Nepal Life

नेपाल लाइफद्वारा बाल अस्पताल निर्माणका लागि एक करोड सहयोग

Muktinath Bank
  • BFIS News
  • 2025 Jul Tue 13:50
नेपाल लाइफद्वारा बाल अस्पताल निर्माणका लागि एक करोड सहयोग
RBB

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्य क्षेत्रमा काम गरिरहेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई एक करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ।

NIMB

संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कम्पनीले किओचद्वारा निर्माणाधीन बाल अस्पतालका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको हो।

यस सम्बन्धी समझदारी पत्रमा किओचको तर्फबाट संस्थापक अध्यक्ष डा. भगवान कोइराला र नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका छन्। समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम किओचको कार्यालयमा सम्पन्न भएको हो।

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ मा बहुविशिष्टिकृत ‘हब’ बाल अस्पतालको निर्माण अन्तिम चरणमा पुगेको छ। भवन निर्माण जारी रहँदा पनि बिरामी बालबालिकालाई सेवा दिन सुरु गरिएको छ। साथै, क्लिनिकल रिसर्च कार्यक्रम पनि सुरु भइसकेको छ।

नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवालले परियोजनाले नेपालको बाल स्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले यस्तो प्रकारका परियोजनाहरूले राज्यको नीतिलाई सहयोग पुग्ने बताउँदै, निजी क्षेत्रको सक्रिय भूमिकाले देशका दूरदराजवासी नागरिकले पनि आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने अवस्था सिर्जना हुने धारणा व्यक्त गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले आगामी दिनमा सातै प्रदेशमा सुविधासम्पन्न बाल अस्पताल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले भने, "कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई पनि विशिष्टीकृत चिकित्सकबाट सेवा उपलब्ध गराउने हाम्रो उद्देश्य हो।"

किओचको स्थापना बहुविशिष्टीकृत बाल अस्पताल संचालन, दक्ष जनशक्ति उत्पादन, नीति निर्माण, गुणस्तर वृद्धि र नियमन प्रणाली विकास गर्ने उद्देश्यले गरिएको संस्थापक अध्यक्ष डा. कोइरालाले जानकारी दिए। उनले नेपाल लाइफजस्तो ठुलो ब्रान्डसँग सहकार्य गर्न पाउँदा किओचको गरिमा बढेको र काम गर्न थप प्रेरणा मिलेको बताए।

यस परियोजनाअन्तर्गत पहिलो अस्पताल दमकमा स्थापना भई सेवा सुरु भइसकेको छ। उक्त अस्पतालबाट वहिरङ्ग, आकस्मिक, अन्तरङ्ग, प्रयोगशाला, रेडियोलोजी, PICU, NICU, HDU लगायतका सेवा उपलब्ध छन्। त्यस्तै, शल्यक्रिया सेवाका लागि मोडुलर अपरेसन थिएटरको निर्माण सम्पन्न भई सेवा सुरु गरिएको छ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया