नेपाल लाइफका जुहारी लाल चौलागाई लगातार तेस्रो पटक एमडिआरटी बन्न सफल, सिओटी बन्ने लक्ष्यका साथ अगाडी बढ्दै
- BFIS News
- 2025 Jun Mon 19:36

काठमाडौं, जेठ १९ गते। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ एजेन्सी म्यानेजर जुहारी लाल चौलागाई लगातार तेस्रो पटक एमडिआरटी बन्न सफल भएका छन्। ६ महिना मै एमडिआरटी बन्न सफल उनले सन् २०२६ मा सिओटी बन्ने लक्ष्य लिएका छन्।
सन् २०२६ का लागि एमडिआरटी बन्नको लागि ५३ लाख ९६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्नु पर्छ। त्यस्तै सिओटी बन्न एमडिआरटीको तीन गुणा एक करोड ६१ लाख र टिओटी बन्न तीन करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्नु पर्छ।
मुगुका जुहारी लाल चौलागाईंले इन्सेकको प्रशिक्षक, नेपाली प्रहरी हुँदै युएईमा सुरक्षाकर्मीको रूपमा काम गरे, तर मनमा सधैं केहि न केही अपूरो रहिरह्यो। जव बीमा क्षेत्रमा होमिए त्यस पछि उनलाई बीमा क्षेत्र सबैभन्दा सन्तुष्टीको पेशा लाग्यो।
चौलागाईंको जन्म २०४२ साल कात्तिक ७ गते मुगु जिल्ला, छायानाथ रारा नगरपालिका–२, चैन गाउँमा मध्यम वर्गीय परिवारमा भएको हो। चार भाइमध्येका साइला छोरा चौलागाईं सानैदेखि शान्त, सरल र नेतृत्वदायी स्वभावका थिए। यही गुणका कारण उनले कक्षा १२ मा विद्यार्थी अध्यक्षको भूमिका समेत निर्वाह गरे। त्यसपछि माओवादी द्वन्द्वको समयमा ‘इन्सेक’मा मानव अधिकार तथा सुशासनको प्रशिक्षक भएर काम गरे। २०६३ साल फागुनमा भने उनले प्रहरी जवानको रूपमा नेपाल प्रहरीमा प्रवेश गरे।
नेपालगन्ज, दाङ र काठमाडौंमा ट्राफिक प्रहरीको रूपमा कार्यरत चौलागाईंले २०७० चैतमा जागिरबाट अवकाश लिएर वैदेशिक रोजगारको बाटो रोजे। युएईमा सुरक्षा सुपरभाइजरको रूपमा उत्कृष्ट काम गरे, थुप्रै पटक पुरस्कृत पनि भए। तर ४ वर्षपछि तीन महिनाको छुट्टीमा नेपाल फर्कँदा, आफ्ना नातेदार बादु राजबंशीसँगको कुराकानीले उनको जीवनको बाटो नै मोडिदियो।
राजबंशीले उनलाई विदेशमा मात्र बसेर नभई नेपालमै स्थायीत्वको खोजी गर्न सुझाव दिए। त्यसै क्रममा उनले नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता बन्ने निर्णय गरे। २०७४ साल साउनमा उनले अभिकर्ता लाइसेन्स लिए र २२ औं दिनमै एजेन्सी म्यानेजर बन्न सफल भए। सुरुवाती तीन महिनामै ५३ लाख रूपैयाँको प्रथम बीमा शुल्क संकलन गर्दै नेपालगन्ज शाखाबाट सम्मानित भएका चौलागाईंले तबदेखि कहिल्यै पछाडि फर्केर हेर्नु परेन।
उनले तीन महिनाको छुट्टीपछि युएई गएर त्यहाँको जागिरबाट स्थायी रूपमा राजीनामा दिए र नेपाल फर्किए। त्यसपछि उनले आफ्नो क्षमताको सदुपयोग गर्दै बीमा व्यवसायमा होमिए। नेपाल लाइफ इन्स्योरेन्सको कोहलपुर शाखामा कार्यरत चौलागाईं अहिले सिनियर एजेन्सी म्यानेजरको रूपमा कार्यरत छन्। उनको निरन्तर मेहनतले गर्दा उनले पहिलो २०२४ को लागि ‘मिलियन डलर राउन्ड टेबल (MDRT)’ को योग्यता प्राप्त गरे। उनि २०२५ र अहिले २०२६ का लागि पनि योग्य भएका छन्।
चौलागाईं भन्छन्, “हामी दैनिक जीवनमा साना–साना कुरामा पनि सुरक्षाका उपायहरू अपनाउँछौं – जस्तै घरको सटर लगाउने, हेल्मेट लगाउने, सिटबेल्ट बाँध्ने। तर जीवन बीमा भने सबैभन्दा आधारभूत सुरक्षा हो, जुन हामीले अनिवार्य गर्नैपर्छ।” उनले जीवन बीमालाई सामाजिक सेवाको भावनाले हेर्ने गरेका छन्। यहि दृष्टिकोणबाट अभिप्रेरित चौलागाई विहानदेखि बेलुकासम्म बीमाका लागि खटिन्छन्। उनि तथा उनको टिमले सन् २०२५ मा मात्रै तीन सय भन्दा धेरै बीमा पोलिसी भित्र्याइसकेको छ।
यस सफलतामा साथ दिने सबै प्रति उनले कृतज्ञता व्यक्त गरेका छन्। 'MDRT 2026' का लागि छनोट हुन सफल भए सँगै उनले भने, “यो गौरवपूर्ण सफलताको श्रेय म एक्लैले लिन सक्दिन। मेरो साथ, समर्थन र विश्वास गर्ने सम्पूर्ण बीमित महानुभाव, साथीसँगी, ग्राहक, परिवारजन, शुभचिन्तक र नेपाल लाइफको व्यवस्थापन टिमप्रति म हृदयदेखि आभारी छु।”
चौलागाईंको यो सफलताले एउटा साधारण व्यक्तिले नेपालमै बसेर कसरी असाधारण सफलता प्राप्त गर्न सक्दछ उदाहरण प्रस्तुत गरेका छन्। सरकारी जागिर र विदेशको आकर्षणलाई छाडेर, बीमालाई जीवनको पवित्र मिशन बनाएका चौलागाईं अहिले सयौं परिवारको सुरक्षित भविष्यका लागि निःस्वार्थ सेवा गरिरहेका छन्।
उनको यस सफलतामा नेपालगन्ज शाखा प्रमुख बिष्णु शर्माको साथ सहयोगलाई कहिल्यै पनि विर्सन सक्दैनन्। बीमा पोलिसी ल्याउन सधै अभिप्रेरित गर्ने शर्माले उनलाई ठुलो मद्दत पुर्याएका छन्। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लुम्बिनी प्रदेश प्रमुख पुर्षोत्तम सापकोटा प्रति पनि उनि कृतज्ञ छन्।
उनको यो यात्रा एमडिआरटी भन्दा पनि सिओटीसम्मको हो। उनले सन् २०२६ मा सिओटी बन्ने लक्ष्य बोकेका छन्। यसका लागि उनि विहान सबेरै घरबाट निष्कन्छन् र नेपालगञ्ज वरपरका विभिन्न शहरहरुमा पुग्छन्। उनि दैनिक १२ घण्टा भन्दा धेरै समय बीमाकै लागि खटिन्छन्। उनको खटाइ सार्थक बन्दै गएको छ। उनले आफ्नो सम्पुर्ण जीवन बीमामै विताउने प्रण गरेका छन्। यहि प्रणका साथ उनले अन्य सम्पुर्ण क्षेत्रलाई त्यागेर बीमामै समर्पण गरेका छन्।
प्रतिक्रिया