू आउँछन् । त्यस्तो बेलामा सटिक रूपमा कम्पनीहरूलाई तत्काल निकास दिने क्षमता राख्नु नै नियमनकारी काम हो । यसमा विभिन्न उपकरणहरू हुन्छन्, कानून र निर्देशिकाहरू हुन्छन्, परिपत्र हुन्छ । व्यवसायको प्रकृति अनुसारका कुनै सुशासनसँग सम्बन्ध, कुनै बीमितको हितको सन्दर्भमा काम गरेका छन् कि छैनन् ।
बीमालाई आश्वासन र विश्वासको व्यवसाय भनिन्छ । कम्पनीलाई निश्चित समय पूरा भएपछि वा निश्चित घटना भएपछि पूर्ववत् रूपमा आर्थिक क्षतिपूर्ति दिन्छौँ भनेर प्रतिबद्धता गरिएको हुन्छ । त्यो बापत बीमितले निश्चित बीमा शूल्क तिरेको हुन्छ । त्यो आश्वासन कहिले गर्नुपर्छ भने जहिले घटना घट्छ । त्यसका लागि त्यो क्षमता बीमा कम्पनीले जहिले पनि व्यवस्थापन गर्नुपर्छ ।
आश्वासन बेच्यो, बीमालेख बेच्यो, बीमा शुल्क उठायो । दाबी दिन सकेन भने अफ्ठ्यारो हुन्छ । त्यसकारण कम्पनीहरूका लागि पुँजी कोष निर्धारण गरेको छ । जसले गर्दा परेको बेला दायित्व भुक्तान गर्न सजिलो हुन्छ । लगानीको हिसाबले पनि जहाँ पायो त्यही लगानी गर्न पाइँदैन । त्यसका लागि पनि प्राधिकरणले पोर्टफोलियो म्यानेजमेन्ट निर्देशिका तयार गरेर लागू गरेको छ ।
निश्चित रूपमा ग्यारेन्टेड ठाउँहरूमा मात्रै लगानी गर्नुपर्छ । जस्तै नेपाल सरकारको बन्डहरू, ऋणपत्र, ट्रेजरी बिलहरूमा ३५ प्रतिशत अनिवार्य रूपमा राख्नुपर्छ भने अन्य लगानीलाई विविधीकरण गर्ने सन्दर्भमा विभिन्न क्षेत्रहरू खोल्दै आएको छ । निश्चित प्रतिशत रियल स्टेट, हस्पिटालिटीमा लगानी गर्न दिएका छौँ । तर लगानी गरेर त्यहाँबाट आएको आम्दानीले बीमा कम्पनीहरूको दिगोपना कायम राख्न मद्दत होस् भन्ने हो ।
बीमा कम्पनीमा के हुन्छ भने एकातिर शेयर होल्डरहरू हुन्छन् । उनीहरूले पुँजी लगानी गरेपछि केही न केही फाइदा होस् भन्ने अपेक्षा गरेका हुन्छन् । यस्ता कुरालाई परिपूर्ति गर्नका लागि कम्पनीलाई जहिले पनि नाफामा रहनुपर्छ । यस्तै बीमितहरूको हकमा पनि जीवन बीमामा बोनसको रेटसँग कम्पनीको प्रतिष्ठा जोडिएको हुन्छ । प्रतिफल आउँदैन भने बीमा किन गर्ने त भन्दा यसको महत्वपूर्ण पाटो सुरक्षा हो । यस्तै कुरा बुझाउन हामीसँग तीन लाख अभिकर्ता गाउँगाउँसम्म छन् । यस क्रममा अभिकर्ताहरूले आफ्ना व्यवसायिक लक्ष्य पूरा गर्न अनेक आश्वासन पनि दिने गर्दछन् । गलत कागजात प्रयोग गरेर जसरी हुन्छ बीमा गर्ने पनि गर्दछन् ।
बीमा गर्नलाई आम्दानीको स्रोत हुनुपर्छ । प्रिमियम तिर्नलाई क्षमता राख्नुपर्छ । तर व्यावसायिक लक्ष्य पूरा गराउन आम्दानीको स्रोत केही पनि नहेरी बीमा लेख बेचिरहने प्रवृत्ति पनि छ । यसको असर बीमाको निरन्तरता र बीमा दाबी भुक्तानीमा पर्छ । जसले गर्दा बीमाप्रति नै वितृष्णा पैदा हुन्छ ।
बीमालेख हेरेर, जाने बुझेर बीमा गर्ने प्रचलन नेपालमा ज्यादै कम छ नेपालमा । त्यस्तालाई बीमाको दायराभित्र ल्याएर बीमा व्यवसायलाई अगाडि बढाउन सकिने सम्भावना छ । त्यसका लागि सुशासन कायम राख्ने काम प्राधिकरण अन्तर्गत नियमन महाशाखाले गर्दछ । त्यसका लागि आवश्यक निर्देशनहरू जारी गर्ने, नियमित निरीक्षण गर्ने पनि गर्दछौँ । बीमा क्षेत्रमा सुशासन कायम गर्ने भनेको नियमन महाशाखाले नै हो।
(लामिछाने नेपाल बीमा प्राधिकरणका निर्देशक हुन्।)
प्रतिक्रिया