NIMB Header 2
Nepal Life

शेयर बजारको सबैभन्दा ठुलो अवरोध ३ हजार नै हो, ३२ सय कटेपछि लगातार सुधार हुन्छ, विश्लेषक ढुङ्गाना सँगको अन्तरवार्ता

Muktinath Bank
  • अरुण सापकोटा
  • 2025 Aug 02 14:38
शेयर बजारको सबैभन्दा ठुलो अवरोध ३ हजार नै हो, ३२ सय कटेपछि लगातार सुधार हुन्छ, विश्लेषक ढुङ्गाना सँगको अन्तरवार्ता
Everest Bank

काठमाडौं। शेयर बजारले तीन हजारको अवरोध विन्दुलाई बारम्बार सामना गरिरहेको छ। लगानीकर्ताको मनोविज्ञान धेरै राम्रो हुँदा हुँदै पनि तीन हजारको अवरोध छिचोल्न नसक्दा बजारले यस अगाडीको सर्वाधिक उच्च विन्दु ३२०० लाई क्रस गरेर बुलरनलाई प्रमाणित गर्न सकेको छैन। गएको वर्षको भदौमा बजारले ३ हजारकै विन्दुलाई छोएर १८ सयको लाइनमा झर्यो। यस वर्षको साउनमा पनि बजारले ३ हजार क्रस गरेर फर्कियो। यसले गर्दा लगानीकर्तामा ठुलो संशय पैदा भएको छ। कतै बजार गएको वर्षको जस्तै १८ सयमा त झर्ने होइन भन्ने आशंका जन्मिएको छ। यिनै आशंकाको परिधिभित्र रहेर बजार विश्लेषक सुवास ढुङ्गाना सँग लिइएको अन्तरवार्ताः

Shikhar
NIMB

शेयर बजारले यस वर्ष पनि तीन हजारकै बटमलाईन बनाउन खोजेको हो ? प्राविधिक रुपमा कस्तो देखिन्छ?

प्राविधिक रुपमा अहिले नै भन्न सकिने अवस्था छैन। यस भन्दा अगाडी तीन हजार भन्दा माथि क्लोज हुन सकेको थिएन। एउटा क्लोजिङ तीन हजार भन्दा माथिमा भयो। यदि नेप्से सूचक २८ सय भन्दा तल आएन भने बजारको अहिलेको स्वीङले निरन्तरता पाउछ। यदि २८ सय भन्दा तल झर्यो भने फेरि २७ सयदेखि तीन हजार विचको साइडवेज चल्नेछ। यस्तो अवस्थामा अर्को टप लाइनको लागि पुस माघ नै कुर्नु पर्ने हुन सक्छ।

त्यसो भए अहिले २८ सय नछोइ बढ्नु पर्यो ?

हो २८ सयको लाइनमा आउनु भएन। २९ सय पनि एउटा राम्रो सपोर्ट हो। बजारले २९२०को लाइनलाई छोइसक्यो। यदि आइतबारबाट बजारले मुभमेन्ट समाउन थाल्यो र इन्ट्राडे करेक्सन भयो भने यहि साउन भदौमा शेयर बजार ३ हजार माथि बस्ने सम्भावना धेरै छ। नभएदेखि ३२ सय कट्न केहि समय लाग्न सक्छ।

पछिल्ला दिनमा कारोबार रकममा एकदमै राम्रो सुधार भइरहेको छ। कतिपय अवस्थामा प्राकृतिक रुपमै भएको देखिन्छ। यसले कस्तो संकेत गर्छ?

यो एकदमै राम्रो हो। कारोबार रकम एक्कासी बढेर आएको छैन। एक्कासी बढिदियो भने एउटा जोखिम हुन्छ। पहिला पनि १५/२० अर्बबाट एकै पटक ३० अर्बको कारोबार भयो। त्यस पछि एक्कासी घट्न थाल्यो। कारोबार रकम सँगै बजार पनि घट्यो। अहिलेको कारोबारको हिसावले एकदमै राम्रो देखिन्छ। यद्यपी १५ अर्ब भन्दा तल झर्नु हुँदैन। यस भन्दा माथि विस्तारै क्रमिक रुपमा बढ्दै जानु पर्छ। तीन हजार भन्दा माथिको सुधारका लागि नियमित रुपमा ३० अर्ब भन्दा माथिको कारोबार हुँनै पर्छ। तर एक्कासी होइन क्रमिक रुपमा बढ्दै जानु पर्छ।

अहिलेको करेक्सनलाई डर मान्नेकी मौका मान्ने?

बुल भित्रको करेक्सन मौका नै हो। अहिले लगानीकर्ताको अपेक्षा धेरै माथि थियो। उनिहरु धेरै हौसिएका थिए। यसले गर्दा मात्रै अलिकति डराएका हुन्। अहिले पनि बजार साइडवेजमा बस्ने सक्ने सम्भावना मात्रै हो तर घटेर फेरी २२ सय २३ सयको रेञ्जमा झर्ने सम्भावना छैन। त्यसैले अहिलेको हिसावमा मौकाकै रुपमा हेर्नु पर्छ।

शेयर बजारमा बुल देखिन यस भन्दा अगाडीको अधिकतम विन्दु ३२ सयलाई क्रस गरेर जानु पर्छ। तर पछिल्लो समयको १८ सयदेखि ३ हजारको सुधारलाई हामी बुल मान्न सक्छौ कि सक्दैनौ?

अहिले बजार बुल नै हो। सबैले देखिने गरी तथा नयाँ लगानीकर्ताले समेत देख्ने गरी त ३२ सय माथि नै हो। जव बजार ३२ सय पुग्छ त्यतिवेला बजार १८ सयको बटमबाट उठेर ७७ प्रतिशतको सुधार देखिन्छ। यस पछि ३२ सय भन्दा माथिको सुधारलाई मात्रै बुलको सुधार मानियो भने यस पछिको बजारमा प्रवेश गर्ने लगानीकर्ताले धेरै ठुलो लाभ लिन सक्दैनन्। त्यसैले अव बजारले जवसम्म नयाँ बटम लाइन बनाउदैन तवसम्म बुल नै भन्नु पर्छ।   

बजार जव ३२ सय कटेर अगाडी बढ्छ त्यस पछि तत्काल करेक्सन हुँदैन। जव बजार ३२ सय कटेर एउटा टम बटम बनाउछ त्यस पछि चाँही ठुलो करेक्सन आउछ। धेरैलाई बजार बुल देखिन ३२ सय कट्नु पर्छ भन्नेछ। यसले गर्दा बजारले जव ३२ सय कटेर अगाडी बढ्छ त्यस पछि एउटा नयाँ विन्दुका लागि अगाडी बढ्छ।

त्यसो भए बजारमा ३२ सय नकटेसम्म कुनै पनि जोखिम छैन?

बजारमा सधै जोखिम रहिरहन्छ। अहिले जसरी बजारले तीन हजारलाई तोड्न गाह्रो भइरहेको छ। आजका दिनमा शेयर बजारमा ३२ सयको विन्दु अवरोध होइन। तीन हजार नै हो। तीन हजार ५० को विन्दु नै सबैभन्दा ठुलो अवरोधको विन्दुका रुपमा रह्यो। महिले धेरै पहिलादेखि नै भन्दै आएको हो। बजारलाई तीन हजार तोड्न धेरै नै गाह्रो हुन्छ। यस भन्दा अगाडीको वियरिसमा पनि २२६० सम्म तल झर्यो। त्यस पछि २९ सय कट्यो। त्यस पछि ठुलो फल भयो। तीन हजारलाई अहिले मात्रै होइन वियरिस बजारमा पनि टेष्ट गरिएको हो। त्यसैले तीन हजार सबैभन्दा ठुलो अवरोध हो। तीन हजार कटे पछि बजारमा त्यति धेरै डर हुँदैन।

अर्को तर्फ बजारले ३२ सयलाई क्रस गरेर एउटा तहसम्म पुगिसके पछि फरि झर्दा तीन हजार भन्दा तल आउदैन। अहिलेको ठुलो अवरोध भनेको पछिका लागि सबैभन्दा ठुलो सपोर्ट पनि हो।

शेयर बजारले ३ हजारको अवरोधलाई ब्रेक आउट गर्न कुन सेक्टर चल्नु पर्ला?

लो क्यापका कम्पनीमा आएको सुधारले बजारलाई अगाडी बढाउनेवाला छैन। अव बजारलाई अगाडी बढाउने भनेको हाइ क्यापका कम्पनीले नै हो। यसमा बैंक मात्रै होइन बीमा, उत्पादन तथा प्रशोधनमुलक कम्पनी चल्नु पर्छ। यदि यि क्षेत्र चलेन भने पहिलाको जस्तै तीन हजारमा झुक्याउने अवस्था आउछ। मुभमेन्टम आउनका लागि कम्तिमा पनि मिड क्यापका कम्पनी चल्नै पर्छ। शेयर बजार ३२ सय कट्ने वित्तीकै हाइ क्यापका कम्पनी राम्रो सँग चल्न थाल्छ। तर अहिलेका लागि कम्तिमा मिड क्याप चल्नै पर्छ।    

तीन हजारको अवरोध ब्रेक आउट नहुनुको कारण अहिले बजारको भएको लिक्वीडिटी प्रयाप्त नभएर हो या मनोविज्ञान?

मनोविज्ञान कमजोर भएका कारण बजारमा लिक्वीडिटी नभएको हो। बजार सस्टेन हुनका लागि अहिलेको लिक्वीटीले पुग्दै पुग्दैन। पछिल्लो समय तीस अर्बसम्मको कारोबार भएको छ। यस्तो कारोबार हरेक दिन हुनु पर्छ अनि मात्र बजारमा लिक्वीडी पर्याप्त हुन थाल्छ। यदि कम्तिमा पनि एकहप्तासम्म दैनिक ३० अर्ब भन्दा माथिको कारोबार हुन थाल्यो भने कन्फिडेन्स बढ्छ।

अर्को तर्फ बजारमा कारोबार क्रमश बढिरहेको छ। राष्ट्र बैंकले शेयर धितोकर्जामा लगाएको क्यापमा पनि धेरै खुकुलो बनाइसकेको छ। अर्को तर्फ स्टकको लिक्वीडिटी पचाउन बजारमा हाइक्याप चल्नु पर्छ। जसले बजारमा पैसा तान्छ। आजका दिनमा फाइनान्सको शेयरमा सर्किट लगाउन धेरै पैसा चाहिदैन। तर बैंकमा सर्किट लगाउन धेरै पैसा चाहिन्छ। यसका लागि बजारमा प्रायाप्त पैसा आवश्यक छ।

लो क्यापका शेयरमा खेल्ने खेलाउने प्रवृत्तीले कस्तो असर पार्छ?

यसले खासै असर गर्दैन। यस भन्दा अगाडी १८ सयको अधिकतम विन्दु बनाउदा पनि यस्तो देखिएकै हो। हरेक बुलमा यस्ता प्रवृत्ती देखिने गर्छ। सानोतितो स्वीङका लागि यस्ता अभ्यासले काम गरे पनि बुल र्यालीका लागि यस्ता प्रवृत्तीले केहि पनि असर पार्दैन।

अवका दिनमा लगानीकर्ताले कस्तो स्टक छान्नु पर्ला ताकी सुरक्षित लगानी होस्?

अहिलेको अवस्थामा लो क्यापका कम्पनीमा भन्दा पनि मिड क्यापका कम्पनीमा लगानी एकदमै राम्रो हुन्छ। अर्को तर्फ अव कम्पनीहरुले लाभांश घोषणा गर्न थाल्नेछन्। त्यसैले अव वित्तीय अवस्था राम्रो देखिएका र लाभांश दिन सक्ने क्षमता भएका कम्पनीलाई टार्गेट गरेर लगानी गर्दा उचित हुन्छ। गएको पुसमा लाभांश दिन नसक्ने कम्पनीहरु यस वर्ष लाभांश दिन सक्ने भएका छन्। त्यसैले गएको वर्षको धारणा बनाएर हुँदैन। अर्को तर्फ अहिले लाभांश दिन नसक्ने कम्पनीले आगामी वर्षमा धेरै राम्रो गर्न सक्ने सम्भावना बोकेका छन्।

यस्ता कम्पनी छानेर कारोबार गर्न राम्रो हुन्छ। अव शेयर किन्दा पुस माघलाई टार्गेट गरेर किन्नु पर्छ। शेयर बजारलाई अगाडी बढाउने भनेको पनि बैंक वित्तीय संस्थाले चालु आर्थिक वर्षमा सार्वजनिक गर्ने रिपोर्टले नै हो। अवका दिनमा बैंकहरुको वित्तीय विवरण सुधारिदै जानेछ। खराव कर्जा घट्ने र वितरणयोग्य मुनाफा बढ्दै जाने देखिन्छ। यसले आगामी केहि समय शेयर बजारका लागि भविष्य उज्वल छ। अवको बुल आउने पनि यस्तै कुराले हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया