NIMB Header 2
Nepal Life

भवन जलाउन सकिन्छ तर सपना जलाउन सकिँदैन: निर्वाण चौधरी, 'हामी आहत छौं तर भाँचिएका छैनौं'

National Life
  • BFIS News
  • 2025 Sep 12 11:53
भवन जलाउन सकिन्छ तर सपना जलाउन सकिँदैन: निर्वाण चौधरी,  'हामी आहत छौं तर भाँचिएका छैनौं'
Sanima Reliance

काठमाडौँ । चौधरी समूह (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले हालैका दिनहरू कम्पनीको इतिहासमै सबैभन्दा पीडादायी रहेको बताएका छन्। उनले जारी गरेको वक्तव्यमा युवा पुस्ताले जिम्मेवारी र परिवर्तनको माग गर्दै सुरु गरेको आन्दोलनलाई असामाजिक तत्व र बाह्य शक्तिहरूले बिगारेर हिंसा, तोडफोड र लुटपाटतर्फ मोडिदिएको भन्दै दुःख व्यक्त गरेका छन्।

Shikhar
NIMB

उनका अनुसार आन्दोलन शान्तिपूर्णरूपमा नयाँ नेपालको आह्वान बन्नुपर्नेमा, कम्पनीका अध्यक्ष व्यक्तिगत रूपमा लक्षित, परिवारका घरहरूमा आगजनी, उद्योग–कारखाना तथा कार्यालयमा क्षति, र शो-रुमहरू लुटपाट जस्ता अमानवीय घटना भएको उल्लेख छ। "दशकौंको मेहनत, त्याग र प्रतिबद्धता केही घण्टामै खरानीमा परिणत भयो। यो केवल सम्पत्तिमाथिको आक्रमण थिएन, यो आशा, विश्वास र राष्ट्र निर्माणको भावनामाथिको आक्रमण थियो," उनले भने।

तर यी अन्धकारमय क्षणमा पनि सीजीको वास्तविक आत्मा प्रकट भएको चौधरीले बताए। "आगलागी र अराजकताको बीचमा पनि हाम्रा नेतृत्व, व्यवस्थापक र कर्मचारीहरूले आफ्नो सुरक्षाको जोखिम लिएर कम्पनीका सम्पत्ति जोगाउने, ग्राहकलाई वचन पूरा गर्ने कार्यलाई निरन्तरता दिएका छन्। यो नै हाम्रो शक्ति हो," उनले भने।

चौधरीले संकटको बेलामा अटल रहन सक्ने कर्मचारीहरूप्रति आभार प्रकट गर्दै भने, "तपाईंहरूकै कारण आशा जीवित छ। तपाईंहरूकै कारण हाम्रो ग्राहक परित्यक्त भएनन्।"

उनले चौधरी समूह नेपालकै ठूलो करदाता, रोजगारीदाता र राष्ट्र निर्माणमा अग्रणी संस्था भएको स्मरण गराउँदै, भूकम्प, बाढी वा महामारी जस्ता हरेक विपत्तिको बेला अग्रपंक्तिमा उभिएको तथ्यलाई पुनः दोहोर्याए। "हामी दुखी छौँ, आहत छौँ तर भाँचिएका छैनौँ। उनीहरूले हाम्रो भवन जलाउन सक्छन् तर हाम्रो सपना जलाउन सक्दैनन्," उनले दृढता प्रकट गरे।

उनले कम्पनी पुनर्निर्माण, पुनःउठान र अझ सबल भएर अघि बढ्ने संकल्प गर्दै भने, "यो विपत्तिबाट नयाँ शक्ति, नयाँ विचार र अझ गहिरो प्रतिबद्धता जन्मिनेछ। इतिहासले हामीलाई जलाउने आगो होइन, त्योबाट अझ सबल, गौरवपूर्ण र एकताबद्ध भएर उठेको कथालाई सम्झिनेछ।"

चौधरीले अन्त्यमा सम्पूर्ण सीजी परिवारलाई धन्यवाद ज्ञापन गर्दै भने, "तपाईंहरू नै यो संस्थाको मुटु हुनुहुन्छ। हामी मात्र बाँच्छौं हैन, अझ उज्ज्वल भविष्य निर्माण गर्छौं।"

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया