नेपाल लाइफ १० अर्ब क्लबमा: चुस्त व्यवस्थापन, सक्रिय टिम र रणनीतिक सहकार्यले दिलायो ऐतिहासिक सफलता

  • BFIS News
  • 2025 Jul Thu 14:53
नेपाल लाइफ १० अर्ब क्लबमा:  चुस्त व्यवस्थापन, सक्रिय टिम र रणनीतिक सहकार्यले दिलायो ऐतिहासिक सफलता

काठमाडौं, साउन १ गते। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ऐतिहासिक सफलता हासिल गर्दै प्रथम बीमा शुल्क साढे १० अर्ब रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा यो ३ अर्बभन्दा बढीको बृद्धि हो। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ७ अर्ब ३९ करोड रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको थियो।

यस उपलब्धिको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रविण रमण पराजुलीले एक भिडियो सन्देशमार्फत शुभकामना र धन्यवाद व्यक्त गरेका छन्। आफ्नो सन्देशमा पराजुलीले कम्पनीको यस सफलताको श्रेय सबै सरोकारवालाहरूलाई दिएका छन्।

उनले भने: "नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २५ वर्षमा हासिल नगरेको उपलब्धि—१० अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको छ। यस उपलब्धिमा मागर्दर्शन दिने सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, संस्थालाई माया गर्ने बीमित महानुभावहरू, अहोरात्र खटिने कर्मचारी साथीहरू, व्यवसाय विस्तारको अग्रपंक्तिमा क्रियाशील अभिकर्ता साथीहरू, नियामक निकाय बीमा प्राधिकरण, शेयरधनीज्यूहरू तथा अन्य सम्पूर्ण सरोकारवालाहरूको योगदानको म अत्यन्त आभारी छु।"

उनले विश्वास व्यक्त गर्दै थपे: "हामीले प्राप्त गरेको यो सफलता अबको दिनमा आधार रेखाको रुपमा हुनेछ। हामीले यो रेखालाई फेरि तोड्नेछौं र आगामी दिनहरूमा अझ ठूलो सफलता हासिल गर्नेछौं। कम्पनीले सबै सरोकारवालाको चासो र अपेक्षालाई ध्यानमा राख्दै थप शशक्त र दिगो रुपमा अगाडि बढ्नेछ।"

पराजुलीले भविष्यमा अझ प्रभावकारी ढंगले Stakeholder को भरोसा र विश्वास कायम राख्दै, कम्पनीलाई अझ मजबुत बनाउने दृढता व्यक्त गरेका छन्।

कम्पनीको यस ऐतिहासिक उपलब्धीबारे जानकारी दिंदै नेशनल सेल्स हेड उमापति पोखरेलले यो सफलता चुस्त व्यवस्थापन, जुझारु सेल्स टिम, र संस्थाभित्रको समन्वयात्मक सहकार्यकै नतिजा भएको बताए।

"कम्पनीले यो सफलता हासिल गर्नुको सबैभन्दा पहिलो कारण चुस्त व्यवस्थापन हो। त्यसपछि नेशनल सेल्स हेडदेखि प्रदेश प्रमुख, शाखा तथा उपशाखा प्रमुख हुँदै सम्पूर्ण सेल्स टिमको सक्रियता, ट्रेनिङ विभागको योगदान र कर्मचारीहरूसँगको आपसी समन्वय नै सफलताको मुख्य जरो हो," पोखरेलले बताए।

उनले यस वर्ष कम्पनीले सेलेबल र प्रतिस्पर्धी बीमा पोलिसी ल्याएको जनाउँदै, जसले कम्पनीलाई पुरानै लयमा फर्काउन सहयोग गरेको उल्लेख गरे। त्यस्तै, बीमा अभिकर्ताहरूबीचको समन्वय, समय र मौसम अनुकूल स्किमहरूको सटिक व्यवस्थापन, तथा स्मार्ट तरिकाले तय गरिएको १८ प्रतिशत सीमाभित्रको स्किमहरूले ठुलो भूमिका खेलेको बताए।

नयाँ रणनीतिले थप्यो उत्साह

पोखरेलका अनुसार, सेल्स टिमले महिनाको अन्तिम शनिबारलाई सदुपयोग गर्दै केपीआई (Key Performance Indicator) प्रणाली लागू गरेको थियो, जसमा चार प्रमुख सूचकहरू समावेश थिए— प्रथम बीमा शुल्क आर्जन, परिपक्व पोलिसीलाई पुनः बीमामा रुपान्तरण, सक्रिय बीमालेखको सूचक, र नविकरण बीमा शुल्कको सूचक।

“२५ वर्ष लामो यात्रा पार गरिसकेको नेपाल लाइफमा पछिल्लो समय बीमा पोलिसी परिपक्व हुने दर बढ्दो छ। त्यसलाई निरन्तरता दिन हामीले परिपक्व रकमलाई पुनः बीमामा परिणत गर्ने रणनीति अवलम्बन गरेका छौं,” पोखरेलले थपे।

अभिकर्तासँग सहकार्य, नेतृत्वको भिजनले सफलता सुनिश्चित

पोखरेलले प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृतको प्रत्यक्ष निर्देशन र भिजनका कारण कम्पनीले यो सफलता हात पारेको बताए। एजेन्सी विभागसँगको समन्वय, अभिकर्तासँग छलफल गर्दै समय सान्दर्भिक स्किम ल्याउनुले कम्पनीलाई नयाँ उचाईमा पुर्‍याएको उनले बताए।

२५ औं वार्षिकोत्सवमा ल्याप्सेस बीमालेख नवीकरण अभियान

नेपाल लाइफले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा "ल्याप्सेस बीमालेख" पुनर्ताजगी गर्ने विशेष क्याम्पियन सञ्चालन गरेको थियो। यस अभियानका कारण नविकरण बीमा शुल्कमा ४५ प्रतिशतभन्दा बढीको बृद्धि हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ।

नेपाल लाइफको यो सफलता नेपाली बीमा उद्योगमै एउटा प्रेरणादायी उपलब्धीका रूपमा हेरिएको छ। कम्पनीले आगामी दिनहरूमा पनि नविनतम रणनीति, समन्वय र ग्राहक केन्द्रित सेवामार्फत अझ राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार