शेयर बजारको सर्वाधिक महंगो कम्पनी युनिलिभरले घोषणा गर्यो अहिलेसम्मकै सर्वाधिक लाभांश, १८४२ प्रतिशत नगद दिने
- BFIS News
- 2025 Sep 23 20:54
काठमाडौं, असोज ७ – नेपाल स्टक एक्सचेन्जकै इतिहासमा युनिलिभर नेपालले अहिलेसम्मकै सर्वाधिक धेरै लाभांश दिने घोषणा गरेको छ। दोस्रो बजारमा सबैभन्दा महंगो शेयर मूल्य रहेको युनिलिभरले यस वर्ष १८४२ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ। भर्चुअल माध्यमबाट बसेको कम्पनीको १९१औं सञ्चालक समितिको बैठकले इतिहासकै सबैभन्दा धेरै लाभांश दिने निर्णय गरेको हो।
बैठकमा कम्पनीको २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै, प्रति सेयर रू. १,८४२ लाभांश वितरणको सिफारिस गरिएको हो। यो लाभांश कम्पनीको वितरण योग्य नाफाबाट प्रस्ताव गरिएको हो।
कम्पनीले साधारणसभा प्रयोजनका लागि कार्तिक ११ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ। कम्पनीको यो बम्पर लाभांश कार्तिक १० गतेसम्म शेयर खरिद गर्नेले मात्रै पाउने छन्। साधारणसभा आगामी कार्तिक २५ गते तय गरिएको छ।
हाल युनिलिभर नेपाल लिमिटेडको अन्तिम कारोबार मूल्य रू. ४७,७९० रहेको छ। कम्पनीले गएको वर्ष १७१४ प्रतिशत लाभांश दिएको थियो। पछिल्ला ५ वर्षदेखि कम्पनीले लगातार बम्पर लाभांश प्रदान गर्दै आइरहेको छ। चुक्ता पूँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ रहेको छ। यसमा पनि सर्वसाधारण समुह तर्फ १५ प्रतिशत अर्थात एक करोड ३८ लाख र संस्थापक समुह तर्फ ७ करोड ८२ लाख रुपैयाँ मात्रै रहेको छ। दोस्रो बजारमा एकदमै कम शेयर सप्लाइ रहेको तथा आकर्षक लाभांश वितरण गर्ने गरेकाले शेयर मूल्य पनि सर्वाधिक बनाउन सफल भएको हो। कम्पनीको बजार पूँजीकरण ४५ अर्ब भन्दा माथि छ।
गएको वर्ष कम्पनीले एक अर्ब ९६ करोड नाफा गर्दा प्रतिशेयर आम्दानी २१२३ रुपैयाँ रहेको छ। जगेडा कोषमा ५ अर्ब १२ करोड रुपैयाँ रहेको छ। यस वर्ष १८४२ प्रतिशत लाभांश दिदा पनि कम्पनीले अंकमा एक खर्ब ६९ करोड रुपैयाँ वितरण गर्नेछ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया