NIMB Header 2
Nepal Life

कोशी प्रदेशमा ‘उदय परियोजना’ सञ्चालन, तीन हजार रोजगारी सिर्जना हुने

Muktinath Bank
  • BFIS News
  • 2025 Aug 29 14:55
कोशी प्रदेशमा ‘उदय परियोजना’ सञ्चालन, तीन हजार रोजगारी सिर्जना हुने
Everest Bank

काठमाडौं । कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसाय प्रवर्द्धन र उद्यमशीलता विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय परियोजना’ सुरु गरेको छ। प्रदेश सरकारले यो परियोजनाबाट रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा गरेको छ।

Shikhar
NIMB

परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायकमार्फत व्यवसाय विकास सेवा उपलब्ध गराइनेछ। ६० करोड रुपैयाँको ग्यारेन्टी फन्डमार्फत ८ अर्ब रुपैयाँ बराबरको कर्जा सुरक्षा र २८ करोड रुपैयाँको ‘च्यालेञ्ज फन्ड’मार्फत प्रवर्द्धनात्मक तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। साथै, ‘इनफर्मेसन पोर्टल’मार्फत बजारसम्बन्धी सूचना उपलब्ध गराइने व्यवस्था पनि परियोजनामा गरिएको छ।

यस परियोजनाअन्तर्गत बिना धितो ३० लाखदेखि ३ करोड रुपैयाँसम्मको कर्जा उपलब्ध गराइनेछ, जसका लागि बैंक छनोट प्रक्रिया अघि बढाइएको प्रदेश सरकारले जनाएको छ। ‘उदय परियोजना’लाई प्रभावकारी बनाउन कार्यविधि तयार भइसकेको र अब कार्यान्वयन चरणमा प्रवेश गरिसकेको छ।

प्रदेशभर १४ जिल्लामा लागू गर्ने लक्ष्यसहित यो परियोजनाबाट चार वर्षको पहिलो चरणमै करिब ३ हजार रोजगारी सिर्जना हुने अनुमान गरिएको छ। व्यवसाय विकास प्रमुख विष्णु काफ्लेका अनुसार परियोजनालाई १० वर्षसम्म दीर्घकालीन रुपमा सञ्चालन गर्ने योजना बनाइएको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पहलमा सुरु गरिएको यो महत्वाकाङ्क्षी परियोजनाबारे मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीले कोशी प्रदेशलाई थप उचाइमा लैजान सहयोग पुग्ने बताए। आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना रानाले पनि यसले बजार प्रवर्द्धनदेखि नयाँ उद्योग स्थापना गर्ने मार्ग खोल्ने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले उदय परियोजनालाई नमूना स्वरूप सफल बनाएर देशव्यापी रूपमा उदाहरण प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “यो परियोजना कोशी प्रदेशको आर्थिक समृद्धि र विकासका लागि कोसेढुङ्गा हुनेछ।”

उनका अनुसार, प्रदेश सरकारले पर्यटन र कृषि क्षेत्रमा विशेष ध्यान दिइरहेको छ। हाल चारवटा पदमार्ग निर्माणमार्फत पर्यटन विकास अघि बढाइएकाले ‘उदय परियोजना’सँगै नवउद्यमशीलता प्रवर्द्धन कार्यक्रमले कोशी प्रदेशलाई समृद्धतर्फ अघि बढाउने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया