Nepal Life

नाडा अटो सो : प्रदर्शनमा राखिएका विद्युतीय गाडी, कुनको मूल्य कति ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sat 20:38
नाडा अटो सो : प्रदर्शनमा राखिएका विद्युतीय गाडी, कुनको मूल्य कति ?
Sanima Reliance

काठमाडौं । नाडा अटो सोमा एमजी, बिवाइडी, टाटा, हुन्डाई, सेरेस, ग्रेटवाल, सिट्रोन, निटा, मेक्सस, विलिङ ब्रान्डका विद्युतीय कार प्रदर्शनीमा छन् । यस्तै, आधा दर्जनभन्दा बढी विद्युतीय भ्यान ब्रान्ड पनि अटो सोमा छन् । टेस्ला, अउडी, बिएमडब्लूलगायत ब्रान्डका विद्युतीय कार नेपाली बजारमा भित्रिसके पनि अटो सोमा भने छैनन् । हुन्डाई, महिन्द्रा, सुजुकी, फोर्ड, कियालगायत सीमित ब्रान्डका पेट्रोल, डिजेलबाट चल्ने कार प्रदर्शनीमा राखिएका छन् । नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने गाडीको बिक्री नै घटेको छ ।

NIMB

बिवाइडी : अटो थ्री, इसिक्स, डल्फिन, सिल

बिवाइडीको अटो सोमा चारवटा मोडल अटो थ्री, इसिक्स, डल्फिन र सिल प्रदर्शनमा राखिएको छ । डल्फिन सबैभन्दा सस्तो र सिल प्रिमियम कार हो । जसमध्ये अटो थ्री सर्वाधिक लोकप्रिय छ । अटो थ्री एडभान्समा ४९.९२ किलोवाटको ब्याट्री, १०० किलोवाटको मोटर रहेको छ । यसको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ छ । यस्तै, सुपेरियरमा ६०.४८ किलोवाटको ब्याट्री र १०० किलोवाट मोटरपावर छ । यस मोडलको मूल्य ६५ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

बिवाइडीको अल न्यु इ–सिक्सको लङ रेन्जमा ७१.७ किलोवाटको ब्याट्री, ७० किलोवाटको मोटरपावर रहेको छ । फुलचार्जमा पाँच सय २२ किमि माइलेज दिने भनिएको यस मोडलको मूल्य ५९ लाख रुपैयाँ छ । हालै लन्च गरिएको डल्फिनमा ७० किलोवाटको मोटर र ४४.९ किलोवाट आवरको ब्याट्री प्याक छ, जसको मूल्य ३९ लाख ८० हजार रुपैयाँ छ ।

टाटा : नेक्सन, टिगोर, एक्सप्रेस–टी र टियागो

टाटाका नेक्सन, टिगोर, एक्सप्रेस–टी र टियागो गरी चारवटा विद्युतीय कार बजारमा आइसकेका छन् । कम्प्याक्ट एसयुभी नेक्सन इभी सर्वाधिक रोजाइमा पर्छ । नेक्सन इभी म्याक्सको मूल्य ४९ लाख रुपैयाँ रहेको छ । यस्तै, टाटाकै २६ किलोवाट ब्याट्री र ५५ किलोवाट मोटर भएको टिगोरको मूल्य ३४ लाख रुपैयाँ छ । टाटाले नाडा अटो सोमा टियागो इभी सार्वजनिक गरेको छ, जसलाई हेर्न दर्शकको भिड छ । विभिन्न पाँच भेरियन्टमा उपलब्ध टियागो इभीको मूल्य २२ लाखदेखि २८ लाख रुपैयाँसम्म तोकिएको छ । सेडान एक्सप्रेस–टी विद्युतीय ट्याक्सीका रूपमा प्रयोग भइरहेको छ ।

एमजी : जेडएस, एमजी फोर र कोमेट

नाडामा एमजीको एमजी जेडएस, एमजी फोर, एमजी कोमेट प्रदर्शनीमा छन् । एमजी फोर र कोमेट हालै नाडालाई लक्षित गरेर सार्वजनिक गरिएको हो । अहिले एमजी जेडएस इभीमा ५१ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाटको मोटर रहेको छ । जसको मूल्य ५३ लाख रुपैयाँ छ । एमजी जेडएसका अरू भेरियन्ट पनि छन् । एमजी लङ रेन्जको मूल्य ७२ लाख रुपैयाँ रहेको छ ।

एमजी फोर कम्फर्ट र लक्जरी गरी दुई भेरियन्टमा उपलब्ध छ । कम्फर्टमा ५१ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवटाको मोटरजडित छ । यसको सुरुवाती मूल्य ४१ लाख ४९ हजार रुपैयाँ रहेको छ । यस्तै एमजी फोर लक्जरीमा ६४ किलोवाट आवरको ब्याट्री र एक सय ५० किलोवाटको मोटरपावर छ । यसको मूल्य ५९ लाख रुपैयाँ रहेको छ । एमजीको मिनी इभी कोमेट पनि सार्वजनिक गर्ने बताइएको छ । यसमा १७.३ किलोवाट आवरको ब्याट्री र ३१.२६ किलोवाटको मोटर छ । यो पनि प्ले र पेस गरी दुई भेरियन्टमा छ । नेपाली बजारमा कोमेटको सुरुवाती मूल्य १८ लाख रुपैयाँ तोकिएको छ ।

हुन्डाई : कोना, आयोनिक फाइभ

नाडा अटो सोमा हुन्डाईले कोना इभी प्रदर्शनीमा राखेको छ । र, अरू आइसी इन्जिन गाडी प्रदर्शनीमा देखिन्छन् । दुई भेरियन्टमा उपलब्ध सय किलोवाट मोटरपावर भएको कोनाको मूल्य ६२ लाख र ६५ लाख रुपैयाँ रहेको छ । एक सय २५ किलोवाट मोटरपावर भएको आयोनिक फाइभको मूल्य एक करोड दुई लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

सिट्रोन : सी थ्री

नाडामा सिट्रोनको सी थ्री इभी प्रदर्शनीमा राखिएको छ । तुलनात्मक रूपमा कम मूल्यको गाडीले उपभोक्ताको पनि ध्यान तानेको छ । दुई भेरियन्टमा उपलब्ध सिट्रोनको मूल्य ३३ लाख र ३५ लाख रुपैयाँ रहेको छ ।

निटा : भी, एस, जिटी, यू

अटो सोमा निटाका चारवटा मोडल प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा सबैभन्दा बढी भिडभाड निटाको स्टलमा देखिन्छ । निटा भी, निटा एस, निटा जिटी र निटा यू गरी चारवटा भेरियन्ट प्रदर्शनीमा राखिएको छ । दर्शकको सबैभन्दा बढी चासो नेटा जिटी र नेटा एसमा देखिन्छ । प्रिमियम सेगमेन्टका यी दुवै मोडल मेलामा अहिले प्रदर्शनमा मात्र राखिएको हो ।  अहिले बजारमा निटा भी उपलब्ध छ । ३८.५४ किलोवाट आवरको ब्याट्री प्याक र ७० किलोवाटको मोटर रहेको निटा भीको मूल्य ३९ लाख रुपैयाँ रहेको छ ।

निसान : लिफ

अटो मेलामा निसान लिफ इभी प्रदर्शनीमा राखिएको छ । अरू चारवटा मोडल आइसी इन्जिनवाला कार हुन् । निसानका अरू कारमा भन्दा लिफ इभीमा बढी दर्शक तानिएका छन् । ४० किलोवाट आवरको ब्याट्री प्याक र ११० किलोवाट आवरको मोटरपावर रहेको लिफको मूल्य ६५ लाख रुपैयाँ छ ।

सेरेस : सेरेस थ्री र मिनी इभी

नाडामा सेरेसले सेरेस थ्री र मिनी इभी प्रदर्शनीमा राखेको छ । सेरेस थ्री कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा र मिनी इभी तीनवटा भेरियन्टमा उपलब्ध छ । सेरेसको स्टलमा उपभोक्ताको बाक्लै भिड लागेको देखिन्छ । मिनी इभीको मूल्य १४ लाखदेखि १८  लाख रुपैयाँसम्म रहेको छ । सेरेस थ्री कम्फर्टको ५० लाख र प्रिमियमको ५३ लाख रुपैयाँ छ ।

ग्रेटवाल : ओरा थ्री इभी

ग्रेटवाल मोटरको विद्युतीय कार ओरा थ्री अटो सोमा राखिएको छ । ग्रेटवालका आइसी इन्जिन गाडीले भन्दा उपभोक्ताको ध्यान ओरा थ्रीले खिचेको देखिन्छ । ९९ किलोवाट मोटरपावर रहेको ओराले फुल चार्जमा चार सय किलोमिटर माइलेज दिने दाबी गरिएको छ । यो गाडीको मूल्य ४७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

मेक्सस : मिफा–९

नाडा अटो सोमा मेक्सस ब्रान्डको मिफा–९ इभी प्रदर्शनीमा राखिएको छ । प्रिमियम सेगमेन्टको यस गाडीको मूल्य एक करोड ४० लाख रुपैयाँ रहेको छ । तीन ड्राइभ मोड, सेभेन सिटर र फुल चार्जमा ५२० किलोमिटर माइलेज दिने भनिएको मिफा नाडामा राखिएको महँगोमध्येको इभी हो । यसमा ९० किलोवाट आवरको ब्याट्री प्याक रहेको बताइएको छ ।

इभीमा चार्जर उपहार इन्धन गाडीमा नगद छुट

नाडा अटो सोमा विद्युतीय गाडीमा नगद छुट दिइएको छैन । तर, इभी बुकिङ गर्दा कतिपय कम्पनीले चार्जर निःशुल्क, रोड ट्याक्सदेखि इन्स्योरेन्ससम्म तिरिदिने अफर ल्याएका छन् । आइसी इन्जिन गाडीमा भने नगद छुट नै उपलब्ध गराइएको छ । महिन्द्राले गाडीको मोडल हेरीकन एक लाखदेखि पाँच लाखसम्म नगद छुट दिएको छ ।

ग्रेटवालको ओरा इभीमा सात किलोवाटको चार्जर र एक वर्षको इन्स्योरेन्स अफर ल्याइएको छ । सिट्रोनले नाडामा गाडी बुकिङ गर्नेलाई एक वर्षको इन्स्योरेन्स र रोड ट्याक्स तिरिदिने योजना ल्याएको जनाएको छ । निटा भी खरिद गर्नेले फ्रिज, टिभीलगायत होमअप्लायन्स प्राप्त गर्नेछन् । मारुतीले नाडामा एक लाखसम्मको स्क्र्याच कुपनमार्फत छुट दिने अफर ल्याएको छ । कियाले नाडामै लन्च गरेको स्पोर्टेज कारमा तीन लाखसम्म डिस्काउन्ट, सेल्टोसमा एक लाख र सोनेटमा ५० हजार छुट दिइरहेको छ । एमजीले जेडएस इभीमा सात किलोवाटको चार्जर, एक वर्षको इन्स्योरेन्स र एउटा टायर उपलब्ध गराएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया