NIMB Header 2
Nepal Life

भारतमा संक्रमण बढेसँगै नेपालमा पनि कोभिड देखिन थाल्यो, तीन संक्रमित भारतबाट फर्किएका

Muktinath Bank
  • BFIS News
  • 2025 Jun 06 12:34
भारतमा संक्रमण बढेसँगै नेपालमा पनि कोभिड देखिन थाल्यो, तीन संक्रमित भारतबाट फर्किएका
Everest Bank

काठमाडौं। भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएको सन्दर्भमा नेपालमा पनि कोभिड–१९ को नयाँ संक्रमण देखिएको छ।

Shikhar
NIMB

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखाले तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

महाशाखाका अनुसार बुधबार भारतबाट फर्किएका कञ्चनपुर, अछाम र कैलाली जिल्लाका दुई पुरुष र एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो। उनीहरू त्रिनगर नाका (कैलाली) मा गरिएको र्‍यापिड डायग्नोस्टिक परीक्षणमार्फत पोजिटिभ पुष्टि भएका हुन्।

स्वास्थ्य सामान्य, एक साताको आइसोलेशन सुझाव
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड फोकल पर्सन हेमराज जोशीले तीनै जना संक्रमितमा ज्वरो, खोकीलगायत कोभिड–१९ का सामान्य लक्षण देखिए पनि स्वास्थ्य अवस्था गम्भीर नभएको बताएका छन्। “हामीले उनीहरूलाई कम्तीमा एक हप्ता घरमै आइसोलेशनमा बस्न भनेका छौं,” जोशीले जानकारी दिए।

भारतमा संक्रमण तीव्र, नयाँ उपप्रजातिहरू सक्रिय
भारतमा पछिल्लो २४ घण्टामा ५६४ जना नयाँ संक्रमित थपिएका छन् भने सात जनाको मृत्यु भएको छ। हाल त्यहाँ सक्रिय संक्रमितको संख्या ४,८६६ पुगेको छ। यस वर्षको जनवरीदेखि हालसम्म ५१ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, भारतमा ओमिक्रोनको चार नयाँ सब–भेरियन्ट (NB.1.8.1, LF.7, XFG र JN.1) पनि देखिएको पुष्टि गरिएको छ। यीमध्ये NB.1.8 लाई विश्व स्वास्थ्य संगठन (WHO) ले "भेरियन्ट अन्डर मनिटरिङ" को रूपमा वर्गीकरण गरेको छ। डब्लुएचओका अनुसार हाल उपलब्ध प्रमाणका आधारमा उक्त उपप्रजातिको विश्वव्यापी सार्वजनिक स्वास्थ्य जोखिम न्यून छ।

स्वास्थ्य विज्ञहरूको चेतावनी
नेपालका सार्वजनिक स्वास्थ्य विशेषज्ञहरूका अनुसार भाइरसको नयाँ उपप्रजाति मध्यम प्रकृतिको भए पनि वृद्धवर्ग तथा पुराना रोग भएकाहरूमा जोखिम रहन्छ। उनीहरूले भारतसँगको भौगोलिक नजिकीकता, खुला सिमा र नियमित आवत–जावतका कारण नेपालमा पनि कोभिड पुनः फैलिन सक्ने चेतावनी दिएका छन्। विगतमा भारतमा संक्रमण बढेपछि केही साता भित्रै नेपालमा पनि महामारीको लहर देखिँदै आएको थियो।

स्वास्थ्य सामग्रीको अभाव, थप किट माग
जोशीका अनुसार हाल प्रदेश स्वास्थ्य निर्देशनालयसँग र्‍यापिड परीक्षणका लागि जम्मा ९० किट मात्र बाँकी छन्, जुन सम्भावित संक्रमण वृद्धिको अवस्थामा पर्याप्त हुने छैन। महाशाखाले परीक्षण विस्तार गर्न स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखालाई २०,००० परीक्षण किट खरिद गर्न सिफारिस गरेको छ। साथै, विश्व स्वास्थ्य संगठन नेपाल कार्यालयलाई पनि आपत्कालीन सहयोगको लागि अनुरोध गरिएको छ।

पिसिआर परीक्षणको तयारी
महाशाखाका निर्देशक डा. चन्द्र भाल झाले संक्रमितको स्वाब काठमाडौँ पठाएर पिसिआर परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिए। “हामीले सम्बन्धित निकायलाई स्वाब नमुना पठाउन निर्देशन दिएका छौं,” उनले भने।

सावधानी अपनाउन आग्रह
विशेषज्ञहरूले स्वास्थ्य सेवा प्रदायक निकायलाई सतर्कता बढाउन र फ्लु–जस्ता लक्षण भएका बिरामीहरूको परीक्षण अनिवार्य गर्न आग्रह गरेका छन्। साथै, सर्वसाधारणलाई मास्क प्रयोग, हातधुने बानी र भीडभाडबाट टाढा रहन पनि सुझाव दिइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया