NIMB Header 2
Nepal Life

सर्वोच्च अदालतमा आगजनी : २४ हजारभन्दा बढी मुद्दाका फाइल नष्ट, सम्पूर्ण डाटा सेन्टर ध्वस्त

Muktinath Bank
  • BFIS News
  • 2025 Sep 10 14:58
सर्वोच्च अदालतमा आगजनी : २४ हजारभन्दा बढी मुद्दाका फाइल नष्ट, सम्पूर्ण डाटा सेन्टर ध्वस्त
Everest Bank

काठमाडौँ । मङ्गलवार सर्वोच्च अदालतमा भएको भीषण आगजनीले नेपाली न्याय प्रणालीमा गम्भीर संकट उत्पन्न गराएको छ। आगजनीका कारण सर्वोच्च अदालतको अभिलेख शाखा, डाटा सेन्टरसहित २४ हजारभन्दा बढी मुद्दाका फाइल पूर्ण रूपमा नष्ट भएका छन्। यो घटना न्यायालयको इतिहासमै सबैभन्दा ठूलो क्षतिको रूपमा लिइएको छ।

Shikhar
NIMB

सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौँ र विशेष अदालत प्रदर्शनकारीको निशानामा परेपछि एकैपटक व्यापक आगजनी गरिएको हो।

सर्वोच्च अदालतले अनलाइन प्रणालीमार्फत मुद्दाको पेशी तोक्ने प्रक्रिया सञ्चालन गर्दै आएको थियो। तर, मङ्गलवारको आगलागीपछि त्यो सबै प्रणाली पूर्ण रूपमा बन्द भएको छ। सर्वोच्चका एक अधिकृतका अनुसार, "अब बाँकी केही बचेखुचेका कागजातबाहेक सबै कुरा खरानी भइसकेको छ।"

डाटा सेन्टर र सर्भर पूर्ण रूपमा ध्वस्त

सर्वोच्चले हेटौँडास्थित डाटा सेन्टरमा आफ्नो डाटाको ब्याकअप राखेको थियो। तर, त्यहाँ समेत तोडफोड र आगजनी भएपछि सर्वोच्चको मुख्य सर्भर समेत पूर्ण रूपमा डाउन भएको छ। अब सफ्टवेयरमार्फत मुद्दा अगाडि बढाउने अवस्था नरहेको बताइएको छ।

सर्भर नचल्दा देशभरका जिल्ला तथा उच्च अदालतमा समेत अनिश्चितकालका लागि मुद्दाको पेशी स्थगित गरिएको छ। सर्वोच्चले बुधबार एक सूचना प्रकाशित गर्दै मुद्दा पेशी अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ।

न्यायाधीशको प्रतिक्रिया : "सबै अभिलेख खरानी भए"

सर्वोच्च अदालतका एक न्यायाधीशले मङ्गलवारको आगलागीले अदालतको सबै अभिलेख नष्ट भएको पुष्टि गरे। उनले भने, "हामी अदालतलाई डिजिटल बनाउँदै थियौँ, अनलाइन मुद्दा दर्ता प्रक्रिया थालिएको थियो। तर डाटा सेन्टर ध्वस्त भएपछि अब के गर्ने भन्नेबारे छलफल भइरहेको छ।"

उनका अनुसार, अदालतले पुराना मुद्दाका फाइलहरू अध्ययन गरेर फैसला गर्दै आएको थियो, ती सबै फाइल अब नष्ट भइसकेका छन्।

दशकौँ पुराना अभिलेख र नजिर सङ्ग्रह पनि ध्वस्त

प्रदर्शनकारीले दुई चरणमा सर्वोच्च अदालत प्रवेश गरेका थिए। पहिलोपटक डाटा सेन्टर ध्वस्त बनाएपछि फर्किएका उनीहरू दोस्रोपटक प्रवेश गरी कानुन पत्रिकाको कोठामा आगो लगाएका थिए। यसबाट दशकौँदेखि सङ्कलन गरिएको नजिर सङ्ग्रह पनि पूर्ण रूपमा नष्ट भएको छ।

पहिले न्यायपरिषद्को कार्यालय रहेको एनेक्स भवनको भुईंतलामा राखिएका पुराना मुद्दाका अभिलेख र फैसलाहरू समेत पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

सुरक्षाको चरम कमजोरी

सर्वोच्च अदालतमा सीमित मात्रामा सुरक्षाकर्मी रहेको हुँदा ठूलो सङ्ख्यामा आएका प्रदर्शनकारीलाई रोक्न नसकिएको बताइएको छ। एक कर्मचारीका अनुसार, प्रदर्शनकारीहरू सुरुमा कागजात सङ्कलन गरेर एकै ठाउँमा थुपारेर आगो लगाइरहेका थिए। त्यसपछि तेस्रो तलासम्म पुगेर अत्यन्त संवेदनशील अभिलेखहरू जलाइएको थियो।

तेस्रो तलामा प्रधानन्यायालयले गरेका फैसलाहरूको डिजिटल प्रतिलिपि राखिएको डाटा सेन्टर थियो, जुन पूर्ण रूपमा जलेर नष्ट भएको छ।

विशेष अदालत पनि ध्वस्त

डिजिटल रूपान्तरणको उदाहरणीय प्रयास गरिरहेको विशेष अदालत पनि आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको छ। विशेष अदालतमा रहेका भ्रष्टाचारसम्बन्धी मुद्दाका अभिलेखहरू समेत पूर्ण रूपमा नष्ट भएका छन्।

यस घटनाले नेपाली न्याय प्रणालीलाई ठूलो धक्का पुर्‍याएको छ। मुद्दाको डिजिटलाइजेसन, अभिलेख संरक्षण, तथा डाटा ब्याकअप प्रणालीमा थप मजबूती आवश्यक रहेको स्पष्ट देखिएको छ। आगजनीको घटनाले देखाएको सुरक्षाको कमजोरी र प्रणालीगत त्रुटिहरूका लागि तत्काल अनुसन्धान र समाधान आवश्यक छ।

सरकार र न्यायालयबीच अबको प्राथमिकता पुनःस्थापना, पुनर्निर्माण र अभिलेख संरक्षण प्रणालीमा सुधार हुनु पर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया