Nepal Life

इजरायल–इरान युद्धले भारतलाई कुटनीतिक संकटमा फसायो: जुनसुकै पक्षले जिते पनि हार्ने भारत नै!

RBB
  • BFIS News
  • 2025 Jun Mon 16:20
इजरायल–इरान युद्धले भारतलाई कुटनीतिक संकटमा फसायो: जुनसुकै पक्षले जिते पनि हार्ने भारत नै!
Shikhar detail

काठमाडौं।  इजरायल र इरानबीच चर्किएको युद्धले भारतलाई गम्भीर कुटनीतिक संकटमा फसाएको छ। दुई देशबीच जारी तनावले विश्व राजनीतिमा खेमाबन्दी गरिरहेका बेला भारत भने कसैको पक्षमा उभिन नपाउने र तटस्थ बस्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेको विश्लेषण भइरहेको छ।

NIMB

चीन, रुस, उत्तर कोरिया, पाकिस्तान लगायतका देशहरू खुलेर इरानको पक्षमा उभिएका छन् भने अमेरिका, बेलायतलगायत पश्चिमी मुलुकहरू इजरायलको पक्षमा छन्। तर, भारत भने न इजरायलको समर्थन गर्नसक्ने स्थितिमा छ, न इरानको विरोध गर्नसक्ने, न त पूर्ण तटस्थ रहन सक्ने।

भारतका लागि यो अवस्था असहज बनेको छ, जसको कारण यी दुबै देशसँग भारतको गहिरो व्यापारिक र रणनीतिक सम्बन्ध छन्। इरानसँग भारतको ऐतिहासिक ऊर्जा साझेदारी, चाबहार बन्दरगाहमा ठूलो लगानी तथा पश्चिमी एसियामा व्यापारिक पहुँच रहेको छ। अर्कोतर्फ, इजरायलसँग भारतको सैन्य, प्रविधि र कूटनीतिक सम्बन्ध मजबुत छ, जसमा अमेरिका पनि जोडिएको छ।

युद्ध प्रारम्भ भएपछि भारतले सदस्य राष्ट्र रहेको शंघाई कोअपरेसन अर्गनाइजेशन (SCO) को इजरायलविरुद्ध जारी वक्तव्यबाट आफूलाई अलग राख्यो। त्यस्तै, ब्रिक्स राष्ट्रहरूको इजरायलको निन्दामा समेत भारत मौन रह्यो।

भारतका पूर्व विदेश सचिव कंवल सिब्बलका अनुसार, “इजरायल–इरान युद्ध भारतको कूटनीतिक इतिहासको सबैभन्दा कठिन अवस्था हो। भारत न त स्पष्ट रुपमा पक्ष लिन सक्छ, न त आफूलाई पूर्ण तटस्थ राख्न सक्छ।”

संयुक्त राष्ट्रसंघका लागि भारतका पूर्व स्थायी प्रतिनिधि सैयद अकबरुद्दीनले पनि हालको परिस्थितिमा भारतलाई "यता न उता" बनाउने अवस्थाले थप दबाब सिर्जना गरेको टिप्पणी गरेका छन्।

इतिहास हेर्दा सन् १९९० को गल्फ युद्धमा पनि भारतले तेलको मूल्यवृद्धिको ठूलो असर भोगेको थियो। त्यही बेला इरानले भारतलाई विशेष सुविधा दिँदै तेल आपूर्ति जारी राखेको थियो। इरानसँग भारतको सम्वन्ध त्यसयता झनै प्रगाढ भएको छ। इजरायलतर्फ हेर्दा, पाकिस्तानसँगको टकरावका सन्दर्भमा भारतले इजरायलबाट बारम्बार समर्थन पाउँदै आएको छ।

विश्लेषकहरूका अनुसार, भारतले जुनसुकै देशको पक्ष लिए पनि अर्को देशसँगको सम्बन्ध बिग्रन सक्नेछ। तटस्थ बस्दा पनि दुबै देश असन्तुष्ट हुनसक्ने अवस्था छ, जसले व्यापारिक, कूटनीतिक र रणनीतिक सम्बन्धमा गम्भीर असर पार्न सक्छ।

निष्कर्षतः इजरायल–इरान युद्धमा जसले जिते पनि भारत भने हारको भूमिकामा रहन विवश देखिन्छ। आगामी दिनमा भारतले कसरी सन्तुलन कायम गर्छ भन्ने विषयले यसको अन्तर्राष्ट्रिय छवि र सम्बन्धको दिशा निर्धारण गर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया