गोरखाको सानो गाउँदेखि बीमा सम्राटसम्म, विमला अम्गाईको प्रेरणादायी यात्रा

  • BFIS News
  • 2025 Jul Sun 18:26
गोरखाको सानो गाउँदेखि बीमा सम्राटसम्म, विमला अम्गाईको प्रेरणादायी यात्रा

काठमाडौं। हरेक मानिसका जीवनमा उतार चढावसँगै संघर्षले भरिएको हुन्छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकी बरिष्ठ एजेन्सी म्यानेजर विमला अम्गाईको जीवनयात्रा संघर्ष, लगनशीलता र आत्मनिर्भरता सँग जोडिएको छ। गोरखाको दुर्गम भेगमा जन्मिएकी अम्गाई जनकल्याण माध्यमिक विद्यालयबाट एसएलसी, छिमेकी गाविसमा रहेको परोपकार आदर्श उच्च माध्यमिक विद्यालयबाट प्लस टू, अनि गोरखा क्याम्पसबाटै नेपाली विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरेकी उनले आफ्नै कर्मभूमिमा आफूलाई फरक पहिचान दिलाउन सफल भएकी छिन्। 

उनी जब कक्षा १२ मा पढिरहेकी थिइन्, विवाह भयो। पढाइ र पारिवारिक जिम्मेवारीलाई सँग सँगै अघि बढाउँदै गर्दा आमा बनिन्। अध्ययनकै क्रममा सानो व्यवसाय थालेकी उनले त्यसलाई निरन्तरता दिन सकिनन्, तर त्यस अनुभवले उनलाई आत्मनिर्भर बन्ने बलियो आधार तयार गरिदियो।

एनजिओको अस्थिरता र नयाँ विकल्पको खोजीमा बीमा

व्यवसाय छोडेपछि जीवन धान्नुपर्ने बाध्यता सँगै, सानो ६ महिनाको बच्चा च्यापेर विमला ढकाल अम्गाईले एक सौर्य उर्जा कम्पनीमा करिब ८–९ महिना काम गरिन्। परिवारको जिम्मेवारी र आफ्नै जीवनचक्र कसरी अगाडि बढाउने भन्ने चिन्ताले उनलाई दिनरात सताइरहन्थ्यो। यसैबीच स्नातक तहको अध्ययन अघि बढाउँदै सानोतिनो काम गर्दै गर्दा, जिल्लाकै अति दुर्गम क्षेत्रमा कार्यरत 'हिमाली क्षेत्र विकास केन्द्र' मा विज्ञापन देखेर आवेदन दिइन्। छनोटमा उनको नाम दुर्गम र पिछडिएको भेगमा काम गर्नेगरी निस्कियो।

सानो बच्चा घरमै छाडेर ‘केही परिवर्तन गर्छु’ भन्ने अठोटसाथ ३–४ दिनको पैदल यात्रा गरी उनी त्यस स्थानमा पुगिन्। उक्त कार्यक्रम हिमाली क्षेत्र विकास केन्द्र र जिल्ला उर्जा शाखाको सहकार्यमा सञ्चालित ग्रामीण उर्जा परियोजना अन्तर्गत थियो। सोही क्रममा करिब ३–४ वर्षसम्म उनी समुदाय परिचालकको भूमिकामा रहेर समुदाय विकासमा कार्यरत रहिन्। यही कार्यले उनको व्यक्तित्वमा निखार ल्यायो।

संयुक्त परिवारको जेठी बुहारी भएकाले घरका सबै जिम्मेवारी विमलाकै काँधमा आए। उनी भन्छिन्, “करीब ७ वर्ष मेरो जीवनमा कालो दिन सावित भयो। सानो बच्चा घरमा, स्नातक तहको पढाइ, जागिर र घरमा परेको ठुलो बज्रपात सबैलाई मैले एकैसाथ सामना गर्नुपर्‍यो।” यस्ता परिस्थितिमा उनले दुःख र पीडाले भरिएको कहालीलाग्दो जीवन भोग्नुपर्‍यो। तर पनि उनले बाबुको इज्जत र पहिचान जोगाउने उद्देश्यले आफूलाई बलियो बनाएर काम गरिरहिन्।

जतिवेला विधिको विडम्बना आशा र भरोसा बुबा सँग थियो। बुबाको निधन भए पछि उनको जीवनमा थप बज्रपात आइलाग्यो। तर उनले त्यो पीडालाई स्वीकार्नु नै पर्यो।

एनजिओको अस्थिरता र वैकल्पिक खोज

जीवनको अभाव, तनाव, कर्तव्य र जिम्मेवारीले उनलाई कहिले काहीँ यस्तो सोच आउँथ्यो—के जीवन यत्तिकै सकिन्छ कि केही असल काम गरेर अगाडि बढ्ने हो? त्यसबेला उनलाई सम्झना आयो, २०६१ सालमा उनी बीमा अभिकर्ता भएकी थिइन्। आफ्नै श्रीमान् र छोराको बीमा अरू अभिकर्तामार्फत गरेपछि २०६६/६७ सालतिर उनले यो पेशालाई वैकल्पिक रुपमा रोज्ने सोच बनाइन्।

त्यतिबेला शाखा कार्यालय नयाँ थियो, व्यवस्थापन सशक्त थिएन। कार्यालयमा रहेका एक मात्र कर्मचारीसँग भेट गरी, लाइसेन्स नविकरण गरेर उनले काम सुरु गरिन्। पहिलो महिनामै बिजनेस को–अर्डिनेटर भइन्, दोस्रो महिनामा एजेन्सी म्यानेजरमा नियुक्त भइन्। फागुन महिनादेखि उनी एजेन्सी म्यानेजरको रुपमा औपचारिक रुपमा काममा लागिन्।

सामुदायिक मेलमिलापदेखि बीमा क्षेत्रमा नयाँ उचाइ

गोरखाको एक कार्यक्रम राष्ट्रिय स्तरको एनजिओ सेलर्डमा सामुदायिक मेलमिलाप कार्यक्रम आयो। उनले निवेदन दिइन् र प्रोग्राम को–अर्डिनेटरको रुपमा नियुक्ति पाइन्। खुशीका साथ जिल्लाका विभिन्न गाविसहरूमा कार्यक्रम सञ्चालन गरिन्। कार्यालय व्यवस्थापनदेखि समुदायमा हुने साना–ठूला विवादहरू मेलमिलाप प्रक्रियाबाट समाधान गर्दै उनले तीन वर्षसम्म मेलमिलापकर्ता उत्पादन गरी जिल्लालाई छुट्टै पहिचान दिन सफल भइन्।

जिल्ला अदालतको 'जुभिनाइल जस्टिस' (बालन्याय) अन्तर्गत काम गर्ने अवसर पाइन्। गोरखा जिल्लामा एकमात्र बालमनोविज्ञको रुपमा उनले अदालतमा दोहोरो भूमिका निभाइन्। मेलमिलाप परिषदबाट मान्यता प्राप्त गरेर अदालतमा मेलमिलापकर्ता र एनजिओहरुमा बोर्ड सदस्यको रुपमा कार्य गरेकी उनी जिल्लामा विशिष्ट पहिचान बनाउन सफल भइन्।

बीमा क्षेत्रमा नारीको पहिचान

बीमा क्षेत्रमा प्रवेश गरेपछि उनी नेपालकै बीमा क्षेत्रमा नारीको प्रतीक बनिन्। राष्ट्रिय कार्यक्रमहरूमा सहभागी हुँदै पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति र नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कोषाध्यक्ष पदमा रहेर सामाजिक कार्यमा समेत सक्रिय भइन्।

गोरखा शाखामार्फत कम्पनीले ल्याएका हरेक योजना जित्दै देश–विदेश घुम्ने र अध्ययन गर्ने अवसरसमेत प्राप्त गरिन्। विमला ढकाल अम्गाई गोरखा शाखाको गौरव मात्र होइन, सम्पूर्ण बीमा क्षेत्रकै प्रेरणादायी पात्र बनेकी छिन्।

गोरखाको श्रनाथकोटबाट सुरु भएको उनको जीवन यात्रा आज नेपाली बीमा क्षेत्रमा एक असाधारण प्रेरणाको रूपमा चिनिएको छ। आत्मबल, इच्छाशक्ति, आत्मविश्वास, आत्मसम्मान, निरन्तरता र इमान्दारिता उनका जीवनका आधारशिला हुन्।

उनको भनाइमा, “जिल्ला अदालतको छनोट र युनिसेफको सहयोगमा प्राप्त बालमनोविज्ञान सम्बन्धी परामर्श तालिमले मेरो सोच र आत्मविश्वासमा गहिरो परिवर्तन ल्यायो। यही परिवर्तनले आज मलाई जहाँ छु, त्यहाँ पुर्‍याएको हो।”

आत्मपहिचानको खोजी

उनी सधैँ चाहन्थिन् आफ्नो नामबाट चिनिन। बाबु, श्रीमान वा छोराको नाम होइन, 'विमला' नाम नै उनको पहिचान होस् भन्ने चाहना उनले राखिन्। आज त्यो चाहना पुरा भएको छ। उनी जहाँ गइन्, आफ्नो कार्यकुशलता र इमानदारीले पहिचान बनाउँदै गइन्।

बीमा क्षेत्रमा कदम राख्दा उनको सपना थियो 'बीमा सम्राट' बन्ने। २०६१ सालमा बीमा लाइसेन्स लिएकी विमलाले २०६३ सालसम्म आफ्नै बीमा अरुबाट गराइन्। कारण उनी आफू अभिकर्ता भए पनि त्यसको महत्व थाहा पाइनन्। पछि तत्कालीन शाखा प्रमुख विष्णु प्रसाद सापकोटाको प्रेरणाले उनले अभिकर्ताको काम सुरु गरिन् र पहिलो महिनामै बिसी बन्न सफल भइन्।

उनको जीवन यात्रामा हण्डर कम थिएनन्। ल्याएको व्यवसाय अरूको नाममा काटिन्थ्यो, बीमाका कुरा गर्दा कयौ व्यक्तिहरु हिचकिचाउथे, तैपनि उनले कहिल्यै हार मानिनन्। बरु त्यो पीडालाई ऊर्जा बनाइन्। "मलाई जसले यो क्षेत्रमा ल्याउनु भयो, उहाँकै कारण म लडे पनि, कहिल्यै पछाडी हटिनँ," उनले बताइन्।

 नेपाल लाइफले एमडिआरटी (MDRT) लाई मान्यता दिन थालेपछि, उनी लगातार पाँच वर्षदेखि पुरा गर्दै आइरहेकी छिन्। यति मात्रै होइन बीमा क्षेत्रमा पाइला टेक्दै गर्दा उनले देखेको 'बीमा सम्राट' बन्ने सपना यस वर्ष पुरा भएको छ।  

उनले आजका दिनसम्ममा ३७६२ भन्दा बढी बीमा पोलिसी विक्री गरिसकेकी छन्। गोरखा शाखा जस्तो सानो क्षेत्रबाट पनि उनी नेपाल लाइफको ३५औं उत्कृष्ट अभिकर्ताको स्थानमा पुग्न सफल भइन्।

शिक्षक लाइसेन्स, ब्याचलर, मास्टर्स गरेर पनि उनले बीमा रोजिन्। कारण थियो नातावाद र कृपावादबाट टाढा, आफ्नो क्षमताले मात्र सफलता पाउने क्षेत्र यही थियो। जब उनले एउटा एनजिओमा अन्तर्वार्तामा "तपाईको नाम लिष्टमा परेन" भनेर सुने, त्यो दिनदेखि उनले बीमालाई आफ्नो भविष्य बनाउने निर्णय गरिन्।

बीमला ढकाल अम्गाई, गोरखाकी एक साधारण महिलादेखि जीवन बीमा क्षेत्रमा असाधारण सफलतासम्मको उनको यात्रा कुनै चमत्कार होइन यो निरन्तरको श्रम, निष्ठा र विश्वासको कथा हो।

बीमा व्यवसायमा एक जना व्यक्तिलाई पटक–पटक सम्झाएर बीमा गराउनु पर्ने कुरा समुदायमा देखिन्छ। तर बीमला ढकाल अम्गाईको शैली फरक छ। उनी भन्छिन्, “मैले जसलाई बीमाको कुरा गरेँ, उहाँहरु सिधै नगरे पनि पछि सम्झिएर आउनुहुन्छ। बोलेरै काम गर्न सकिन्छ भन्ने कुरा मैले प्रमाणित गरेकी छु।”

उनको विशेषता भनेको मिठो बोली, सत्य तथ्यमा आधारित प्रस्तुति र सेवामा गरिएको प्रतिवद्धता हो। उनको नजरमा यो व्यवसाय सटर खोल्ने जस्तो होइन, आत्मविश्वास र भरोसामा टिकेको सम्बन्ध हो। उनले प्रस्ताव गरेका अधिकांश व्यक्तिहरूले अन्ततः बीमा गरेका छन्, जुन आफैंमा उनको प्रभावशाली व्यक्तित्वको प्रमाण हो।

दुःखका क्षणमा आशाको किरण

अहिलेसम्म उनले बीमा गराएका सात जनाको मृत्यु दाबी परिसकेको छ। कहिल्यै सोचिएको थिएन होला, सानो लगानीले यति ठूलो सहयोग पुर्‍याउँछ भनेर। उनले जुनबेला परिवार गहिरो पीडामा हुन्छ, त्यस्तो समयमा बीमा दाबी भुक्तानी गराइदिएकी छिन् त्यो पनि १० दिनभित्रै। उनि भन्छिन्, “त्यस्तो बेलामा मेरो सेवा नै श्रद्धाञ्जली हो।”

बीमा परिपक्व भएर आएको रकम पुनः बीमामा लगाउने अभ्यासमा उनी सफल भएकी छिन्। यसले ग्राहकको सन्तुष्टि र उनको प्रतिबद्धता दुवै देखाउँछ।

गोरखामा उनले “एक घर, एक पोलिसी” अभियान चलाइन्। १४ वटा जीवन बीमा कम्पनीहरू सक्रिय भए पनि नेपाल लाइफ बीमा कम्पनीकै वर्चस्व रहनुमा उनको योगदान उल्लेखनीय छ। उनको नेतृत्वमा महिलामय गोरखा शाखा आज व्यवसायमा अग्रस्थानमा छ।

एनजिओमा काम गर्दाका दिनहरूमा उनले एकल महिलाको सशक्तिकरणमा योगदान दिइन्। त्यसै अनुभवलाई उनले बीमा क्षेत्रमा पनि विस्तार गरिन्। उनले पहिलो वर्षमै ३०/३५ जना महिलालाई अभिकर्ता बनाइन्, जसले राम्रो व्यवसाय गरेर महिलाको सम्भावनालाई उजागर गरे।

बीमाको कुरा गर्दा उनले नेपाल लाइफ चुनेकोमा गर्व गर्छिन्। अन्य कम्पनीले धेरै बुझाउँछन् तर अन्ततः ग्राहक नेपाल लाइफमै आउने उनि बताउछिन्। यसको कारण कम्पनीको ब्राण्ड मात्र होइन, उनले बनाएको विश्वास पनि हो।

नेपाल लाइफबाट उनले आफ्ना लक्ष्यहरू पुरा गर्दै थाइल्याण्ड, सिंगापुर, बाली जाने स्किमहरु जितिन्। यद्यपि परिवारिक जिम्मेवारीका कारण सबै भ्रमणमा जान नपाए पनि दुबई भने जाने अवसर पाइन्। बीमामै काम गरेर उनले घरको सम्पूर्ण आर्थिक भार सहजै सम्हाल्दै आइरहेकी छिन्। आफ्नै बलबुतामा बीमा मार्फत उनले काठमाडौंमा घर जग्गा किन्नेदेखि लिएर आफ्नै सवारी साधनसम्म जोड्न सफल भएकी छिन्।

बीमला आजको सफलता आफ्नो कडा मेहनतसँगै, नेपाल लाइफका नेशनल सेल्स हेड उमापती पोख्रेल र पेशागत बीमा अभिकर्ता संघका महासचिव ओम केसीलाई श्रेय दिन्छिन्। जतिवेला उनीहरु गोरखा शाखामा पुगेका थिए, त्यतिबेला बीमलालाई बीमा प्रति धेरै नै संशय थियो। तर दुबै जनाले दिएको त्यो हौसलालले उनको कन्फिडेन्स बढ्यो। एनजिओ छाडेर बीमा क्षेत्रमा आउदै गर्दा कतै गलत निर्णय पो हुने हो कि भनेर उनि चिन्तित थिइन्। तर उनलाई पौख्रेलले यसरी कन्भिन्स गरिदिए उनि सबै चिज छाडेर बीमामा होमिइन्।

उनका अनुसार, “जीवन बीमा कम्पनीमा भन्दा पनि मानिसले व्यक्तिमा विश्वास गरेर बीमा गर्छन्। त्यसैले अभिकर्ताको व्यक्तित्व, इमान्दारिता र सेवाको भावना एकदमै जरुरी हुन्छ।”

विमला ढकाल अम्गाईको कथा केवल एक व्यक्तिको सफलता मात्र होइन, एउटा प्रेरणा पनि हो। आत्मबल, इमान्दारिता, कर्मप्रतिको निष्ठा र सेवाको भावना बोकेको जीवनको कथा हो। उनकै शब्दमा "काम गर्दै जाँदा के सम्भव नहुन सक्छ र? इच्छा शक्ति भयो भने सबै सम्भव हुन्छ भन्ने कुरा मैले प्रमाणित गरेकी छु।"

अम्गाईको जीवन एक प्रेरक कथा हो जहाँ महिलाले बोलिको शक्तिबाट समाजमा आर्थिक र सामाजिक परिवर्तन ल्याउन सक्छिन्। उनी बीमा अभिकर्ता मात्र होइनन्, आशा, विश्वास र सेवाको प्रतीक हुन्। उनको यो यात्रा हरेक महिला र बीमा क्षेत्रमा लाग्न चाहने युवाहरूका लागि मार्गदर्शनको दीप हो।

उनको जीवन कथाले चाहे संघर्ष कति गाह्रो किन नहोस्, आत्मविश्वास, दृढ इच्छाशक्ति र इमान्दार प्रयासले सफलता टाढा हुँदैन। 'विमला ढकाल अम्गाई' त्यहीँ प्रेरणादायी नाम हो, जसले बीमा जस्तो पेसालाई सेवा र समर्पणको मिसाल बनाएकी छिन्। बीमा क्षेत्रमा हासिल भएका उपलब्धीमा सहयोग गर्ने बीमित, अभिकर्ता, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सम्पुर्ण कर्मचारी, आफन्त र साथीहरु प्रति उनले कृतज्ञता ज्ञापन गरेकी छिन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया