NIMB Header 2
Nepal Life

सुरक्षाको कमाण्ड सेनाले लियो, विना काम घरबाहिर ननिस्कन आग्रह

National Life
  • BFIS News
  • 2025 Sep 10 08:21
सुरक्षाको कमाण्ड सेनाले लियो, विना काम घरबाहिर ननिस्कन आग्रह
Sanima Reliance

काठमाडौं, भदौ २५ । जेन-जीन आन्दोलनको क्रममा मंगलबार राजधानीमा भएका तोडफोड र आगजनीलगायतका घटनापछि सुरक्षाको अवस्था कडा बनाइएको छ। मंगलबार राति १० बजेदेखि नेपाली सेना सहित अन्य सुरक्षा निकायहरू राजधानीका मुख्य स्थानहरूमा गस्तीमा खटिएका छन्।

Shikhar
NIMB

नेपाली सेनाले सडक, गल्ली तथा सार्वजनिक स्थलमा निस्केका सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरमै बस्न आग्रह गर्दै घर फर्काइरहेको छ। यद्यपि, आकस्मिक सेवामा संलग्न व्यक्तिहरूलाई परिचयपत्रका आधारमा छुट दिइएको छ।

प्रदर्शनकारीहरूले आगो लगाएको संसद भवनमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ भने अन्य संवैधानिक तथा सरकारी निकायहरूमा समेत सेनाको उपस्थिति देखिन थालेको छ।

त्यसबाहेक, हालको तनावग्रस्त अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनाले पहल थालेको छ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोलि हुने औपचारिक वार्ताको तयारीस्वरूप प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार मध्यराति केही जेन-जीन आन्दोलनका प्रतिनिधिहरूलाई सैनिक मुख्यालय जंगीअड्डामा छलफलका लागि बोलाएका छन्।

नेपाली सेनाका अनुसार, यो बैठक औपचारिक वार्ता नभई प्रारम्भिक छलफल मात्र हो। “यो औपचारिक वार्ता होइन, बरु जेनजीन आन्दोलनमा संलग्न युवाहरूका माग र धारणा बुझ्ने प्रारम्भिक प्रयास हो,” सेनाले बताएका छन्। 

स्रोतका अनुसार, विभिन्न समूहमा रहेका जेनजीन प्रतिनिधिहरूले जंगीअड्डामा प्रधानसेनापति सँग भेटेर आफ्ना कुरा राख्ने तयारी गरेका छन्। एक जेनजी अभियन्ताले भने, “हामीलाई जंगीअड्डाबाट आउनु भन्ने कुरा आएपछि जाँदैछौं, त्यसक्रममा नेपाली सेनाका कुराहरु पनि सुन्छौं।”

भोलि हुने औपचारिक वार्तामा राष्ट्रपति पौडेल स्वयंको उपस्थिति रहने जनाइएको छ। राष्ट्रपतिको हैसियतमा नेपाली सेनाका परमाधिपति समेत रहेका पौडेलको पहलमा वार्ताको औपचारिकता सुरु हुने अनुमान गरिएको छ।

सुरक्षा निकायहरूको तैनाथी र जंगीअड्डामा हुने छलफलले आन्दोलनबाट उत्पन्न परिस्थितिलाई केही हदसम्म शान्त पार्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया