United Ajod

कृषिमा सम्भावना र चुनौती: युवालाई कृषिमा ल्याउने उपाय, मुक्तिनाथ कृषि कम्पनीका सिइओ ढकालको विचार

  • भरतराज ढकाल
  • 2025 Aug Fri 22:44
कृषिमा सम्भावना र चुनौती: युवालाई कृषिमा ल्याउने उपाय, मुक्तिनाथ कृषि कम्पनीका सिइओ ढकालको विचार

काठमाडौं। नेपाल कृषि सम्भावनाले भरिएको देश हो, तर यथार्थमा यो क्षेत्र अनेकौं समस्यासँग जुधिरहेको छ भन्ने कुरा हामी सबैलाई थाहा छ। जब जब कृषिसम्बन्धी समस्याहरू सतहमा आउँछन्, विशेषगरी बैंक तथा वित्तीय संस्थाले किसानलाई सहज तरिकाले कर्जा नदिएको भन्ने गुनासो प्रमुख रूपमा उठ्ने गर्छ। यस्तै समयमा, मुक्तिनाथ विकास बैंकले भने ग्रामीण क्षेत्रमा किसानहरूलाई समूहमा आबद्ध गराई, बिना धितो ऋण प्रदान गर्ने कार्य प्रारम्भ गरिसकेको थियो।

एकातिर किसानहरू बैंक तथा वित्तीय संस्थाले लगानी नगरेको भन्दै कृषि क्षेत्र समस्याग्रस्त भएको गुनासो गरिरहेका थिए भने, अर्कातिर मुक्तिनाथ विकास बैंकले भने प्रत्यक्ष रूपमा किसानलाई सहुलियतपूर्ण ऋण दिइरहेको थियो। तर, ऋण प्रदान गर्दैमा मात्र समस्या समाधान नहुने कुरा पनि स्पस्ट हुँदै गयो। किसानहरूले उत्पादनको बजार सुनिश्चित नहुँदा ऋणको किस्ता तिर्न नसक्ने अवस्था आउने स्पष्ट रूपमा बैंक समक्ष राखे।

बैंकले ती चुनौतीहरूलाई गम्भीरतापूर्वक लिएर गहिरो अध्ययन गर्‍यो। अध्ययनबाट स्पष्ट भयो कि केवल वित्तीय लगानी मात्र पर्याप्त हुँदैन, कृषिमा गैर-वित्तीय सेवा संरचना निर्माण नगरेसम्म लगानी सुरक्षित रहँदैन र किसानको पनि पूँजी डुब्ने जोखिम रहन्छ। यही सोचका साथ, २०७५ सालमा मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा ‘मुक्तिनाथ कृषि कम्पनी’ स्थापना गरियो।

कम्पनी स्थापना पछि, कृषिमा विद्यमान धेरै समस्या पहिचान गरियो र ती समस्याको समाधानका लागि नेपाल सरकारसमक्ष समय समयमा सुझावहरू पनि पेश गरियो। तीमध्ये सबैभन्दा जटिल समस्या भनेको, नेपालमा अन्तर्राष्ट्रिय स्तरको थोक बजारको अभाव हो। थोक बजार स्थापना नभएसम्म उत्पादनमा आधारित कृषि प्रशोधन उद्योगहरू स्थापना हुन सक्दैनन्। त्यसले गर्दा कृषिजन्य वस्तुको मूल्य अभिवृद्धि हुँदैन, र अन्ततः किसानले उचित मूल्य पाउँदैनन्।

किसानले उचित मूल्य नपाउँदा, ती क्षेत्रमा न युवाहरू आकर्षित हुन्छन्, न त व्यवसायिक कृषि सम्भव हुन्छ। पछिल्लो समय देशभर गाउँका खेतबारी बाँझिएको चर्चा व्यापक छ। युवाहरू विदेश पलायन भइरहेका छन्। तर, उनीहरूलाई कृषिमा संलग्न गराउने विषयमा सरकार र सरोकारवालाहरूले बहस त गरेका छन्, तर ठोस संरचना निर्माणमा ध्यान दिन सकेका छैनन्।

युवाहरू कृषिमा किन आउँदैनन् भन्ने सन्दर्भमा एउटा सानो उदाहरण उपयोगी हुन्छ। दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकले समयमा ज्याला नपाएमा, ऊ अर्को दिन त्यो स्थानमा काम गर्न जान्न सक्छ? महिनौं काम गरेर पनि तलब नपाएमा ऊ विकल्प खोज्दैन? त्यसैगरी, कुनै युवा उद्यमीले आफ्नै पूँजी लगानी गरेर २–३ महिना मेहनत गरी कृषि उत्पादन गरेपछि, यदि उसले बजार र मूल्य पाउन सकेन भने, ऊ विकल्प खोज्छ नै।

जबसम्म हामी युवाहरूलाई विकल्प दिन सक्दैनौं, तबसम्म उनीहरू नेपालमै टिक्न सक्दैनन्। नीति नियम मात्र बनाएर हुँदैन, ती कार्यान्वयन हुनुपर्छ। त्यसकारण, यदि हामी साँच्चै युवालाई कृषिमा आकर्षित गर्न चाहन्छौं भने, उत्पादनदेखि बजारसम्मको संरचना मजबुत बनाउनु पर्दछ। युवाले उत्पादन गरेको वस्तुको मूल्यांकन र न्याय सुनिश्चित हुनुपर्छ।

कृषिलाई मर्यादित बनाउन, कृषकको उत्पादनलाई विश्वसनीय बजार आवश्यक छ। जबसम्म बजारको ग्यारेन्टी हुँदैन, तबसम्म कृषि क्षेत्र दिगो हुँदैन, मर्यादित हुँदैन र युवाले यो क्षेत्र रोज्दैनन्।

अन्त्यमा, युवालाई कृषिमा ल्याउन सबैभन्दा महत्वपूर्ण कुरा भनेको बजार र उद्योगको सुनिश्चितता हो। यदि हामीले यो सुनिश्चित गर्न सक्यौं भने, नेपालका कृषि क्षेत्रका धेरै समस्याहरूको समाधान सम्भव छ।

(भरतराज ढकाल मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी निर्देशक हुन्। उनि दुई दशक भन्दा लामो समयसम्म बैंकिङ गरेर कृषि क्षेत्रमा होमिएका हुन्। प्रस्तुत सामाग्री मुक्तिनाथ कृषि कम्पनीले आयोजना गरेको आधुनिक थोक कृषि बजार सम्बन्धी कार्यशाला कार्यक्रममा ढकालले दिएको मन्तव्यबाट लिइएको हो। )

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया