Nepal Life

विश्व पौडेल राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त, गणितमा शतप्रतिशत अंक ल्याएका पौडेलको काधमा मुलुकको अंक गणित

RBB
  • BFIS News
  • 2025 May Tue 19:37
विश्व पौडेल राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त, गणितमा शतप्रतिशत अंक ल्याएका पौडेलको काधमा मुलुकको अंक गणित
Shikhar detail

काठमाडौँ, जेठ ६ गते। लामो समयदेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर पदमा सरकारले विश्वनाथ पौडेललाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नरको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।

NIMB

गभर्नर सिफारिस समितिको संयोजक रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको समितिले मंगलबार अपराह्न विश्वनाथ पौडेल, राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। सिफारिस समितिमा सदस्य रहेका पौडेलले आफैंको नाम सिफारिस हुने भएपछि पदबाट राजीनामा दिएका थिए।

नव नियुक्त गभर्नर पौडेलले सञ्चार माध्यम सँग कुराकानी गर्दै अर्थतन्त्र सशक्त रूपमा सञ्चालन गर्न नियमनभन्दा बढी प्रभावकारी सुपरिवेक्षणमा जोड दिनुपर्ने बताएका छन्। "नियमहरू कम गरिनुपर्छ तर सुपरिवेक्षण क्षमता धेरै बढाएर अर्थतन्त्र चलाउनुपर्छ," उनले भने, "त्यसैले कम नियम र ज्यादा सुपरिवेक्षणमै मेरो जोड रहन्छ।" यसले बैंक तथा वित्तीय संस्थाहरूलाई लचकता दिनुका साथै जबाफदेही पनि बनाउने उनको विश्वास छ।

मौद्रिक र वित्तीय नीतिको सम्बन्धबारे धारणा राख्दै उनले मौद्रिक नीतिलाई वित्त नीतिको सहयोगीका रूपमा हेर्नुपर्ने बताएका छन्। उनले भनेका छन् “मौद्रिक नीति भन्दा ठूलो कुरा वित्त नीति हो। किनभने देश चलाउने जिम्मा जनमत प्राप्त मन्त्रालयको हो, राष्ट्र बैंकको होइन।” 

शिक्षा, अनुभव र योगदान

चितवनको रत्ननगर, शान्ति चोकमा २०३२ सालमा जन्मिएका पौडेलले बाल्यकाल र स्कूली शिक्षा चितवनकै टाँडीस्थित नेपाल माध्यमिक विद्यालयबाट पूरा गरेका थिए। गणितमा शतप्रतिशत अंक ल्याएर देशका उत्कृष्ट विद्यार्थीमध्ये एक बनेका उनले अमृत साइन्स क्याम्पस (अस्कल) बाट आइएससी र त्रिभुवन विश्वविद्यालयबाट बीएससी गरेका थिए। जिआरई परीक्षामा अंग्रेजी र गणित दुवैमा पूर्णांक (८००/८००) ल्याएका उनी सन् १९९४ मा चीन गइ इञ्जिनियरिङ अध्ययनपछि अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट कृषि तथा प्राकृतिक स्रोत अर्थशास्त्रमा पीएचडी गरेका हुन्।

शिक्षा समाप्त भएपछि उनले काठमाडौं विश्वविद्यालयमा प्राध्यापन थाले। २०७२ को भूकम्पपछि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), नेपाल उद्योग परिसंघ (सिएनआई), अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) लगायत संस्थामा आर्थिक सल्लाहकारको रूपमा काम गरेका छन्। साथै, नेपाल इकोनोमिक्स ओलम्पियाडका अध्यक्ष, सानिमा बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडका सञ्चालक समिति सदस्य, र युलेन्स स्कुलका अभिभावक प्रतिनिधिका रूपमा पनि उनी सक्रिय थिए।

२०७८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले नेपाली कांग्रेसबाट चितवन–१ मा उम्मेदवारी दिएका थिए।

हाल उनी काठमाडौं विश्वविद्यालयमा प्राध्यापन गरिरहेका छन्। पौडेल विगत दुई वर्षदेखि नेपालको आर्थिक इतिहास समेटिएको ९०० पृष्ठको पुस्तक लेखिरहेका छन्, जुन चाँडै प्रकाशन हुने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया