Nepal Life

काठमाडौं उपत्यकाका वन, पार्क र पोखरीले शहरको तापक्रम १.६ डिग्री सेल्सियससम्म घटाउने

RBB
  • सौरभ भट्टराई
  • 2025 Jun Sun 14:37
काठमाडौं उपत्यकाका वन, पार्क र पोखरीले शहरको तापक्रम १.६ डिग्री सेल्सियससम्म घटाउने
Shikhar detail

काठमाडौं। काठमाडौं उपत्यकामा शहरी वन, पार्क र पोखरीहरूलाई रणनीतिक रूपमा प्रयोग गर्दा तापक्रम १.६ डिग्री सेल्सियससम्म घटाउन सकिने एक नयाँ अध्ययनले देखाएको छ। यो अध्ययन हालै Urban Climate नामक अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित भएको छ र उपत्यकाका विभिन्न ब्लू-ग्रीन (blue-green) क्षेत्रहरूले कसरी शहरलाई चिसो बनाउन मद्दत गर्छन् भनी पहिलो पटक विस्तृत रूपमा विश्लेषण गरेको छ।

NIMB

अन्तर्राष्ट्रिय सात संस्थाका अनुसन्धानकर्ताले संयुक्त रूपमा गरेको यो अध्ययनले स्याटेलाइट डेटा र मेसिन लर्निङ एल्गोरिदमको प्रयोग गरी ३०१ पार्क, १३० वन टुक्रा र २६ पोखरीको विश्लेषण गरेको हो। अध्ययनका प्रमुख लेखक तथा अमेरिकास्थित Jackson State University का विद्यावारिधि (PhD) विद्यार्थी र ओराइज फेलो सौरभ भट्टराईका अनुसार, "हरेक शहरी क्षेत्रमा एउटै किसिमको समाधानले काम गर्दैन। हरियाली थप्दा मात्र पुग्दैन, ती ठाउँहरू सावधानीपूर्वक डिजाइन गरिनुपर्छ र शहरको बनोटसँग सुगठित रूपमा जोडिनुपर्छ।"

बढ्दो तापक्रमको चुनौती

सन् १९७६ यता काठमाडौं उपत्यकाको अधिकतम तापक्रम हरेक वर्ष ०.०३८ °C ले बढेको छ, र केन्द्रीय शहरी क्षेत्र वरपरभन्दा २–३ °C बढी तातो पाइएको छ। यसलाई नै ताप टापु भनिन्छ । पछिल्लो दशकमा सतही माटोको आर्द्रता औसत २.१ % गिरावट र केही स्थानमा ३५ % सम्मको गिरावट देखिएको छ। प्रा. डा. रकि ताल्चाभडेल (जैक्‍सन स्टेट युनिभर्सिटी) चेतावनी दिन्छन्, “उपत्यकाको कुल क्षेत्रफलको २८ % मा ६३ % जनसंख्या बस्छ। यी उच्च घनत्व क्षेत्र तत्काल उपाय नअपनाए ताप टापु झन् तीव्र हुन्छन्।”

भिन्नता

शोधले देखाएको छ कि ब्लू-ग्रीन (blue-green) क्षेत्र नजिक तापमान कम हुन्छ, र दूरी बढ्दै जाँदा तापक्रम बढ्दै जान्छ। उदाहरणका लागि, स्वयम्भू बन क्षेत्रमा तापमान ३१.९°C थियो भने केही मिटरको दूरीमा रहेको शहरी क्षेत्रमा ३६.०°C पुग्यो— यो ४.१°C को अन्तर हो। युएन पार्क नजिकको भवन क्षेत्र ३८.२°C पुगेको बेला पार्कभित्रको तापक्रम ३४.३°C मात्र थियो। त्यस्तै भक्तपुरको परम्परागत पोखरी नः पुखुमा ३९.६ डिग्री सेल्सियस मापन भयो, जबकि नजिकैको शहरी क्षेत्रमा ४२.५ डिग्री सेल्सियस पुग्यो।

यी संख्याहरूले २०१८-२०२३ का पाँच गर्मी महिनाहरूमा रेकर्ड गरिएका उच्चतम चिसो पार्ने प्रभावहरूलाई जनाएको छ, जसले सबैभन्दा तातो समयमा यी ब्लू-ग्रीन क्षेत्रहरूले कति सहायता गर्न सक्छन् भन्ने कुरा प्रस्टाउछ।

 

त्यस्तै, रानीपोखरीको बीच भागको तापमान ३७.१°C रहँदा वरपरको सडक क्षेत्रमा ३९.८°C पुग्यो। पानीको छेउबाट लगभग २५० मिटर भित्रसम्म शीतलता महसुस गर्न सकिने देखिएको छ, विशेषगरी पहिलो १५० मिटर क्षेत्रमा धेरै प्रभावकारी भएको देखिन्छ।

 

यसैगरी भक्तपुरको ऐतिहासिक सिद्ध पोखरी आसपासको तापक्रम शहरका घना बस्ती क्षेत्रको तुलनामा उल्लेखनीय रूपमा कम देखिएको छ। ‍ सिद्ध पोखरी नजिकको तापक्रम ३६.० डिग्री सेल्सियस मापन गरिएको छ, जबकि नजिकैको घनाबस्तिमा तापक्रम ३८.५ डिग्री सेल्सियस पुगेको थियो।

अनुसन्धानकर्ताहरूका अनुसार पोखरीको आसपास रहेका हरियाली क्षेत्र र खुला स्थानहरूले गर्मी कम गर्न सहयोग पुर्‍याइरहेका छन्। विशेषगरी पोखरीदेखि करिब १५० मिटर टाढा पुग्दासम्म हरियाली क्षेत्र अझ बाक्लो देखिन थालेपछि तापक्रम अझ घट्दै गएको पाइन्छ। यसले शहरी क्षेत्रका तापक्रम घटाउन खुला हरित क्षेत्रहरूको भूमिका कत्तिको महत्वपूर्ण छ भन्ने पुष्टि गर्छ।

 

ललितपुरस्थित ऐतिहासिक पिम्बहाल पोखरीले पनि वरपरको क्षेत्रलाई चिसो बनाउन उल्लेखनीय भूमिका खेलेको पाइएको छ। पोखरीको आसपासको तापक्रम ३८.३ डिग्री सेल्सियस मापन गरिएको थियो भने वरिपरिको बाक्लो बसोबास क्षेत्रको तापक्रम ४०.४ डिग्री सेल्सियस पुगेको थियो। पोखरीको शीतल प्रभाव करिब ३०० मिटर टाढासम्म पनि महसुस गर्न सकिन्छ।

 

समग्रमा हेर्दा, साना र ठुला शहरी वन हरूले सबैभन्दा धेरै तापक्रम घटाउने देखिएको छ—औसतमा १.२ डिग्री सेल्सियससम्म। त्यसपछि समग्रमा पार्कहरूले अधिकतम ०.९ डिग्री सेल्सियस र पोखरीहरूले करिब ०.८५ डिग्री सेल्सियसले तापक्रम घटाउने देखिएको छ।

तर यी खुला स्थानहरूले दिने चिसो प्रभाव वरपरको भू-आवरणमा भर पर्छ। हरियाली बढि भएको क्षेत्रमा यस्ता नीलो-हरियो क्षेत्रहरूले तापक्रम अधिकतम १.६ डिग्री सेल्सियसले घटाउन सक्छन्। तर बाक्लो निर्माण क्षेत्रहरूमा भने  औसतमा यो प्रभाव घटेर ०.३ देखि ०.६ डिग्री सेल्सियसमा सीमित हुन्छ।

फरक क्षमता, फरक प्रभाव

शहरी वनहरूको आकार बढेमा तिनीहरूले दिने चिस्याउने प्रभाव पनि उल्लेखनीय रूपमा बढ्ने देखिएको छ। अध्ययन अनुसार, यदि वन क्षेत्र दोब्बर गरियो भने चिस्याउने प्रभाव करिब ३० प्रतिशतले बढ्ने सम्भावना देखिन्छ।

पार्कहरूको हकमा भने आकार र चिस्याउने प्रभावबीच मध्यम सम्बन्ध देखिएको छ। यद्यपि पार्कले कति प्रभावकारी रूपमा तापक्रम घटाउँछन् भन्ने कुरा तिनको कुल आकारभन्दा पनि भित्री डिजाइनमा बढी निर्भर गर्छ। अनुसन्धानले देखाउँछ कि वृक्षवृत्तको आवरण प्रतिशत चिसो प्रभावमा निर्णायक छ। साना पार्कहरूमा यदि उच्च क्यानोपी क्षेत्र १ प्रतिशतले बढाइयो भने चिस्याउने प्रभाव औसतमा ०.९९ डिग्री सेल्सियसले बढ्ने देखिएको छ। ठूलो पार्कहरूमा यो प्रभाव अझ उल्लेखनीय देखिएको छ—१ प्रतिशत वृक्ष क्यानोपी वृद्धि हुँदा चिस्याउने प्रभाव १.७६ डिग्री सेल्सियसले बढ्न सक्छ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. विष्णु प्रसाद पाण्डेले शहरी क्षेत्रमा खुला स्थानको सीमितता भए पनि सही स्थान र संरचनामा निलो-हरियो क्षेत्रहरू विकास गरिएमा प्रभावकारी चिसो वातावरण कायम गर्न सकिने बताए। “यो केवल धेरै रूख रोप्ने कुरा होइन,” उनले भने, “पार्कको भित्री संरचना—रूखको क्यानोपी, घाँस र पक्की सतहको अनुपात—ले यसको चिस्याउने क्षमता निर्धारण गर्छ, मात्र साइजले होइन।”

शहरअनुसार फरक रणनीति आवश्यक

अनुसन्धान टोलीले फरक शहरी क्षेत्रका लागि फरक रणनीति अपनाउन सिफारिस गरेको छ। अत्यधिक घना शहरी क्षेत्रमा जल स्रोतजस्ता तत्वहरूलाई प्राथमिकता दिनु पर्ने, साथै छानामा आधारित समाधानहरू—जस्तै वर्षा पानी सङ्कलन ट्यांकी (cistern), परावर्तक पोखरी, हरियाली छाना र छाना खेती—लाई प्रवर्द्धन गर्न सुझाव दिइएको छ। त्यस्तै, त्यस्ता क्षेत्रका परिपक्व रूखहरूलाई जोगाउनुपर्ने सल्लाह दिइएको छ।

बीचको संक्रमण क्षेत्रहरूमा साना वन क्षेत्र विस्तार गर्ने, साथै ठूलो वृक्ष क्यानोपी भएको पार्कहरूको डिजाइनमार्फत छायाँ वृद्धि गर्ने रणनीति उपयुक्त हुने बताइएको छ। हरियाली वर्चस्व भएका क्षेत्रहरूमा भने विद्यमान वन क्षेत्र तथा हरित बफर क्षेत्रहरूको संरक्षण गर्नु भविष्यमा ‘शहरी तातो टापु’ बन्नबाट जोगिन महत्वपूर्ण हुनेछ।

नेदरल्याण्डको ग्रोनिङ्गेन विश्वविद्यालयका डा. प्रज्वल प्रधानले यो अध्ययन विश्वभर लागु गर्न सकिने बताए। "हामीले काठमाडौं उपत्यकामा आधारित अध्ययनमार्फत विश्वभरका शहरहरूले सिक्न सक्ने खाका प्रस्तुत गरेका छौं। यो शहरी क्षेत्रको ताप नियमन क्षमता आंकलन गर्न प्रयोग गर्न मिल्ने एउटा फ्रेमवर्क हो, जुन जुनसुकै शहरमा पनि लागू गर्न सकिन्छ," उनले भने।

अमेरिकी सेनाको इन्जिनियर अनुसन्धान तथा विकास केन्द्रका डा. नवराज प्रधानले चेतावनी दिँदै भने, "यदि तत्काल ठोस कदम चालिएन भने तापक्रम वृद्धिले जनस्वास्थ्य प्रणालीमाथि दबाव सिर्जना गर्नेछ, चिसो पार्न आवश्यक ऊर्जा माग बढ्नेछ र कमजोर समुदायहरू सबैभन्दा बढी प्रभावित हुनेछन्।" अध्ययन अनुसार, यदि व्यापक शीतकरण रणनीतिहरू कार्यान्वयन गरियो भने शहरी क्षेत्रमा चिसो बनाउने ऊर्जा माग १५ देखि २५ प्रतिशतसम्म घटाउन सकिन्छ, जसले विद्युत खर्च घटाउनुका साथै जनस्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्न सक्छ।

सामान्य नागरिकका लागि के गर्न सकिन्छ?

शहरमा गर्मीको अवस्था बुझ्न सर्वसाधारणले साधारण थर्मोमिटरको प्रयोग गरेर पार्क, सडक, गल्लीजस्ता ठाउँहरूमा बिहान र बेलुका तापक्रम मापन गर्न सक्ने सिफारिस गरिएको छ। यसले विभिन्न स्थानबीचको तापक्रम अन्तर बुझ्न सहयोग गर्छ र निलो-हरियो क्षेत्र ले कति प्रभाव पारिरहेका छन् भन्ने कुरा प्रत्यक्ष अनुभव गर्न सकिन्छ।
 यदि कसैले चाह्यो भने थर्मोमिटर वा अन्य सामान्य उपकरणहरूको प्रयोगमार्फत यस्ता हरित क्षेत्रहरूको महत्व आफैंले अवलोकन गर्न सक्छन्।

अनुसन्धान टोलीले दिउँसोको १२ बजेदेखि ३ बजेसम्मको समय अत्यधिक गर्मीको हुनाले त्यस अवधिमा बाहिरी क्रियाकलाप नगर्न सल्लाह दिएको छ। साथै, दैनिक यात्राको लागि रूखहरूले घेरेका सडक वा पार्क नजिकका बाटो छनोट गर्न सुझाव दिइएको छ।

गर्मीबाट हुने स्वास्थ्य प्रभावहरू चिन्ने चेतावनी पनि दिइएको छ, जस्तै अत्यधिक पसिना आउनु, हल्का टाउको दुःखाइ वा थकान महसुस हुनु। गम्भीर लक्षण देखिएमा तत्काल चिकित्सकीय सहायता लिनुपर्ने उल्लेख गरिएको छ।
 व्यक्तिगत रूपमा गर्मी व्यवस्थापन गर्न हल्का र फुकालो लुगा लगाउने, पानीको बोतल साथमा राख्ने र घामबाट बच्न छाता वा टोपी प्रयोग गर्ने उपायहरू उपयोगी ठहरिएका छन्।

सार्वजनिक सहभागिताको दृष्टिले नगरपालिकाको वृक्षरोपण कार्यक्रममा सहभागी हुन, रुखको जातमा पिपल, बर र नीमजस्ता स्थानीय जातमा प्राथमिकता दिन सिफारिस गरिएको छ। साथै, पोखरी सरसफाइ अभियानमा संलग्न हुने र पोखरी पुरिने अवैध कार्यहरू सम्बन्धित निकायमा जानकारी गराउने जिम्मेवारी पनि नागरिकहरूले लिन सक्ने उल्लेख गरिएको छ।

अनुसन्धान टोली:
प्रमुख लेखक: सौरभ भट्टराई, Jackson State University, अमेरिका
प्रमुख सल्लाहकार: डा. रकि ताल्चाभडेल, Jackson State University, अमेरिका
सहयोगी संस्थाहरू: Jackson State University, Tribhuvan University, University of Massachusetts Amherst, International Water Management Institute, University of Groningen, Potsdam Institute for Climate Impact Research, US Army Engineer Research and Development Center

सम्पर्क: सौरभ भट्टराई
इमेल: [email protected]
पूरा अध्ययन हेर्नुहोस्: https://doi.org/10.1016/j.uclim.2025.102493

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया